Logo

आरसिबीको लगातार हारका पाँच कारण



Spread the love

जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा विराट कोहलीले नेतृत्व गरेको टिम रोयल च्यालेन्जसै बैंगलुरु (आरसिबी) लगातार हारिरहेको छ । शुक्रबार कोलकाता नाइट राइडर्ससँग भएको खेलमा पनि आरसिबी पाँच विकेटले पराजित भयो ।

यस हारसँगै आरसिबीले जारी आइपिएको पाँचौ खेल पनि जित्न सकेन । आखिर किन लागतार हार व्यहोरिरहेको छ त आरसिबी ? पाँच कारणः

१. ब्याटिङमा कमजोर

शुक्रबारको खेलमा २० ओभरमा २०५ रन बनाउनु सानो लक्ष्य दिनु होइन । तर, जब पहिलो विकेटका लागि विराट कोहली र पार्थिव पटेलबीच ६४ रन बनेको थियो, खेलमा २३० रन बन्न सक्ने अनुमान धेरैले लगाएका थिए ।

तर, विराट कोहलीले ४९ बलमा ८४ रन र एबी डीले ३२ बलमा ६३ रन बनाएर आउट भएपछि यो लक्ष्य सम्भव भएन । त्यसो त यसअघिका खेलमा पनि आरसिबीले धेरै रनको लक्ष्य दिन सकेको थिएन । ऊ हैदराबादविरुद्ध ११३ रन र चेन्नईविरुद्ध ७० रनमा मात्र समेटिएको थियो । त्यसैले, आरसिबीको यसपटकको ब्याटिङ कमजोर भएको विश्लेषण गरिएको छ ।

२. कमजोर फिल्डिङ

अहिलेसम्म भएका खेलमा आरसिबीको फिल्डिङ अत्यन्त कमजोर देखिएको छ । आरसिबीका खेलाडीले जारी आइपिएलमा केही सुन्दर क्याचहरु मिस गरेका छन् । यसअघिको खेलमा राजस्थान रोयल्ससँग पनि पराजित आरसिबीले त्यो खेलमा पाँच क्याच छुटाएको थियो ।

३. धारविहिन बलिङ

आरसिबीका बलरहरुले यसपटक आफ्ना विशेषता देखाउन सकेका छैनन् । उसका बलरहरुलाई ब्याट्सम्यानहरुले राम्रो पिटिरहेका छन् । आरसिबीका लागि यसपटक सबैभन्दा किफायती बलर बनेका छन्, युजवेन्द्र चहल । तर, एकजना बलरको भरमा मात्र खेल जित्नु सम्भव हुँदैन नि !

४. टिम छनोटमा नै प्रश्न

यो टिमको चयनमा पनि कप्तान विराट कोहली चुकेको भारतीय विश्लेषकहरुले बताउन थालेका छन् । उनले पिचलाई हेरेर खेलाडीहरु छान्ने नगरेको धेरैको आरोप लागेको छ ।

५. विराटको कप्तानीमा नै प्रश्न

विराट कोहलीले अहिलेसम्म आफ्नो टिमलाई आइपिएलको च्याम्पियन बनाउन सकेका छैनन् । त्यसैले उनको कप्तानीमाथि पनि प्रश्न उठेको छ ।
– साभार

प्रतिक्रिया दिनुहोस्