Logo

३३ किलो सुन तस्करीका नाइके पक्राउ



Spread the love

sun-taskari

अन्तरराष्ट्रिय विमानस्थल हुँदै सुन तस्करीमा संलग्न चार नाइके पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइवीले मंगलबार राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठलाई पक्राउ गरेको हो ।

सीआइबीका अनुसार उनीहरु ५५ दिनअघि बरामद साढे ३३ किलो सुन तस्करीमा संलग्न थिए । पक्राउ परेका मध्ये केहीले भारतमा सुन पठाउने र केहीले नेपालकै सुन पसलमा बेच्दै आएका थिए । उनीहरुको अनुसन्धानबाट सुन पसलको पहिचान खुल्ने प्रहरीलाई उधृत गर्दै नयाँ पत्रिकाले लेखेको छ ।

अनुसन्धान अन्तिम चरणमा
सिआइबी निर्देशक डिआइजी नवराज सिलवालले तस्करीमा संलग्न थप व्यक्तिलाई पक्राउ गरिएको बताए । ‘सुन तस्करीको अनुसन्धान अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘आइतबारसम्म अनुसन्धान पूरा गरी मुद्दा दायरको प्रक्रियामा जान्छौँ ।’ मुख्य नाइके अझै फरार छन् । तस्करीमा संलग्न प्रमोद श्रेष्ठलगायत व्यापारी दुबईमा रहेको प्रहरी स्रोतले बतायो । एयरपोर्टका भन्सार कर्मचारी तथा प्रहरीको मिलेमतोमा लामो समयदेखि दुबईबाट नेपालमा सुन तस्करी हुँदै आएको थियो । सिआइबीले गत २१ पुसमा दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको साढे ३३ किलो सुन बरामद गरेको थियो ।

एसएसपी श्याम खत्री सिआइबी हिरासतमै
अनुसन्धानका क्रममा भन्सार र प्रहरीकै मिलेमतो रहेको खुलेपछि एयरपोर्टका प्रहरी र भन्सारका कर्मचारीसमेत पक्राउ परेका छन् । एसएसपी श्याम खत्री सुन तस्करीको मिलेमतोकै आरोपमा सिआइबी हिरासतमा छन् । भन्सारका कर्मचारीहरू श्रीनारायण यादव, राजकुमार ढकाल र श्यामकृष्ण श्रेष्ठ पक्राउ परिसकेका छन् ।

तस्करीमा संलग्न भएको आरोपमा विभागका ६ कर्मचारी निलम्बनमा परेका छन् भने अरू ३० जनालाई जिम्मेवारीबाट हटाई विभागमा हाजिर गराइएको छ ।  पक्राउ परेका सबैलाई संगठित अपराध मुद्दामा सिआइबीले अनुसन्धान गरिरहेको छ । विगतमा सुन बरामद भएलगत्तै भन्सार तथा राजस्व कार्यालयमा बुझाउने गरिएकोमा यसपटक प्रहरीले उनीहरूमाथि संगठित अपराध मुद्दामा अनुसन्धान अघि बढाएकाले सञ्जालमा संलग्न व्यक्तिहरू पक्राउ परेका हुन् ।

तस्करका मुख्य एजेन्ट रामकृष्ण कार्की पनि सिआइबी हिरासत छन् । सुन तस्करीमा भरियाका रूपमा काम गर्ने दिलबन्धु थापा, सन्तोष काफ्ले र गोपालबहादुर शाहीलाई २१ पुसमै सिआइबीले पक्राउ गरेको थियो । मुख्य एजेन्ट कार्कीले उत्तरढोकास्थित दरबार दोहोरी साँझबाट विभिन्न सुनपसलमा त्यसरी तस्करीको सुन बिक्री गर्दै आएका थिए । तस्करी गरेर भित्राउँदा एक किलो सुनमा व्यापारीले आठ लाख रुपैयाँसम्म नाफा कमाउने गरेका छन् । उनीहरूले एकैपटकमा ३० किलो सुनसम्म विमानस्थलबाट भित्राउने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्