Logo

नेपाली शान सन्दीप लामिछानेको स्याङ्जादेखी आईपीएलसम्मको यात्रा (हेर्नुहोस् फोटो फिचर सहित)



Spread the love

दुई-तीन वर्ष अगाड‌िसम्म कतै नाम नसुनिएका लामिछाने छोटो अवधिमा एकाएक राष्ट्रिय टोलीको अभिन्न अंग बने, यु-१९ टोलीको कप्तान बने र उनले हङकङ ब्लिट्जजस्तो व्यावसाय‌िक प्रतियोगिता खेले।

त्यहाँ अष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कजस्ता खेलाडीको नजरमा परेपछि अष्ट्रेलिया पुगे, त्यहाँको ए ग्रेडको प्रतियोगिता खेले र अहिले विश्वकै ठूलो व्यवसाय‌िक क्रिकेट प्रतियोगिता मानिने आईपीएलमा समेत अवसर पाए।

यो सबै दुई-तीन वर्षभित्र भयो।

यसबीच उनले आफ्नो लेग स्प‌िनको जादु छर्दै आएका छन्। यु-१९ विश्वकपमा उनले आयरल्याण्डविरुद्ध ह्याट्रिक विकेट लिए, जुन सफलता यो उमेर समूहमा पाँचजनाले मात्र प्राप्त गरेका छन्।

एउटा क्रिकेट अनलाइन सर्भेमा गत वर्ष उनी विश्वका उत्कृष्ट २५ युवा खेलाडीहरुको सूचीमा परेका थिए। ‘लिटिल च्याम्प’ को उपमा पाएका उनी नेपाली शेन वार्नको उपनामले पनि चर्चित छन्।

लेग स्पिनर लामिछानेको ‘लेग ब्रेक गुगली’ शैली उनको विशेषता मानिन्छ।

यो उमेरमा उनले घुमाउरो बलमा माइकल क्लार्कमात्र होइन आईपीएलका प्रशिक्षक रिक्की पोन्टिङ समेत कायल छन्।

जसका कारण उनले पहिलो नेपाली खेलाडीका रूपमा गतवर्ष आईपीएलमा प्रवेश पाएका थिए।

चर्चामा सन्दीप

गत वर्ष लामिछाने आईपीएलमा छानिएको खबरले नेपालमा ठूलै तरङ्ग ल्याइदिएको थियो।

क्रिकेट निकै लोकप्रिय भएको दक्षिण एसियाको सानो राष्ट्र नेपाल, जो एसोसियट राष्ट्रहरूमा टेस्ट खेल्न सक्ने सम्मको सम्भावनाको देशको रुपमा चिनिन्छ, त्यहाँका क्रिकेट प्रेमीहरू यो घटनापछि निकै उत्साहित भए।

सामाजिक सञ्जालहरूमा बधाईको ओइरो नै लाग्यो।

बधाई दिनेमा अन्तर्राष्ट्रिय चर्चित खेलाडीदेखि नेपालका क्रिकेटप्रेमी र राजनीतिज्ञ समेत थिए।

नेपालका प्रधानमन्त्री केपी ओलीले ट्वीट गर्दै भनेका थिए, “बधाई सन्दीप। म मात्र होइन सारा नेपालीको तिमीमाथ‌ि गौरव छ। तिम्रो आगामी यात्रा अझ रोचक बनोस्।”

फेर‌ि लामिछानेको समाचार त्यतिबेला आएको थियो, जतिबेला नेपाल क्रिकेट संघ अन्तर्राष्ट्रिय क्रिकेट परिषद्-आईसीसीको निलम्वनमा थियो।

घरेलु क्रिकेट संरचना त्यतिबेला लगभग ठप्प जस्तै थियो र उकुसमुकुसको वातावरणबाट नेपाली क्रिकेट मुक्त भएको हेर्ने चाहनामा क्रिकेट प्रेमीहरू थिए।

यस्तो परिस्थितिमा एक नेपाली आईपीएलमा पुग्नुले ओरालो लागेको नेपाली क्रिकेटलाई उकास्न मद्दत पुगेको क्रिकेट अधिकारीहरूको ठम्याइ रह्यो।

राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक राजु बस्नेतले भनेका थिए,”सन्दीप एकजना प्रतिनिधि पात्र मात्र हुन्। उनको आइपीएल उपस्थितिले नेपालमा पनि उतिक्कै राम्रा क्रिकेटरहरू छन् भन्ने सन्देश फेर‌ि दोहोरिएको छ र यसले अन्य युवा खेलाडीलाई समेत ऊर्जा मिलेको छ।”

सन्दीपको विगत

लामिछाने नेपालको पहाडी जिल्ला स्याङ्जामा जन्मिएका हुन्।

बुबा भारतीय रेल्वे सेवामा काम गर्ने भएकाले बाल्यकाल भारतमा ब‌िताएका उनले त्यहाँ आधारभूत क्रिकेट सिकेका थिए।

पछि पढाइका लागि नेपाल फर्के। पश्चिम नेपालको नवलपरासीको रजहरमा दिदीको घरमा बसे र त्यहाँ क्रिकेट सिक्न मग्न भए।

पहिलो दिनमा नै उनी अरूभन्दा अलग छन् भन्ने मलाई लागेको थियो। उनको बल घुमाई असाधारण थियो। अनि सिक्ने भोक उनमा धेरै थियो

राजु खड्का, प्रशिक्षक

लामिछाने आफ्नो गाँउबाट १८ किमी टाढा रहेको चितवन क्रिकेट एकेडेमीमा दिनहुँ प्रशिक्षण गर्न आँउथे।

उनका प्रशिक्षक राजु खड्का लामिछानेबारे भन्छन्, “पहिलो दिनमा नै उनी अरूभन्दा अलग छन् भन्ने मलाई लागेको थियो। उनको बल घुमाई असाधारण थियो। अनि सिक्ने भोक उनमा धेरै थियो।”

प्रशिक्षक राजुले उनलाई १९ वर्षको राष्ट्रिय टोलीमा समावेश गर्ने प्रयास गरे। तर सुरुमा उनी छनोटमा पर्न सकेनन्।

त्यसैबेला नेपालका श्रीलंकाली मूलका क्यानेडेली प्रशिक्षक पुबुदु दशानायक नयाँ खेलाडीको खोजीमा थिए।

ट्यालेन्ट हन्टको क्रममा चितवन एकेडेमीमा पुगेका प्रशिक्षक पुबुदु लामिछानेलाई देखेपछि तत्कालै प्रभावित भए र सिधै राष्ट्रिय टोलीको क्याम्पमा बोलाए।

त्यहाँबाट उनको राष्ट्रिय टोलीको यात्रा सुरु भयो र उनले फर्केर हेर्नुपरेन।

बेन्चदेखी मैदानसम्मको सन्दीपको प्रतीक्षा

आईपीएलमा छानिए सँगै नयाँ बहस शुरु भएको थियो – सन्दिपले आइपीएलमा खेल्न पाउँछन् कि बेन्चमै सीमित हुनेछन् ?

दिल्ली डेयरडेभिल्सले ४ करोड भारुमा किनेका अर्का अनुभवी लेग स्पिनर अमृत मिश्रा पनि सँगै थिए। जसको उपस्थितिमा २० लाख भारुमा लिइएका लामिछानेले कमै मात्र मौका पाउन सक्ने अनुमान गरिएको थियो।

अनुमान गरिए झैं मैदानमा उत्रिन सदिपले ११ वटा खेल पर्खिनुपर्‍यो। १२ औं खेलमा भारतीय कप्तान विराट कोहलीको टिम रोयल च्यालेञ्जर्स ब्यांगलोरविरुद्ध उनले पहिलो मौका पाए।

त्यो खेलसँगै लामिछानेको नाममा थुप्रै इतिहास एक साथ बन्यो। उनी आइपीएल खेल्ने पहिलो नेपाली, आइपीएल खेल्ने १३ औं राष्ट्रका खेलाडी, तेस्रो कम उमेरका खेलाडी बने।

महत्त्वपूर्ण कुरा के रह्यो भने उनको पहिलो खेलको प्रदर्शन उतिकै प्रभावकारी बन्न सक्यो।

कप्तान कोहली र विश्वमै कहलिएका एबी डी भिलियर्सविरुद्ध उनले बल फ्याँके। र, ती खेलाडीले सन्दीपको बलिङ शैलीको खुलेर प्रशंसा गरे।

पूरै ४ ओभर बलिङ गरेका उनले २५ रन दिएर १ विकेट लिन सफल भएका थिए।

सन्दीपले रोयल च्यालेञ्जर्सका विकेटकिपर-ब्याट्सम्यान पार्थ‌िव पटेललाई एलबीडब्लुको धरापमा पारेका थिए।

२०१९ मा सन्दीपको उपलब्धि

पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पार्दै नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार सन् २०१९ को जनवरीदेखि अप्रिल १ सम्म सन्दीपले २७ विकेट लिँदै उनीहरुलाई पछि पारेका हुन् । सन् २०१९ मा अफ्रिदीले २६, राशिद २५ र सकिबले २४ विकेट लिएका छन् ।

सोमबार राति आइपीएलको १३ औं खेलमा किंग्स इलाभेन पन्जावविरुद्ध २७ रन खर्चेर २ विकेट लिएसँगै सन्दीपले यो सफलता हात पारे । उनले सन् २०१९ मा २७ विकेट लिई सकेका छन् ।

हेर्नुहोस् सन्दीप लामिछानेको क्रिकेट यात्रा (फोटो फिचर):

जेन्वरी ३०, २०१६ मा बलिङका क्रममा सन्दीप लामिछाने
जुन १२, २०१६ मा फिल्डिङका क्रममा डाइभ हान्दै सन्दीप !
 सेप्टेम्बर २४, २०१६ मा माइकल क्लार्कसँग सन्दीप !
  सेप्टेम्बर २४, २०१६ मा माइकल क्लार्कसँग सन्दीपको मुस्कान !
फेब्रुअरी ८, २०१८ मा बसन्त रेग्मीसँग सन्दीप ।
फेब्रुअरी ८, २०१८ को दिन ।
फेब्रुअरी ८, २०१८ मा ‘म्यान अफ द म्याच’ बनेपछि ।

शानदार १७ विकेट लिएसँगै ‘म्यान अफ द टुर्नामेन्ट’ बनेका सन्दीप ।
फेब्रुअरी ९, २०१८ को खेल ।
बलिङ पछिको सन्दीप एक्सप्रेसन !
बलिङका क्रममा लेग स्पिनर सन्दीप लामिछाने
विकेट लिए पछिको खुसी ।
फेब्रुअरी ११, २०१८ को सन्दीपको हाँसो ।
आईपीएल डेब्युका क्रममा सन्दीप लामिछाने ।
पहिलो आईपीएल विकेट सेलिब्रेसन गर्दै सन्दीप लामिछाने ।
विकेटबारे बताउँदै सन्दीप ।
जुलाई २९, २०१८ मा सन्दीपको रोर !
मेइ २०, २०१८ मा विकेट लिए पश्चातको सन्दीपको जोश ।
अगस्ट १, २०१८ को खेलमा ।
डिसेम्बर २१, २०१८ को खेलका क्रममा ।
 डिसेम्बर २१, २०१८ ।
फेब्रुअरी १०, २०१९ ।
दिल्लीका कप्तान श्रेयस एैरसँग सन्दीपको विकेट सेलिब्रेसन, २०१९ ।

प्रतिक्रिया दिनुहोस्