Logo

शौचालयसँगै निर्माण भएका सटर सञ्चालनका लागि पहल थालियो



Spread the love

६ बैशाख , काठमाडाैँ – चितवनको रत्ननगर नगरपालिकामा रोटरी क्लबले निर्माण गरेर टिकौली जैविक विविधता सूचना केन्द्रलाई हस्तान्तरण गरेको सार्वजनिक शौचालयसँगै निर्माण भएको सटर सञ्चालनका लागि पहल थालिएको छ ।

शौचालयको नियमित सरसफाई र कर्मचारीको लागि तलबको व्यवस्था गर्न शौचालयसँगै चार वटा व्यावसायिक सटर निर्माण गरिएका थिए । व्यावसायिक सटर सञ्चालन गर्न नपाउने भन्दै डिभिजन वनले पत्र काटेपछि जिल्ला समन्वय समिति चितवनका प्रमुख, स्थानीय जनप्रतिनिधि, राष्ट्रिय प्रकृति संरक्षण कोष, रोटरी क्लब अफ रत्ननगरलगायतका सरोकारवालासँग छलफल गरी शौचालयको सटर सञ्चालनका लागि सहजीकरण गर्न आग्रह गरिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले शौचालय नियमित सरसफाई राख्नका लागि व्यवसायिक सटर सञ्चालन गर्न दिनुपर्ने बताए ।

छलफलका क्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका प्रमुख रामकुमार अर्यालले शौचालयको सटरबाट भएको आम्दानीलाई पारदर्शी रुपमा सार्वजनिक गर्न आग्रह गर्दै ती सटर सञ्चालनका लागि वनले सहमति दिनुपर्ने बताए ।

तत्कालिन जिल्ला वन कार्यालय चितवनसँग अनुमति लिएर नै रोटरी क्लबले निर्माण गरेको व्यवस्थित शौचालय टिकौली जैविक विविधता सूचना केन्द्रलाई हस्तान्तरण गरेको केन्द्रका अध्यक्ष ईश्वरी प्रसाद लामिछानेले बताए ।

शौचालय सरसफाईका लागि २४ घण्टा नै खटिने गरी दुई जना स्वीपर नियुक्ति गरिएको उल्लेख गर्दै लामिछानेले शौचालयसँगै निर्माण भएको व्यवसायिक सटरबाट मासिक ४० हजार रुपैयाँ भाडा उठ्ने बताए ।

सटर भाडामा लगाएवापत भएको आम्दानीले नै कर्मचारीलाई तलब दिने तथा शौचालय सरसफाईका सामग्री किन्न सकिने लामिछानेको भनाइ छ । पूर्वपश्चिम राजमार्गमा रहेको टिकौली जंगललाई दिसापिसाब मुक्त घोषणा गर्नका लागि सो शौचालय निर्माण गरिएको रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष जनक पौडेलले बताए ।

चितवनमा सो शौचालय निर्माण भएसँगै पूर्व पश्चिम राजमार्गका जंगल क्षेत्र नजिक २० वटा थप शौचालय निर्माणका लागि रोटरी क्लबले काम थालेको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्