Logo

१ सय ४ हल सहित मल्टिप्लेक्समा आजदेखी भब्य रुपमा प्रदर्शन भइरहेछ, चलचित्र ‘लभ स्टेसन’



Spread the love

२२ चैत, काठमाडाैँ – फ्राइडे रिलिज अन्तर्गत आज नेपाली फिल्म ‘लभ स्टेसन’ प्रदर्शनमा आएको छ । फिल्म निर्माताका अनुसार ‘लभ स्टेसन’ नेपाल भरका १ सय ४ हल सहित मल्टिप्लेक्समा प्रदर्शन भइरहेको छ । नेपाली चलचित्रको व्यापार खस्किरहेको अवस्थामा आशा गरिएका चलचित्रलाई नै लगानी उठाउन धौ–धौ परिरहेका बेला यो चलचित्रले आशालाग्दो व्यापार गर्छ कि भन्ने आशा धेरैमा छ ।

फिल्म ‘लभ स्टेसन’ मा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ को मुख्य भूमिका रहेको छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

देशभरबाट एकसाथ प्रदर्शनमा आएको यो फिल्ममा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको रोमान्स देख्न सकिन्छ ।

‘लभ स्टेसन’ मुलुकका १०४ चलचित्र भवनमा रिलिज भएको निर्माता गोविन्द शाहीले जानकारी दिए । फिल्म उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

साङ्गीतिक प्रेम कथामा आधारित सामाजिक कथावस्तुसमेत समेटिएको फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डङ्गोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

फिल्मप्रति अभिनेता प्रदीप निकै आशावादी छन् । आफ्ना विगतका फिल्मभन्दा लभ स्टेसन हरेक कोणबाट उत्कृष्ट बनेको दाबी उनको छ । ‘लभ स्टेसन एकदमै उत्कृष्ट बनेको छ । मेरो अहिलेसम्मका फिल्ममध्ये बिल्कुलै नौलो छ,’ प्रदीप भन्छन्, ‘प्रेम गर्ने, मन पराउनेजति सबैको प्यारो बन्नेमा विश्वस्त छु ।’

प्रदीपझैँ अभिनेत्री जसिता पनि फिल्मप्रति निकै आशावादी छिन् । ‘मैले आफूले सकेको, जानेकोजति मिहिनेत गरेकी छु,’ उनी भन्छिन्, ‘त्यसकारण दर्शकले मेरो पहिलो फिल्मभन्दा अझै बढी मन पराउने आशामा छु ।’ अभिनेता प्रदीप लभ स्टेसन पारिवारिक प्रेमकथामा बुनिएको फिल्म भन्न मन पराउँछन् । ‘फिल्ममा धेरै कुरा छ,’ उनी भन्छन्, ‘मनोरञ्जनका हरेक खजाना समेटिएको छ । फिल्ममा म र जसिता मात्रै छैनौँ, एउटा सिंगो परिवार र समाज छ ।’

आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा बरिष्ट संगीतकार शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यसमा लोकेश बज्राचार्य र अर्जुन जिसीको सम्पादन, एलिस कार्कीको पाश्र्व संगीत, शिशिर खातीको नृत्य निर्देशन, कुमार महर्जनको द्धन्द्ध निर्देशन, राजेन्द्र रावलको निर्माण व्यबस्थापन रहेको छ ।

फिल्म प्रदर्शनको पूर्वसन्ध्या पारेर निर्माण युनिटले बिहीबार गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुमुर्स सुन्तली फाउन्डेसनलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको थियो ।

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलसँगको छलफलपछि लभ स्टेसनको नेपालमा प्रदर्शन भएको मुनाफाको ५ प्रतिशत रकम सो क्रिकेट मैदान निर्माणका लागि फाउन्डेसनलाई प्रदान गरिने घोषणा पनि बिहीबार भयो ।

‘हाम्रो चलचित्रका तर्फबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि अहिले ५० हजार रुपैयाँसहित फिल्म प्रदर्शन भएपछि नेपालबाट उठेको मुनाफाको ५ प्रतिशत रकम दिने भएका छौँ’ निर्माता गोविन्द शाहीले भने ।

प्रतिक्रिया दिनुहोस्