Logo

विमानस्थलबाट ३३ किलो सुन बाहिर लैजान सघाएको आरोपमा विमानस्थलका तत्कालीन वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्री पक्राउ ।



Spread the love

shyam-bdr-khatri

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करीमा संलग्न भएको आरोपमा विमानस्थलका तत्कालीन वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई पक्राउ गरेको खबर आजको अन्नपूर्ण पोष्टमा  छ ।

पुस २१ गते भन्सार कार्यालयका कर्मचारीसँगको संलग्नतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन बाहिर लैजान सघाएको पुष्टि भएपछि सीआईबीले खत्रीलाई आइतबार प्रहरी मुख्यालयबाटै पक्राउ गरेको हो । ब्युरोले यसअघि पक्राउ गरेका विमानस्थल भन्सार कार्यालयका अधिकृतद्वय श्रीनारायण यादव र राजकुमार ढकालको बयानका आधारमा खत्रीलाई पक्राउ गरेको स्रोतले बताएको छ ।

भन्सार अधिकृत यादव र खत्रीबीच लामो समयदेखि दुबईबाट आउने सुन कसरी बाहिर लैजाने भन्नेबारे दिनहुँजसो कुराकानी हुने गरेको थियो । दुबईबाट सुन आउनेबारे खत्री र यादवलाई पहिल्यै जानकारी भएको स्रोतले बताएको छ ।

विमानस्थलमा आएको सुन बिनाअवरोध बाहिर ल्याउनेबारे उनीहरूबीच पटकपटक छलफल हुने गरेको अनुसन्धानले देखाएको छ । उनीहरूले आफ्नो मोबाइलबाट हत्पती कसैसँग कुरा नगर्ने भन्दै धेरैजसो ‘भाइबर’ बाट कुरा गर्थे । तस्करले गराएको सेटिङअनुसार नै दुवैजनाले काम गर्दै आएका थिए ।

पुस २० गते बेलुका आएको सुन विमानस्थलमै रहेपछि खत्री र यादवले गोप्य ढंगले सुन भएको सुटकेसको निगरानी गरेको स्रोतले बताएको छ । यादवले भन्सार कार्यालयका अन्य कर्मचारीलाई सेटिङ गराएका थिए । ब्युरोका प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालले सुन प्रकरणमा एसएसपी खत्रीलाई पक्राउ गरी थप अनुसन्धान थालिएको बताए । सिलवालले अन्नपूर्णसँग भने, ‘उनीहरूको थप कनेक्सनबारे अनुसन्धान भइरहेको छ । छिट्टै टुंगोमा पुग्छौं ।’

खत्री विमानस्थल गएदेखि नै प्रहरी मुख्यालयको निगरानीमा थिए । उनको शंकास्पद गतिविधि बढेपछि सीआईबीले निगरानी बढाएको थियो तर यथेष्ट प्रमाण भेटिसकेको थिएन । पुस २१ को सुन तस्करी प्रकरणमा खत्रीको संलग्नता देखिएपछि सीआईबीलाई उनीमाथि अनुसन्धान गर्न सहज भएको स्रोतले बताएको छ । त्यही घटनाले खत्री सुन तस्करीमा संलग्न हुँदै आएको पुष्टि गरेको छ । सुन तस्करको समूहले नै भन्सारका कर्मचारी र खत्रीबीच चिनजान र सेटिङ गराइदिएको स्रोतले बताएको छ ।

विमानस्थलबाट सुन बाहिरिएको दिन पुस २१ गते खत्री विमानस्थलमै थिए । एसएसपी खत्री विमानस्थलको दोस्रो बरियताका प्रहरी अधिकृत हुन् । विमानस्थल सुरक्षा प्रमुखमा डीआईजी गोविन्द निरौला छन् । खत्री सुन तस्करीमा संलग्न भएको भन्दै यसअघि नै पटकपटक उजुरीसमेत परेपछि मुख्यालयले उनीमाथि छानबिन गर्न सीआईबीलाई निर्देशन दिएको थियो । सीआईबीले त्यसबेला यथेष्ट प्रमाण नपाएपछि तत्कालका लागि अनुसन्धान रोकेको थियो । पुस २१ मा विमानस्थलबाट ३३ किलो सुन बाहिरिएको घटनामा छानबिन गर्दा खत्रीको संलग्नता देखिएपछि ब्युरोले उनीमाथि पुनः अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्