Logo

आजका पत्रपत्रिका : कर्मचारी अभावले सेवा प्रवाह अवरुद्ध,



Spread the love

२८ चैत, काठमाडौं ।
राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई उठाएका छन् । बिशेषगरी कर्मचारी अभावले सेवा प्रवाह अवरुद्ध, भारतमा आजबाट शुरु भएको निर्वाचन, ललितानिवासको जग्गा धितो राखेर कर्जा र त्रिभुवन विमानस्थलमा उडान भद्रगोल लगायतका बिषयहरुले आजका पत्रपत्रिकाहरुको ‘कभरेज’ स्थान पाएको छ ।

अन्नपूर्ण लेख्छ सन् २०१२ देखि ब्ल्याक होल खोजीमा रहेका २ सय वैज्ञानिकले खिचेको त्यसको तस्वीरबारे मुख्य समाचार लेखेको छ । ब्ल्याक होलको तस्बिर इभेन्ट होराइजन दूरबीनबाट खिचिएको थियो। यो दूरबीन संसारका ६ स्थानमा जडान गरिएको छ।

उक्त दूरबीन ब्ल्याक होलको तस्बिर खिच्न बनाइएको हो। दूरबीन अमेरिकाको हवाई र एरिजोना, स्पेन, मेक्सिको, चिली र दक्षिणी ध्रुवमा राखिएको छ। यी सबै दूरबीन जोडेर निकै शक्तिशाली आभासी ९भच्र्यूअल० टेलिस्कोप बनाइएको छ। ती दूरबीनबाट प्राप्त तथ्यांक सुपरकम्प्यूटरमा संग्रह गरिन्छ। ब्ल्याक होल खोजी कार्यमा सन् २०१२ देखि २ सय वैज्ञानिक सहभागी थिए।

अन्नपूर्णले भारतमा आजबाट शुरु भएको निर्वाचनलाई पनि उठाएको छ । १८ राज्य र केन्द्र शासित २ प्रदेशका ९१ सिटका लागि मतदाताले आफ्ना प्रतिनिधि छान्दै छन्।

पहिले चरणमा आन्ध्र प्रदेश, अरुणाचल प्रदेश, मेघालय, उत्तराखण्ड, मिजोरम, नागाल्याण्ड, सिक्किम, लक्षद्वीप, अण्डमान निकोबार द्वीप समूह र तेलंगानाका सबै लोकसभा सिटका लागि मतदान गरिने व्यवस्था मिलाइएको छ। साथै असम, बिहार, छत्तीसगढ, जम्मुकश्मीर, महाराष्ट्र, मणिपुर, उडिशा, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालमा लोकसभाका केही सिटका लागि मतदान हुँदै छ।

कान्तिपुर दैनिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनको बिषयलाई प्राथामिकता दिएको छ । समाचार अनुसार, पछिल्ला केही समययता उडान भद्रगोल बनेका छन् । धावनमार्ग मर्मतका लागि हरेक दिन १० घण्टा बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दैनिक उडान व्यवस्थापनमा एकपछि अर्को गर्दै चरम लापरबाहीहरू देखिन थालेका छन् ।

साथै प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले संसदमा विचाराधीन विषयमा परिपत्र नगर्न सरकारलाई निर्देशन दिएको बिषयलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा समेटेको छ ।

राजधानी दैनिकले मुलुकका ७५३ वटा स्थानीय तहमा १६ हजार कर्मचारी रिक्त रहेकाले सेवा प्रवाहमा समेत गम्भीर समस्या बिषयलाई जोड दिएको छ । स्थानीय तहमा ठूलो संख्यामा कर्मचारी रिक्त रहे पनि प्रदेशमा प्रदेश लोकसेवा आयोग गठन नभएकाले उनीहरूले भर्ना प्रक्रिया सञ्चालन गर्न सकेका छैनन् ।

नयाँ पत्रिका दैनिकका अनुसार प्रशासनले माइकिङ गरेर बोलाएपछि जम्मा भएका डाक्टरले आँगनमै बिरामी हेरेको र समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी डाक्टरले सेवा अवरुद्ध पारेको ६ दिनपछि अस्पताल विकास समितिका चिकित्सकले बुधबार भने दैनिक एकदेखि दुई घन्टा सेवा सञ्चालन गरेका छन् ।

नागरिक दैनिक लेख्छ सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा व्यक्तिका नाममा बनाएर धितो राखी विभिन्न बैंक तथा वित्तीय संस्थानबाट अर्बौं रुपैयाँ ऋण लिएको पाइएको छ ।

नागरिकका अनुसार, ललितानिवासको तत्कालीन भोगाधिकारी रुक्मशमशेर राणालगायतबाट ०६० सालमा विभिन्न व्यक्ति तथा संस्थालाई गैरकानूनी रुपमा बेचिएको सो जग्गा धितो स्वीकारेर करिब १ दर्जन बैंक तथा वित्तीय संस्थालले कर्जा प्रवाह गरेका छन्  । सरकारले उक्त जग्गा फिर्ता लिए बैंकहरुले प्रवाह गरेको कर्जा रकम के हुने भन्ने अन्योल देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्