Logo

एसईई दिएर बसेका विद्यार्थीहरूले आफ्नो फुर्सदलाई कसरी सदुपयोग गर्न सकिन्छ ? (योजनाहरू सहित)



Spread the love

माध्यमिक शिक्षा परीक्षा (एसईई) सकाएका विद्यार्थीहरू अहिले केही समय फुर्सदिला भएका छन् । परीक्षापछिको फुर्सद सबै विद्यार्थीका लागि साह्रै आनन्ददायक हुन्छ । नतिजा नआउन्जेलसम्मको समय अक्सर सबैजसो विद्यार्थीहरूले त्यसै खेर फाल्ने गरेको पाइन्छ ।

तर यो समयलाई पनि सही तरिकाले सदुपयोग गर्न सकियो भने त्यो जीवनभरका लागि लाभदायी हुनसक्छ । त्यतिमात्र नभएर फुर्सदको समयमा नानाथरीका कुरा सोचिने भएकाले गलत बाटो रोज्नसक्ने खतरा पनि उत्तिकै हुन्छ । त्यसैले पनि समय मै सचेत र सजक हुनु आवश्यक छ ।

यो समयलाई ठिक ढंगले परिचालन गर्न सकियो भने सकारात्मक परिणाम हात पार्न सकिन्छ । एसईई पछिको छोटो अवधिलाई विद्यार्थीले आफ्नो हितमा अधिकतम सदुपयोग गर्न सक्नुपर्छ, त्यसैले विद्यार्थीहरूले यो फुर्सदलाई के-कसरी सदुपयोग गर्ने भन्ने योजना बनाउन आवश्यक छ ।

पढ्नुहोस् केही उपयुक्त योजनाहरूः

१. केही रचनात्मक कुराहरू सिक्ने

परीक्षापछिको फुर्सद सिर्जनात्मक कुराहरू सिक्ने ठूलो अवसर पनि हो । यो आफूलाई मन पर्ने कलाका क्षेत्रहरू नृत्य, गायन, अभिनय, चित्रकला सिक्ने, कविता, कथा, निबन्ध आदि लेख्न अभ्यास गर्ने उपयुक्त समय हो । नयाँ कुरा सिक्नु वा सिर्जना गर्नु निकै रमाइलो र फाइदाजनक हुन्छ ।

सिर्जनात्मक एवं रचनात्मक कामले मन–मस्तिष्कलाई सन्तुलित राख्न मद्दत गर्ने भएकाले परीक्षापछिको फुर्सदलाई सिर्जनात्मक काममा लगाउनुपर्छ ।

२. रमाइलो तथा भ्रमण / घुमघाम गर्ने

परीक्षाका बेला पढाइले थाकेका विद्यार्थीहरू परीक्षा सकिनासाथ घुमघाम तथा मनोरञ्जनका योजना बनाउँछन् । वास्तवमा यो नराम्रो होइन । खान, सुत्न पनि बिर्सेर परीक्षाको तयारीमा लागेकाहरू परीक्षापछि तनावपूर्ण दिन बिताउन चाहने कुरै भएन ।

घुमघाम, नयाँ ठाउँहरू अवलोकन तथा जानकारी लिने कामले दिमागलाई फराकिलो बनाउन सहयोग पुर्‍याउँछ । घुम्दा पनि धेरै कुरा सिक्न पाइन्छ । देखेर सिकेको कुराले दिर्घकालिन फाइदा पुर्‍याउँछ । त्यसबाहेक ज्ञानबर्द्धक टेलिसिरियल तथा चलचित्र हेरेर पनि मनोरञ्जन गर्न सकिन्छ ।

३. भविष्यबारेको योजना बनाउने

परीक्षाको नतिजा प्रकाशन भएपछि के पढ्ने र कहाँ पढ्ने ? यससँग सम्बन्धित सूचना वा जानकारी प्राप्त गर्नेतर्फ लाग्नुपर्छ । एसईईपछिको शिक्षा कुन कलेज वा कुन ठाउँमा पढ्ने सोच्न–बुझ्न थाल्नुपर्छ । यो समयमा धेरै भन्दा धेरै व्यक्तिसँग भेटेर आफूले अध्ययन गर्न चाहेको विषयका परामर्श लिनुपर्छ । भविष्यमा कुन विषय रोज्ने, त्यसको प्रवेशसम्बन्धी प्रक्रियाहरू के–के छन बुझ्नुपर्छ ।

एसईईपछिको कक्षा भर्नाका लागि प्रवेश परीक्षा दिनुपर्ने भयो भने त्यसको पाठ्क्रमका बारेमा जानकारी लिनुपर्छ । धेरै भन्दा धेरै व्यक्तिसँग भेटेर आफ्नो मनले रोजेको क्षेत्रमा प्रवेश गर्ने योजना बनाउन थाल्नुपर्छ । एसईईपछिका विद्यार्थीहरूलाई लक्षित गरेर संचालित परामर्श वा व्यक्तित्व विकासका कक्षाहरूमा सहभागिता जनाउन सकिन्छ ।

४. ब्रिजकोर्स पढ्ने तथा सीपमुलक ट्रेनिङ लिने

एसईईपछि धेरै विद्यार्थीको ध्यान ब्रिजकोर्स एवं सीपमूलक तालिमतर्फ तानिएको हुन्छ । आफ्नो रुचि एवं चाहनाअनुरूप सिप सिक्नु नराम्रो होइन । यस क्रममा ब्रिजकोर्स अर्थात विशेष शिक्षा लिन सकिन्छ । उच्च शिक्षा अध्ययनका लागि भर्नापूर्व विद्यार्थीले रुचाएको विषय अध्ययनका लागि तयारी कक्षा लिनु पनि फलदायी हुन्छ । सम्बन्धित विषयमा विद्यार्थी कत्तिको जानकार छ भनेर लिइने यो परीक्षाले नै क्याम्पसमा भर्ना पाउने वा नपाउने कुराको निधो गर्छ ।

यो पनि पढ्नुहोस्ः

एसईई पछिको फुर्सदमा ‘ब्रिज कोर्स’ पढ्नु किन आवश्यक छ ?

त्यसैले यस्तो परीक्षामा राम्रो तयारी गरेर उत्कृष्ट नम्बर ल्याउनु आवश्यक छ । त्यसबाहेक कम्प्युटर तालिम तथा विभिन्न भाषाका कक्षा, उद्घोषण, अभिनय तथा नाटकमा रुचि भए सम्बन्धित विषयको तालिम लिन सकिन्छ ।

५. मनपसन्द / उपयोगी किताब पढ्ने

कोर्सका पुस्तक पढेर थाकेकाहरूले परीक्षा सकिएपछि अतिरिक्त पुस्तक पढ्न सक्छन् । कलेज भर्ना हुनासाथ कोर्सका पुस्तक पढ्ने बोझ हुने भएकाले यो समयमा आफूलाई मन परेका उपन्यास, कथा, आत्मकथा, प्रसिद्ध व्यक्तिका जीवनी आदि पढ्न सकिन्छ ।

यस्ता पुस्तक पढ्दा लेख्ने शैली तथा सिर्जनात्मक क्षमताको पनि विकास हुन्छ । यसका लागि विज्ञानमा रुची भएका विद्यार्थीले वैज्ञानिक खोज र अनुसन्धानसम्बन्धी पुस्तक रोज्नुपर्छ ।

राजनीतिज्ञ तथा अर्थशास्त्री बन्न चाहनेहरूले तिनै विषयका पुस्तक पढ्नुपर्छ । प्राविधिक ज्ञान हासिल गर्ने हो भने त्यसैसँग सम्बन्धित पुस्तक अध्ययन गर्नुपर्छ । यसरी फुर्सदमा पढ्ने बानी बसाल्दा सधैंभरिलाई फाइदा हुन्छ । पछि कलेजको कोर्स पढ्दा यस्ता अतिरिक्त पुस्तकबाट हासिल गरेको ज्ञानले उच्च शिक्षामा समेत मद्दत मिल्छ ।

६. सामाजिक कार्यहरू गर्ने

परीक्षा सकिएपछि मानसिक थकान बिसाएर समाजसेवा गर्नु उत्तम हुन्छ । यसले समाजलाई त फाइदा पुग्छ नै आफ्नो व्यक्तिगत जीवनमा समेत सकारात्मक प्रभाव पार्छ । भविष्यमा विदेश अध्ययन गर्न जान चाहनेहरूलाई छात्राबृत्तिमा आवेदन दिंदा सहयोग मिल्छ ।

स्कलरसिपमा अब्रोड स्टडी गर्न जानेहरूले शैक्षिक क्षेत्रमा अब्बल त हुनैपर्छ त्यसबाहेक समाजसेवाका क्षेत्रमा आफ्नो योगदानको विवरणसमेत पेस गर्नुपर्छ । त्यसो हुनाले गाउँठाउँका सामाजिक संघ, संस्था तथा क्लबहरू अर्थात स्वयमसेवी संस्थाहरूमार्फत समाजसेवा गरेर अनुभव लिनु उपयुक्त हुन्छ ।

७. आम्दानीमुलक कामहरू गर्ने

एसईईपछि थप अध्ययन गर्ने इच्छा हुँदादुँदै पनि कतिपय विद्यार्थीको पारिवारिक अवस्था कमजोर हुन्छ । आर्थिक अवस्था कमजोर भएका एवं मध्यमवर्गीय विद्यार्थीले फुर्सदको समयलाई आय आर्जनको काममा लगाउन सक्छन् । आत्मनिर्भर भइने र परिवारलाई समेत सहयोग पुग्ने भएकाले यस्ता कार्यमा लाग्नु धेरै राम्रो हो । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि यो बाध्यता पनि हो ।

विभिन्न सेवा तथा वस्तुको मार्केटिङ, कुनै कार्यालयको काम, खेती–किसानी आदि क्षेत्रमा लाग्नु भविष्यका लागि अनुभव बटुल्नु पनि हो । कतिपय संघ–संस्थाले दैनिक भत्ता दिएर सामाजिक सेवामा अवसर दिने भएकाले त्यसमा पनि समय दिन सकिन्छ ।

८. घरायसी काममा सघाउने

यो फुर्सदको समयमा घरमा भान्साको काम सिक्न पनि सकिन्छ । कसरी खाना पकाउने, कसरी तरकारी काट्ने, कसरी भाँडावर्तन सफा गर्ने, कसरी कुचो लगाउने लगायत । यस्ता कामले व्यक्तिको क्षमतामा पनि विकास हुनुका साथै श्रमको मूल्य पनि बुझ्न मद्दत पुग्छ । साथै घर परिवारमा सहयोग गर्ने संस्कारको विकास हुन्छ ।

भोलि रिजल्ट आएसँगै विद्यार्थीहरू घर परिवारभन्दा बाहिर बसेर पढ्नु पर्ने हुन सक्छ । अब्रोड स्टडीका लागि समुद्र पारका मुलुकमा पुग्नु पर्ने हुन सक्छ । त्यतिबेला उनीहरुले आफै खाना पकाउनु पर्ने, आफै सफा गर्नुपर्ने हुन्छ । यसका लागि पनि यो काइदाको समय हुन सक्छ, यी सबै सिक्नका लागि ।

९. खेल खेल्ने

विदाको सदुपयोग गर्ने एउटा अर्को उपाय हो – खेलकुदमा प्रेरित हुने । अहिले धेरैजसो बच्चाहरु मोवाइल वा ल्यापटपमा गेम खेलेर समय विताउँछन् । उनीहरुलाई आउटडोर गेममा प्रेरित गर्न आवश्यक छ । यसले गर्दा उनीहरुमा मोवाइल, ल्यापटपको गेमको आशक्ति छुट्न सहयोग हुन्छ । आउटडोर गेमले उनीहरुको शारीरिक तथा मानसिक विकासमा एकदमै सहयोग गर्छ ।

फुटबल, क्रिकेट, भलिबल, टेनिस जस्ता कुनैपनि उनीहरूलाई सहभागी गराउन सकिन्छ । साथै, मार्सल आर्टजस्ता खेलहरुमा पनि लगाउन सकिन्छ । यसले उनीहरुको शारीरिक विकास मात्र हुँदैन, अन्य किसिमको क्षमता विकास पनि हुन्छ ।

सारांशमा, एसईई दिएर बसेका सम्पुर्ण विद्यार्थीहरूका लागि आफ्नो फुर्सदको समय कसरी बिताउने भन्ने छनौटको जिम्मा आ-आफ्नै हातमा छ । तर यसलाई सबैले राम्रोसँग योजना बनाएर रमाइलो गर्दै, हाँस्दै खेल्दै रमाउँदै अनि केही सिक्दै पनि यसको सही सदुपयोग गर्न सकिन्छ ।

यसबारे विद्यार्थी स्वयम तथा उनीहरूका अभिभावक / आफन्तले पनि सक्दो सहयोग गर्न जरुरी छ ।

तस्बिर स्रोतः गुगल

प्रतिक्रिया दिनुहोस्