Logo

अब नेपालमा युरो–४ इन्धन : युरो–४ इन्धनका फाइदा यस्ता छन्



Spread the love

euro-4

नेपाल आयल निगमले १९ चैत (१ अप्रिल)देखि भारतबाट युरो–४ मापदण्डको इन्धन आयात गर्ने भएको छ । निगमले भारतीय आयल कर्पोरेसन (आइओसी)सँग आगामी ५ वर्षका लागि मार्चमा इन्धन खरिद सम्झौता नवीकरण गर्दै छ । सम्झौता नवीकरणपछि १ अप्रिलबाट युरो–४ मापदण्डको पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन आयात हुनेछ । हाल युरो–३ मापदण्डको इन्धन आयात र वितरण भइरहेको खबर आजको नयाँ पत्रिकामा छ ।

आयल निगमका प्रवक्ता भानु खनालले इन्धन सम्झौता नवीकरणको आवश्यक तयारी भइरहेको बताए । उनले भने, ‘अहिलेसम्म सम्झौता नवीकरणका लागि २ पटक औपचारिक छलफल भएको छ, हालको सम्झौता मार्च महिनामा सकिन्छ । त्यसैले मार्चमै नयाँ सम्झौता गरी १ अप्रिलबाट युरो–४ मापदण्डको इन्धन आयात गर्ने समझदारी भएको छ ।’ भारतले सन् २०१७ बाट युरो–३ मापदण्डको इन्धन प्रयोगमा प्रतिबन्ध लगाई युरो–४ प्रयोग गर्ने घोषणा गरिसकेको छ । त्यसैले नेपालले पनि युरो–४ मापदण्डकै इन्धन आइओसीबाट ल्याउन लागेको हो । युरो–४ मापदण्डको इन्धन प्रयोग भएको सवारीसाधनले तुलनात्मक रूपमा कम धुवाँ फाल्छन्, जसकारण प्रदूषण न्यूनीकरणमा फाइदा पुग्छ । ‘काठमाडौँ सहरजस्तो प्रदूषित सहरका लागि युरो–४ मापदण्डको इन्धनले धेरै फाइदा पुग्छ,’ खनाले भने ।

प्रदूषण कम, सवारीको आयु बढ्ने : युरो–४ मापदण्डको इन्धन प्रयोग भएको सवारीसाधनले धुवाँ कम फाल्ने भएका कारण वातावरण प्रदूषणमा कमी आऊ“छ । त्यस्तै, सवारीसाधनको आयुसमेत बढ्छ । अहिले व्यवसायीले युरो–४ मापदण्डको इन्जिनयुक्त गाडी भिœयाइरहेका कारण पनि यही मापदण्डको इन्धन ल्याउँदा थप फाइदा हुने देखिन्छ । यद्यपि, युरो–४ मापदण्डको इन्धन मूल्य युरो–३ भन्दा महँगो पर्ने गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए । ‘युरो–४ मापदण्डको तेल उत्पादन गर्न प्रशोधन लागत नै बढी हुन्छ,’ उनले भने, ‘यस्तो तेल प्रयोग भएको सवारीले प्रदूषण कम गर्ने, आयु बढी हुने हुन्छ । काठमाडौँजस्तो प्रदूषण बढी भएको सहरका लागि त युरो–४ को तेल नै ठिक हुन्छ ।’

चीनबाट आएको थियो : गत वर्ष भारतीय नाकाबन्दीका समयमा चीनबाट १३ लाख लिटर पेट्रोल आयात भएको थियो । उक्त पेट्रोल युरो–४ मापदण्डको थियो । इन्धन लिन चीन गएको नेपाली टोलीले युरो–३ मापदण्डको आयात गरिरहेको कारण देखाउँदै सोही मापदण्डको पेट्रोल उपलब्ध गराउन आग्रह गरेको थियो । तर, चीनले सन् २०१७ देखि युरो–३ उत्पादन बन्द गरी युरो–४ मापदण्डको तेललाई अनिवार्य गर्न लागेको भन्दै युरो–३ को तेल दिन नसक्ने जवाफ दिएको थियो । सो पेट्रोल उपत्यकाका निजी सवारीसाधनलाई मात्रै वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्