Logo

वल्भ्समाथि रोमान्चक जित निकाल्दै वाटफर्डले उपाधिको लागि म्यानचेस्टर सिटीको सामना गर्ने



Spread the love

२५ चैत, काठमाडौं ।
इन्ज्युरी समयमा कप्तान ट्रोए डिनीले बराबरी गोल गरेपछि अतिरिक्त समयमा पुगेको खेलमा वल्भ्सलाई ३-२ ले पराजित गर्दै वाटफर्ड एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार वेम्बली मैदानमा भएको खेलमा वल्भ्सले जाभिएर डोहर्टिको ३६ औं मिनेटको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफमा राउल जिमिनेजले अग्रता दोब्बर पारे । उनले ६२ औं मिनेटमा उत्कृष्ट भली प्रहार गर्दै वल्भ्सलाई फाइनल नजिक पुर्याएका थिए । सन् १९६० पछि पहिलो पटक फाइनल पुग्ने धुनमा रहेको वल्भ्सले अन्तिम समयमा सम्हिलन नसक्दा पराजय बेहोर्नुपर्यो ।

खेल सकिन ११ मिनेट बाँकी रहँदा जेरार्ड डेउलोफेउले फ्लिकमा गोल गर्दै वाटफर्डको खेलमा फर्कने आशा जगाए । इन्ज्युरी समयको चौथी मिनेटमा कप्तान डिनीले प्राप्त पेनाल्टी अवसरको सदुपयोग गर्दै खेल अतिरिक्त समयतर्फ लम्काएका थिए । वल्भ्सका डिफेन्डर लिआन्डर डेन्डोकरले डिनीलाई पेनाल्टी क्षेत्र भित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

अतिरिक्त समयको १ सय ४ औं मा डेउलोफेउले नै गोल गर्दै वाटफर्डलाई जिततर्फ लम्काए । सन् १९८४ यता पहिलो पटक फाइनल पुगेको वाटफर्डले अब उपाधिको लागि म्यानचेस्टर सिटीको सामना गर्नेछ । खेल मे १८ मा वेम्बली मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्