Logo

भूकम्प गएको चार वर्ष बित्यो, कस्तो छ गुल्मीको पुनः निर्माणको अवस्था ?



Spread the love
सल्लेरी खबरसँग कुराकानी गर्ने क्रममा निमित्त कार्यलय प्रमुख दधिराम मरासिनी

१२ बैशाख, गुल्मी – आज अर्थात् बैशाख १२ गते विनाशकारी भूकम्प गएको चार वर्ष बितेको छ । २०७२ साल वैशाख १२ गते आजकै दिन गोरखाको बारपाकमा केन्द्र भई गएको विनाशकारी भूकम्पका कारण धेरैले अकालमै ज्यान गुमाएका थिए  भने हजारौँ अहिले पनि शारीरिक रूपमा अशक्त भएका छन् ।

गुल्मीमा पनि त्यस विनमशकारी भूकम्पको हलचलले मानवीय क्षति नभएता पनि भौतिक रूपमा भने ठुलो क्षति व्यहोर्नुपर्यो । जिल्लाका हालका कालीगण्डकी गाउँपालिका, मुसिकोट नगरपालिका र धुर्कोट गाउँपालिकाले भूकम्पको सबै भन्दा धरै क्षति व्यहोरे ।

गुल्मी जिल्लामा अहिले सम्मको तथ्याङ्कलाई नियाल्दा ४ हजार १ सय ४४ घर पूर्ण रूपमा क्षति भएका थिए भने १ सय १३ वटा विद्यालय भवनमा पनि क्षति पुर्याएको थियो । ४ हजार १ सय ४४ घर पूर्ण रूपमा घर क्षति भए पनि अहिलेसम्म १ हजार  १ सय २९ घर मात्र पूर्ण रूपमा निर्माण सम्पन्न भएका छन् । अर्थात् १ हजार १ सय २९ घर परिवारले मात्र तेस्रो किस्ता बापतको रकम लिएका छन् ।

गुल्मीमा पहिलो किस्ता स्वरूप पाउने ५० हजार रकम रू ३ हजार ९ सय ५२ जनाले लिएका छन् भने दोस्रो किस्ता स्वरूप पाउने १ लाख ५० हजार रकम २ हजार ३ सय ५१ जनाले लिएका छन् ।त्यस्तै, अन्तिम तथा तेश्रो किस्ता स्वरूप पाउने १ लाख रकम १ हजार १ सय २९ घर परिवारले लिएका छन् ।

यसैगरी सबलीकरणका १ सय ९५ घर परिवार मध्ये २२ घर परिवारले राहत रकम लिएको पुनः निर्माण प्राधिकरण गुल्मीका निमित्त कार्यालय प्रमुख दधिराम मरासीनीले बताएका छन् । त्यसैगरी  २ जना भूकम्प पिडीतले राहत रकमको पहिलो किस्ता बापतको रकम फिर्ता गरेका छन् ।

सरकारले दिएको ३ लाख राहत रकमले सरकारले भने अनुरूप घर बनाउन नसकिने हुँदा रकम फिर्ता गरेको र क्रमशः किस्ता लिनेको सङख्या पनि घट्दै गएको पुनः निर्माण प्राधिकरण गुल्मीको आँकलन  रहेको छ ।

त्यस्तै, जिल्लामा क्षति भएका १ सय १३ वटा विद्यालय मध्ये सरकारले ४३ वटा विद्यालयमा मात्र रकम विनियोजन गरी अहिले सबै विद्यालय भवन निर्माणाधीन अवस्था रहेको र यही आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्