Logo

स्वयम्भूमा गोली हानेर अपहरणकारी पक्राउ



Spread the love

durga-tamang

प्रहरीलाई शुक्रवार दिउँसो खबर आयो, बौद्धबाट तीन युवकलाई अपहरण गरी ६ लाख रुपैयाँ फिरौती मागिएको छ । तत्कालै अपहरित व्यक्तिका आफन्तलाई लिएर प्रहरीले अनुसन्धान अघि बढायो । अपहरणकारीले फिरौती लिएर कहिले गोंगबु, कहिले हलचोक त कहिले सतुंगल बोलाए । तर, आफूले बोलाएको ठाउँमा भेट्न मानेनन् । प्रहरी शुक्रवार रातभर विभिन्न ठाउँमा अपहरणकारीका आफन्तलाई लिएर पुग्यो, तर उनीहरूले भेट्न मानेनन् । पैसाका साथै प्रहरी पनि लिएर आएको आशंकामा भेट्न डराए । राति ११ बजे भोलि बिहान (शनिवार) भेटेर पैसा लिने र अपहरणकारीलाई रिहा गर्ने सहमति भएको खबर आजको नयाँ पत्रिकामा छ ।

तिघ्रामा गोली हानेर पक्राउ : बिहानै भेट्ने सहमति भएकोमा दिउँसो मात्र भेट्न उनीहरू तयार भए । स्वयम्भूको भगवानपाउमा फिरौती लिएर आउन भने । प्रहरी आउन सक्ने डरले अपहरणकारीमध्ये जीवन भनिने दुर्गाबहादुर तामाङ पिस्तोल लिएरै गएका थिए । पीडितका आफन्तसँगै पछाडि सादा पोसाकका प्रहरीसमेत देखेपछि उनी फायर गरेर भाग्न खोजेका थिए, तर प्रहरीको काउन्टर फायरमा गोली लागेर उनी ढले । तिघ्रामा गोली हानेर प्रहरीले उनलाई नियन्त्रणमा लियो । उनी पक्राउ परेलगत्तै वीरबहादुर तामाङ, सचिन खवास र पदमबहादुर तामाङ पक्राउ परेका छन् ।

अपहरणमा परेका मानदोर्जे तामाङ, कुमार तामाङ र विशाल तामाङ प्रहरीले उद्धार गरेको छ । उनीहरू बौद्ध बस्ने भएकाले त्यहाँबाट अपहरणमा परेको आशंका गरिएको थियो । तर, उनीहरू बालाजुबाट अपहरणमा परेको खुल्यो । अपहरणकारीलाई प्रहरीले खुसिंबी टाउन प्लानिङको भ्याली कोल्ड स्टोर नजिकैबाट मुक्त गराएको छ । पैसा लिनेवित्तिकै उनीहरूलाई रिहा गर्न त्यहाँ ल्याइएको थियो । महानगरीय अपराध महाशाखाका डिएसपी अजय केसी नेतृत्वको टोलीले पीडितहरूको सकुशल उद्धार गरी अपहरणकारीहरूलाई पक्राउ गर्न सफल भयो । गोली लागेर घाइते तामाङको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सल्लाह गर्न बोलाएर अपहरण : महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीका अनुसार अपहरणमा ६ जनाको समूह संलग्न थियो, जसमध्ये पाँचजना नुवाकोट हुन् । मानदोर्जे, कुमार र विशाल व्यापार गरेर पैसा कमाउन थालेको उनीहरूले सुनेका थिए । तीनैजना बिहीबार नुवाकोटबाट फर्कंदै थिए । बालाजुको गङ्गा हल नजिकै आइपुगेपछि उनीहरूले व्यापारबारे सल्लाह गर्न भन्दै नजिकैको होटेलमा लिएर गए । होटलको कोठामा पुर्‍याएपछि हतियार देखाएर बन्धक बनाए । सुरुमा उनीहरूको मोबाइल र पैसा लुटेकोमा बन्धक बनाएर आफन्तलाई फोन गर्न लगाई थप पैसा मागेका थिए । अपहरणमा परेकामध्ये मानदोर्जेसँग पैसा भएकाले उनलाई लक्षित गरी अपहरण गरेका थिए ।

जेलमै चिनजानपछि आपराधिक कर्ममा : अपहरणकारीहरू आपराधिक पृष्ठभूमिका व्यक्तिहरू भएको अपराध महाशाखा प्रवक्ता प्रहरी एसपी कार्कीले बताए । गोली लागेर घाइते भएका अपहरणका आरोपी दुर्गा लाल नवलपरासीमा डकैतीको मुद्दामा जेल परेका थिए । उनलाई १० वर्ष कैद सजाय भएको थियो । अरू पनि हातहितयार, चोरी र डकैती मुद्दामा जेल परेका व्यक्ति हुन् । ‘अपहरणकारीको ६ जनाको समूह देखिन्छ,’ उनले भने, ‘जेलमै चिनजान भई उनीहरूले यस्तो अपराधको योजना बनाएको जस्तो देखिन्छ ।’ पक्राउ परेकामध्ये जीवन भन्ने दुर्गबहादुर घटनाका नाइके भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्