Logo

मेसी, जो फ्रिकिकलाई पेनाल्टीझैं बनाउन खपिस



Spread the love

२२ चैत, काठमाडौँ ।
बार्सिलोनाको कप्तान लिओनेल मेसीले जारी सिजनमा फ्रिकिकबाट मात्र गोल गरेका छन् । मंगलबार राती भिल्लारियल विरुद्ध बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दा मेसीले ९० औं मिनेटमा फ्रिकिक प्रहार गरेका थिए ।

मेसीले लगातार फ्रिकिकमा गोल गरिरहँदा विपक्षी टोलीले भने मेसीका लागि फ्रिकिक र पेनाल्टी उस्तै रहेको बताउन थालेका छन् । भिल्लारियलका प्रशिक्षक जाभी कालेजाले मंगलबार ४-४ को बराबरपछि भने,’ मेसीका लागि फ्रिकिक पनि पेनाल्टी झैं गोल गर्ने अवसर भएको छ ।’

सन् २०१६/१७ मा पनि मेसीले ९० औं मिनेटमा भिल्लारियलका गोलरक्षक सर्जियो असेन्जोलाई फ्रिकिकमै गोल गरेका थिए । मंगलबारको खेलमा पनि त्यस्तै भयो ।

मेसीले बार्सिलोनाको पछिल्लो तीनै खेलमा फ्रिकिक मार्फत गोल गरेका छन् । रियल बेटीस विरुद्ध फ्रिकिक छिराएका मेसीले एस्पान्योल विरुद्ध चिप सट प्रहार गर्दै गोल गरेका थिए । मंगलबार भिल्लारियल विरुद्ध फ्रिकिक पनि पोस्टमा लाग्दै गोलमा परिणत भएको थियो ।

शनिबार बार्सिलोनाले अंक तालिकाको शीर्ष स्थानमा महत्त्वपूर्ण असर गर्ने खेलमा एटलेटिको म्याड्रिडको सामना गर्दैछ । पछिल्लो पटक यी दुई टोली भिड्दा मेसीको फ्रिकिक गोलमा नै बार्सिलोना १-० ले विजयी रहेको थियो ।

मेसीले हालसम्म बार्सिलोनाका लागि ४१ पटक फ्रिकिकमा गोल गरेका छन् । त्यसमध्य यसै सिजन ७ गोल गर्न सफल भएका छन् । त्यसका लागि उनले ६२ फ्रिकिक लिएका छन् । मेसीले यस सिजन समग्रमा ४२ गोल गरेका छन् र पछिल्लो सिजन गरेको ४५ गोलको आँकडा पार गर्न सक्ने देखिन्छ ।

मेसीले मंगलबार भिल्लारियल विरुद्ध अन्तिम ३० मिनेट मात्र खेलेका थिए । बार्सिलोनाको लागि अबको दुई साता निकै महत्त्वपूर्ण रहेको छ । बार्सिलोनाले शनिबार एटलेटिको म्याड्रिडसँग खेलेपछि बुधबार म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ । अप्रिल १३ मा हुएस्कासँग खेलेपछि अप्रिल १६ मा युनाइटेड क्याम नोउमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्