Logo

गुल्मीको व्यथा : प्राविधिक शिक्षा सञ्चालन गर्न दान माग्नै पर्ने, दानबाटै १२ करोड



Spread the love

७ बैशाख , गुल्मी – कुनै विद्यालयको वार्षिकोत्सव तथा शैक्षिक कार्यक्रममा नेताहरूले अहिलेको सैद्धान्तिक शिक्षालाई बेरोजगार उत्पादन गर्ने कारखाना भनेर संज्ञा दिन्छन् । यदि सैद्धान्तिक शिक्षा बेरोजगार उत्पादन गर्न शिक्षा हो भने यसको उपाय के छ त ? समाधान को बाट र कसरी ?

यदि प्राविधिक शिक्षा नै यसको समाधानको बाटो हो भने प्राविधिक शिक्षा सञ्चालन गर्न के कस्ता प्रक्रिया छन् कति अर्थ लाग्छ भन्ने तर्फ कसैको ध्यान जाँदैन । हो, यस्तै समस्या छ गुल्मीमा पनि ।

विक्रम सम्वत २०६८ सालको जनगणना अनुसार २ लाख ८० हजार १ सय ६० जनसङ्ख्या रहेको गुल्मीमा ७५% मानिसहरू साक्षर छन् । गुल्मीका नेताले सैद्धान्तिक शिक्षा बेरोजगार उत्पादन गर्ने कारखाना हो भन्ने कुरा त बुझे तर समाधानको बाटो के हो भनेर अझै सम्म बुझ्न भ्याएका छैनन् ।
तर, गुल्मीका जनता, शिक्षाप्रेमी, समाजसेवीहरूले समाधानको बाटो अहिले महायज्ञ गरेरै भए पनि अर्थ जुटाउन लागि परेका छन् ।

गुल्मीमा अहिले महायज्ञको लहर नै चलेको छ । रेसुङ्गा नगरपालिका स्थित उपल्लो तम्घास माध्यमिक विद्यालयले भदौ ३० गते देखी असोज ७ गतेसम्म महायज्ञको आयोजना गरी करिब ५४ लाख रकम सङ्कलन गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक राम मणि पन्थीले सल्लेरी खबरलाई बताए ।

त्यस्तै जिल्लाको ईस्मा गाउँपालिका वडा नम्बर २ स्थित पालुखा माध्यमिक विद्यालयले कक्षा १२ सम्म पढाई सञ्चालन गर्नुका साथै प्राविधिक शिक्षा सञ्चालन गर्न उद्देश्यले असोज २२ गते देखि ३० गते सम्म महायज्ञको आयोजना गरी रु ९७ लाख रकम सङ्कलन गरेको विद्यालयका प्रधानाध्यापक बाबुराम खत्रीले सल्लेरी खबरलाई बताए ।

यता जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर २ स्थित नेपाल राष्टिय त्रिभुवन माध्यमिक विद्यालयले माघ २१ गते देखि २९ गते सम्म हिरक महोत्सव सञ्चालन गरी १ करोड २८ लाख रकम सङ्कलन गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक तेज बहादुर महतले सल्लेरी खबरलाई जानकारी दिए । उक्त विद्यालयलाई एक रुपैयाँ देखि लिएर नगदमा २ लाख ६५ हजार सम्म सहयोग गरेको महतले बताए । त्यस क्षेत्रका सबै जनताले तन, मन र धनले सहयोग गरेका महतको बुझाई रहेको छ ।

साथै, वडा नम्बर १ स्थित जन ज्योति माध्यमिक विद्यालयले फागुन १ गते देखि ९ गते सम्म हिरक महोत्सवको आयोजना गरी १ करोड २० लाख रकम सङ्कलन गरेको विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद आचायले जानकारी गराए । उक्त विद्यालयलमा सबै भन्दा बढी रकम हवलदार डालेश्वर भुसालले १५ लाख १ हजार रुपैयाँ सहयोग गरेको थिए । अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने, पुस्तकालय, ल्याब व्यवस्थापन गर्ने अल्पकालीन उद्देश्य साथै कक्षा १२ सम्म अध्यापन गराउने र प्राविधिक शिक्षा सञ्चालन गर्ने दिर्घकालीन उद्देश्यले हिरक महोत्वसको आयोजना गरिएको आचार्यले सल्लेरी खबरलाई बताए ।

त्यस्तै वडा नम्बर ७ वामी स्थित महेन्द्र आदर्श माध्यमिक विद्यालयले फागुन १३ देखि २१ गते सम्म श्रीमद भागवत धन धान्याञ्चल ज्ञान महायज्ञ तथा हिरक महोत्सवको आयोजना गरी सात करोड रकम सङ्कलन गरेको हिरक महोत्सव मूल समारोह समितिका संयोजक प्रकाश काफ्लेले बताए ।

उक्त विद्यालयलाई मुसिकोट नगरपालिका वडा नम्बर सातका भुवन केसीले सबै भन्दा बढी सहयोग रु ५५ लाख ५५ हजार ५ सय ५५ आर्थिक सहयोग गरेका थिए । साथै, वडा नम्बर ८ का खिमानन्द खरेलले २५ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहयोग गरेको काफले सल्लेरी खबरलाई बताए । ‘सिपयुक्त जनशक्ति निर्माणको इच्छा, नगरभित्रै सर्वसुलभ प्राविधिक शिक्षा’ भन्ने नारासहित हिरक महोत्वको आयोजना गरिएको थियो । हिरक महोत्वसमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई देखि नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालासम्मको सहभागिता रहेको थियो ।

जिल्लाकै दरबार गाउँपालिका वडा नम्बर चार स्थित रुन्खादह माध्यमिक विद्यालयले प्राविधिक शिक्षा सञ्चालन गर्नको लागी चैत २३ गते देखि ३० गते सम्म महायज्ञ गरेको थियो । १ करोड २० लाख ५० हजार रकम सङ्कलन भएको महायज्ञको मूल समारोह समितिका संयोजक ठाकुर प्रसाद शर्माले सल्लेरी खबरलाई बताए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्