Logo

१० बलिउड फिल्महरू, जो विश्वविख्यात शेक्सपियरका चर्चित नाटकबाट बनेका थिए !



Spread the love

असल सृजना असामयिक हुन्छन्, समयको सुईले जति सुकै खिया लाउन खोजे पनि यी झन्झन् चम्किला हुँदै जान्छन् । बहसमा आइरहन्छन्, सम्झनामा आइरहन्छन् । अमरत्व पाइरहन्छन् । यस्तै सृजनाका सर्जक मध्ये पर्छन् – कवि तथा नाटककार विलियम शेक्सपियर

आफ्नो जीवनकालभर उनले जम्मा ३७ नाटक लेखेका थिए, जसमा मुलतः इतिहास, कमेडी र ट्र्याजेडी मुख्य विषयवस्तुको रुपमा रहेको पाइन्छ । उनका कविता र नाटकहरू शताब्दी बितिसक्दा पनि अझै विश्वभर लोकप्रिय छन्, पढिइरहेका छन्, सम्झिइरहेका छन् । फिल्म, नाटक, पेन्टिङ, गीत-संगीत कहाँ-कहाँ मात्र छैनन् शेक्सपियर ? यस्तो महफिलमा बलिउड के अछुतो हुन सक्थ्यो र !

यहाँ ती केही बलिउड फिल्महरूबारे चर्चा गरिएको छ, जुन उनै विश्वविख्यात शेक्सपियरका चर्चित नाटकहरूमा आधारित भएर बनेका थिए ।

१. हैदर

विशाल भारद्वाज कृत ‘हैदर’ फिल्म शेक्सपियरको चर्चित ‘हेम्लेट’ मा आधारित भएर बनेको थियो । यसमा शाहिद कपुर, तबु, के के लगायतका कलाकारले अभिनय गरेका छन् । यसले थुप्रै अवार्डहरू जित्नुका साथै बक्स अफिसमा पनि राम्रै कमाई गरेको थियो ।

२. ओमकारा

विशाल भारद्वाज कै अर्को फिल्म ‘ओमकारा’ पनि शेक्सपियरको नाटकमा आधारित थियो । यो ‘ओथेलो’ को बलिउड रुपान्तरण हो । यसमा अजय देबगन, सैफ अलि खान, करिना कपुर, विवेक ओबरोय, लगायतको अभिनय रहेको छ ।

३. इशक्जादे

हबिब फैसल निर्देशित २०१२ को बलिउड फिल्म ‘इशक्जादे’ शेक्सपियरको सर्वाधिक लोकप्रिय नाटक ‘रोमियो एण्ड जुलियट’ मा आधारित छ । यसमा अर्जुन कपुर र परिणिति चोपरा मुख्य भुमिकामा छन् ।

४. गोलियों की राशलीलाः रामलीला

दीपिका पादुकोण र रणवीर सिंह मुख्य भुमिकामा रहेको सञ्जय लीला भन्साली निर्देशित ‘गोलियों की राशलीलाः रामलीला’ फिल्म शेक्सपियरको चर्चित नाटक ‘रोमियो एण्ड जुलियट’ मै आधारित थियो । यो फिल्ममा बलिउडमा हिट फिल्मको रुपमा चिनिन्छ ।

५. मक्बुल

फेरी पनि विशाल भारद्वाज कै निर्देशनमा बनेको ‘मक्बुल’ मा इर्फान खान, पंकज कपुर, तबु लगायतको भुमिका रहेको छ । यो शेक्सपियरको नाटक ‘म्याकबेथ’ बाट बनेको थियो ।

६. कयामत से कयामत तक

सन १९८८ को ब्लकबस्टर फिल्म ‘कयामत से कयामत तक’ पनि शेक्सपियर कै नाटक ‘रोमियो एण्ड जुलियट’ बाटै बनेको थियो । मन्सुर खान निर्देशित यस फिल्ममा आमिर खान र जुही चावला मुख्य भुमिकामा छन् ।

७. १० एमएल लभ

टिस्का चोपरा, निल भुपलम, अनुशा बोस, रजत कपुर लगायतको अभिनय रहेको फिल्म ‘१० एमएल लभ’ मा शरत कटारियाको निर्देशन रहेको छ । यो शेक्सपियरको नाटक ‘अ मिड समर्स ड्रिम’ बाट एड्याप्ट गरिएको थियो ।

८. दो दुनी चार

गुल्जारको निर्देशनमा बनेको ‘दो दुनी चार’ शेक्सपियरको नाटक ‘द कमेडी अफ इरर्स’ मा आधारित भएर बनेको थियो । यसमा किशोर कुमार र अजित शेन लिड रोलमा छन् ।

९. इश्शक

सन २०१३ को मनिश तिवारी निर्देशित फिल्म ‘इश्शक’ पनि शेक्सपियरको नाटक ‘रोमियो एण्ड जुलियट’ मै आधारित भएर बनेको थियो । यसमा प्रतिक बबार, राजेश्वरी सचदेव, रवि किशन लगायतको अभिनय रहेको छ ।

१०. अंगूर

सन १९८२ मा गुल्जारले अर्को फिल्म पनि निर्देशन गरे – ‘अंगूर’ । यो उही ‘दो दुनी चार’ को सिक्वेल फिल्म थियो । यसलाई पनि उनले शेक्सपियरको नाटक ‘द कमेडी अफ इरर्स’ बाट एड्याप्ट गरेका थिए ।

(एजेन्सीको सहयोगमा)

तस्बिर स्रोतः गुगल डट कम

प्रस्तुतिः फुच्चे प्रमोद

०००

०००

प्रतिक्रिया दिनुहोस्