Logo

जुठो थाल सफा गर्न विप्लव पास



Spread the love

biplav

पार्टीको आठौं महाधिवेशन बन्दसत्रका लागि थवाङ पुगेका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूले खाएको जुठो थाल सफा गरे । उनले साबुन लगाएर मस्को लगाएको थालीलाई मेसमा खटिएका युवाले ओल्टाई पल्टाई हेर्थे कतै जुठो छ कि भनेर, थालमा जुठो भए फर्काउन बेर लाउँदैनथे पनि ।

‘धन्न फर्कनुपरेन । पुन सफा गर्नुपरेन, उहाँ पास हुनुभो’, मेसमा खटिएकी थवाङकी मगरभाषी एक युवतीले खस भाषामा बोलिन् । विप्लव पनि मुस्काए । थालीमा जुठो देखिएपछि पुन सफा गर्न परे फेल भएको भन्दै मेसमा हाँसोको फोहोरा नै छुट्ने गथ्र्यो ।

फागुन ५ १० सम्म थवाङमा सम्पन्न बन्दसत्र अवधिभर महासचिवले जुठो थाल सफा गर्दा फेल हुनु परेन । जुठो थाली मस्काउँदै गरेको दृश्य थवाङ पुगेको पत्रकारले क्यामेरामा कैद पनि गरेको  खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

महासचिव विप्लव र नेता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले थबाङको ठूलो गाउँको मेसमा खाना खाएर जुठो थाल सँगसँगै सफा गरे। दुवै जनाले थाल माझेर मेसमा बुझाए । मेसमा केहीबेरपछि हाँसोको फोहरा छुट्यो । कारण थियो, महिला नेतृ सम्झना घर्तीमगरले सफा गरेको थाल जुठो राम्ररी नपखालिएको भन्दै मेसका युवाले फिर्ता गरिदिए थिए । ‘म त एकपटक फेल भएँ,’ घर्तीमगरले भनिन्, ‘एक पटक फेल भएँ, पुनः थाली माझेपछि पास (सफल) भएँ ।’

थबाङ पुगेका आधा दर्जन पत्रकार थाल माझेर सफल भएपनि पत्रकार दिपेश पराईविष्टले असफल भए । विष्टको थाल जुठो भन्दै फिर्ता गरिएपछि हाँसो चल्यो फेरि । यस्तो दृश्य बन्दसत्र अवधिभर चलिरह्यो थबाङमा । महासचिव विप्लवले मात्र होइन थबाङ पुगेका एक हजार प्रतिनिधि पर्यवेक्षक सबैले आफूले खाएको थाल माझेर फर्किए । सयौंका थाल जुठो भनेर फर्काइए । जुठो थाल पुनः सफा गर्न फर्किने डरले सबैजसोले सावुन डलेर वेस्सरी मस्को लगाएर बाझेको देखियो।

बन्दसत्रका प्रतिनिधि पर्यवेक्षक र पाहुना लागि पाँच वटा मेस संचालन गरिएका थिए । कार्यकर्ता र थबाङी मेसमा खटिएका थिए । मेसमा भात, दाल, तरकारी थियो । कहिले काही खसी र रांगाको मासु समेत व्यवस्था थियो । प्रतिनिधि पर्यवेक्षकले आफूले खाने थाल समेत घरबाट नै बोकेर ल्याएका थिए । प्रत्येकले थाली ल्याएकाले र जुठो थाली स्वयम् मस्काएकाले थोरै जनशक्तिले पनि मेस व्यवस्थापन सहज बनेको जिल्ला पार्टी सचिव दलबहादुर खत्रीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्