Logo

जो-कोहीलाई आश्चर्य चकित तुल्याउने संसारका १० लोभलाग्दा संरचनाहरू (जानकारी सहित)



Spread the love

इन्जिनियरिङ्गलाई कला भनियोस्, सीप भनियोस् या त कुनै नियमित पेशा नै तर इतिहासलाई नियाल्ने हो भने, यसको जादुयी क्षमता कै बलमा मानिस सामान्य अपेक्षा र प्राकृतिक सिमितता भन्दा थुप्रै माथि पुगिसकेको छ ।

संसारमा थुप्रै सिभिल इन्जिनियरिङ्ग परियोजनाहरू छन्, जसले तपाईं हाम्रो मन-मस्तिष्कलाई हल्लाइदिने सामर्थ्य राख्छन् । यहाँ तीमध्येका १० त्यस्ता भब्य शानदार संरचना बारे वर्णन गर्ने प्रयास गरिएको छ, जो सदियौंदेखी झन्झन् हामीलाई आश्चर्यचकित तुल्याइरहेका छन् ।

१०. क्विङदाओ हाइवन ब्रिज, चिन
क्विङदाओ हाइवन ब्रिजलाई ‘जिआओ जुओ बे ब्रिज’का नामले पनि चिन्ने गरिन्छ । समुन्द्रमाथि करिब ४२ किलोमिटरको दुरीमा फैलिएको यो पुल संसार कै सबैभन्दा लामो पुल हो । यसले पुर्वी चिनको क्विङदाओ शहर र हुआङ दाओ शहरलाई आपसमा जोड्ने गर्दछ ।

१० हजार कामदार सहित झण्डै ४ वर्ष लगाएर बनाइएको यो पुलको डिजाइनर ‘शान दोङ ग्रुप’ हो । यसलाई बनाउन जम्मा ९ सय मिलियन पाउन्ड खर्च भएको थियो ।

क्विङदाओ हाइवन ब्रिज, चिन

९. बुर्ज खलिफा, दुबई
८२९.८ मिटरको उचाइमा ठडिएको बुर्ज खलिफा संसारको सबैभन्दा अग्लो संरचना हो । डाउन टाउन दुबईको केन्द्रको रुपमा निर्माण गरिएको यो संरचनाको नामाकरण दुबईका शासकको नामबाट गरिएको थियो । इस्लामी आर्किटेक्चरका संरचना र स्टाइलबाट प्रभावित भएर स्किडमोर, ओइङ्स र मेर्रिल (एसओएम) ले संयुक्त रुपमा यसको डिजाइन गरेका हुन् ।

यसको निर्माण सम्पन्न गर्नका लागि १.५ बिलियन डलर खर्च भएको थियो ।

बुर्ज खलिफा, दुबई

८. इङ्लिस च्यानल टनेल, युके-फ्रान्स
इङ्लिस च्यानल टनेल युकेको फोल्केस्टोन, केन्ट देखी फ्रान्सको कोक्युलिससम्म तन्किएको छ । समुन्दी सतहमुनी सर्वाधिक लम्बाई भएको टनेलका रुपमा परिचित यस टनेलको निर्माणका लागि झण्डै ९ बिलियन पाउन्ड खर्च भएको थियो ।

यसमा तीब्र गतिको युरोस्टर यात्रु ट्रेन तथा गाडीहरू गुड्ने गर्दछन्, जुन युरोप कै सबैभन्दा ठुलो यातायात प्रणालीको रुपमा परिचित छ ।

इङ्लिस च्यानल टनेल, युके-फ्रान्स

७. गोल्डेन गेट ब्रिज, अमेरिका
संसारकै सबैभन्दा सुन्दर आकर्षक पुलको रुपमा परिचित छ – गोल्डेन गेट ब्रिज । करिब २७ मिलियन डलरको लागतमा बनेको यो पुल सन फ्रान्सिस्को र मरिन कन्टीको बिचमा ठडिएको छ ।

संसारको सबैभन्दा लामो झोलुङ्गे पुलको पगरी गुथेको यो पुल अमेरिकाको शानका रुपमा परिचित छ ।

गोल्डेन गेट ब्रिज, अमेरिका

६. हुभर ड्याम, अमेरिका
अमेरिकाको कोलोराडो नदिमाथिको ब्ल्याक क्यानियोनमा बनेको यो ड्याम ठुलो खाडल (डिप्रेसन) मा अवस्थित छ । चापको आकार (आर्च शेप) मा बनेको यो कंक्रिट ग्र्याभिटी बाँध हो । यो अमेरिकाको सबैभन्दा ठुलो बाँध पनि हो । यसको नाम तत्कालीन अमेरिकी राष्ट्रपति हर्बर्ट हुभरबाट राखिएको हो ।

यसलाई बनाउन झण्डै ४९ मिलियन अमेरिकी डलर खर्च भएको र करिब ५ वर्षको अवधि लागेको बताइन्छ ।

हुभर ड्याम, अमेरिका

५. पनामा नहर, पनामा
४८ माइल लामो पनामा क्यानल पनामा ‘वाटर वे’ मा अवस्थित छ । यसले एटलान्टिक र प्यासिफिक महासागरलाई जोड्ने काम गरेको छ । यसमा दुई किनारमा लक प्रणाली हुनुका साथै थुप्रै कृत्रिम ताल तलैयाहरू पनि रहेका छन् ।

झण्डै ३७५ मिलियन डलरको लागतमा यसको निर्माण कार्य सन १८८१ देखी १९१४ सम्म चलेको थियो ।

पनामा नहर, पनामा

४. ब्रुक्लीन ब्रिज, अमेरिका
अमेरिकाको पुरानो पुलहरूमध्येको एक हो – ब्रुक्लीन ब्रिज । यसको मुख्य आश्चर्य भनेको यो झोलुङ्गे पुल पनि हो, केबल स्टेयड पुल पनि हो । यसले म्यानहट्टन शहर र ब्रुक्लीन शहरलाई जोड्ने गर्दछ ।

जर्मन इन्जिनियर जोन अगस्टले सुरुमा डिजाइन गरे पनि पछि उनको मृत्युपश्चात उनका छोरा इन्जिनियर वाशिङ्टन रोब्लिङले निर्माण कार्य सम्पन्न गरेका थिए । १५.५ मिलियन डलरको लागतमा बनेको यो पुल न्यु योर्क शहरको ऐतिहासिक पहिचान हो ।

ब्रुक्लीन ब्रिज, अमेरिका

३. सेगोभियाको जलसेतु, स्पेन
रोमन साम्राज्यको ऐतिहासिक स्तम्भ हो – सेगोभियाको जलसेतु (एक्विइ डक्ट) । यो अहिलेको स्पेनमा अवस्थित छ । यसलाई सताब्दीऔंदेखी संरक्षण गरेर राखिएको छ ।
१९ औं शताब्दीको अन्त्यसम्म पनि यसले सेगोभियामा पानी पुर्याउने काम गरिरहेकै थियो ।

सेगोभियाको जलसेतु, स्पेन

२. ग्रेट वाल अफ चाइना
झण्डै २ हजार वर्षभन्दा लामो इतिहास बोकेको ग्रेट ‘वाल अफ चाइना’ चिनको मात्रै नभएर सारा विश्व कै आश्चर्य र पहिचान बोकेको स्तम्भ हो । केही भागहरूमा खुइलिदै गएको भएता पनि यो अझैं विश्वभरका पर्यटकहरूकालागि पहिलो रोजाइको गन्तब्य मध्येको एक हो । यो पुर्वी चिनको ड्यानडोङ देखी पश्चिम चिनको लोप लेक सम्म लमतन्न फैलिएको छ ।

यसका सबै हाँगाहरूलाई समेत जोड्ने हो भने यसको जम्मा लम्बाई झण्डै १३ हजार १ सय ७१ हुन आउँछ, जसको जम्मा खर्च अहिलेको समयको ६० बिलियन डलर सम्म हुने अनुमान गरिएको छ ।

ग्रेट वाल अफ चाइना

१. ग्रेट पिरामिड अफ गिजा, इजिप्ट
प्राचीन विश्वका सात महान आश्चर्य मध्ये पनि सबैभन्दा पुरानो संरचना हो – ग्रेट पिरामिड अफ गिजा । चौथो वंशीय इजिप्सीएन फरावका लागि चिहानको रुपमा निर्माण गरिएको यो पिरामिड झण्डै २० वर्षको समयावधीमा बनाइएको पत्ता लागेको छ ।

खुफुका हेमोनलाई यसको डिजाइनरको रुपमा मान्ने गरिएको छ । ३८ सय वर्षसम्म यसलाई मानव निर्मित सबैभन्दा अग्लो संरचनाको रुपमा मानियो । यसको लागत अहिलेको समयमा झण्डै ५ बिलियन डलर हुने अनुमान गरिएको छ ।

ग्रेट पिरामिड अफ गिजा, इजिप्ट

यसरी विभिन्न समय र कालहरूमा विभिन्न सिभिल इन्जिनियरिङ्ग संरचनाहरू बने, जसले सारा विश्वलाई नै आश्चर्यचकित पारिदियो । प्रकृतिका सीमा भन्दा माथि, मानवीय अपेक्षा र सपना भन्दा माथि ।

सबै डिजाइनर/इन्जिनियरका आ-आफ्नै मान्यता – नजरीया हुने गर्दछन्, जसको परछायाँमा उनीहरूले संसारमा चमत्कार ल्याउने प्रयास गरिरहन्छन् । हामीले छानेका यी संरचनाहरू संसारका ती महान संरचनाहरू हुन्, जो सदियौंदेखी संसारभर लगातार आश्चर्य छरिरहेका छन् ।

(एजेन्सीको सहयोगमा सल्लेरी खबरका लागि राजन के.सी. प्रमोदको प्रस्तुती )

प्रतिक्रिया दिनुहोस्