Logo

बारको मतगणना मङ्गलबारदेखि



Spread the love

१७ चैत, काठमाडौँ – कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ कार्यसमितिका लागि शनिबार सम्पन्न भएको निर्वाचनको मतगणना मङ्गलबारदेखि हुने भएको छ ।

बारको निर्वाचनमा खटिनुभएका प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काका अनुसार आज साँझसम्म पनि मतपेटिका आइपुगेका छैनन् । सिराहा, राजविराज, इलाम र दीपायलबाट मतपेटिका आउन बाँकी छन् । सोमबारसम्म सबै मतपेटिका आइपुग्ने र मङ्गलबार बिहानदेखि गणना शुरु हुने उनले बताए । देशभर १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मत खसेका थिए ।

पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि देशभरिका ३५ मतदान केन्द्रबाट मतदान शनिबार सम्पन्न भएको थियो । बारको २५औँ कार्यसमितिका लागि ६३ जनाले उम्मेदवारी दिएका थिए । नयाँ नेतृत्वका लागि प्रगतिशील, पेशागत तथा समावेशी समूह र बृहत् लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा भएको छ ।

अध्यक्षमा प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र लोकतान्त्रिक समूहबाट सुनिलकुमार पोखरेल उम्मेदवार बनेका छन् । तीनवर्षे कार्यकालका लागि भएको नयाँ कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक÷एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्