Logo

आर्सनलको जितमा आरोन राम्जीको उत्कृष्ट प्रदर्शन



Spread the love

चैत १९
इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार आर्सनलले घरेलु मैदानमा न्युकसल युनाइटेडलाई २-० ले पराजित गरेको छ । यस जितसंगै आर्सनल लिगको तेस्रो स्थानमा उक्लन सफल भयो ।

खेलको ३० औं मिनेटमा आरोन राम्जीको गोल मार्फत आर्सनलले अग्रता लिएको थियो । राम्जीले त्यसअघि नै गोल गरेपनि रेफ्रीले गोललाई मान्यता दिएको थिएन। ८३ औं मिनेटमा फरवार्ड एलेक्जेन्डर लाकाजेटले गोल गर्दै आर्सनलको जित पक्का गरे । अर्को सिजन युभेन्ट्स जाने सम्झौता गरिसकेका राम्जीले आर्सनलको जितमा उत्कृष्ट प्रदर्शन गरे ।

टोटेनहम भन्दा १० अंकले पछाडी रहेको आर्सनलले पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएको छ । सोमबारको जितपछि आर्सनलले टोटेनहमसँग २ अंकको अग्रता बनाएको छ । लिगको ७ खेल बाँकी रहँदा शीर्ष ४ को प्रतिस्पर्धा थप रोमान्चक बनेको छ ।

आर्सनलले ३१ खेलमा ६३ अंक जोड्दा टोटेनहम र म्यानचेस्टर युनाइटेड समान ६१ अंक बोक्दै चौथो र पाँचौ स्थानमा छन् । छैटौं स्थानको चेल्सीले ३१ खेलमा ६० अंक जोडेको छ । शीर्ष स्थानको लिभरपुलको ३२ खेलमा ७९ अंक छ भने म्यानचेस्टर सिटीले १ खेल कम खेल्दै ७७ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्