Logo

सप्तरीमा मोर्चा कार्यकर्ताद्वार पेट्रोल बम प्रहार



Spread the love

saptari-jhadap

सप्तरी झडपपछि आक्रोशित मधेसी मोर्चाका कार्यकर्ताले सप्तरी र आसपासका जिल्लामा मङ्गलवार दिनभर प्रदर्शन र नाराबाजी गरेका छन् । गृह मन्त्रालयले प्रजिअ उद्धव तिमिल्सिना, प्रहरी प्रमुख एसपी दिवेश लोहनी र सशस्त्र प्रहरी प्रमुख एसपी जयबहादुर खड्कालाई मन्त्रालयमा तानेको छ । गृहले सप्तरीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीलाई पनि फिर्ता बोलाएको छ ।मन्त्रालयले अर्घाखाँचीका प्रजिअ कृष्ण कटुवाललाई निमित्त प्रजिअ, अनुराग द्विवेदीलाई प्रहरी प्रमुख र रामआधार यादवलाई सशस्त्र प्रहरी प्रमुखको जिम्मा दिएको जानकारी मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले दिएको खबर आजको अन्नपूर्ण पोस्टमा  छापिएको छ ।

स्थिति सामान्य बनाउन निर्देशन
गृहमन्त्री विमलेन्द्र निधिले मङ्गलवार बिहान तीनवटै सुरक्षा निकायका प्रमुखलाई घटनापछि सप्तरीमा उत्पन्न स्थिति सामान्य बनाउन निर्देशन दिएका छन् । गृहमन्त्रीले प्रहरी मुख्यालय नक्सालमा तीनै सुरक्षा प्रमुखबाट घटनाको ब्रिफिङ लिँदा यस्तो निर्देशन दिएका हुन् । बैठकमा नेपाल प्रहरीका कार्यवाहक प्रमुख डा. दिनेशचन्द्र पोखरेल, सशस्त्रका प्रमुख सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलीप रेग्मीलगायत उपस्थित थिए ।

मङ्गलवार पनि झडप
सदरमुकाम राजविराजमा अनिश्चितकालीन बन्द आह्वान गर्दै प्रदर्शनमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच अदालत रोडमा मङ्गलवार पनि झडप भएको छ । प्रदर्शनकारीले ढुङ्गा हानेपछि प्रहरीले तीन सेल अ श्रुग्यास प्रहार गरेको छ । मोर्चाका कार्यकर्ताले बिहानैदेखि राजविराजसहित विभिन्न बजारका चोकमा टायर बालेर सरकार र स्थानीय प्रशासनको विरोधमा चर्को नाराबाजी गर्दै प्रदर्शन गरे ।

आक्रोशित प्रदर्शनकारीले एमाले आमसभाको कार्यक्रमस्थल रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तोडफोड गरी आगो लगाएका छन् । उनीहरूले मिलन डेरी उद्योगमा ढुङ्गा प्रहार गरी सिसाहरू फुटाएका छन् । दिउँसो औद्योगिक क्षेत्रको कार्यालय प्रमुखको कार्यकक्षमा आगो लगाएका प्रदर्शनकारीले साँझ पुनः उनको निवासमा आगो लगाएका छन् ।

औद्योगिक क्षेत्रको मुख्य गेटअगाडि बमजस्तो देखिने दुई थान शंकास्पद वस्तु र सात दशमल ६२ को तीन राउन्ड गोली फेलापरेको सुरक्षा स्रोतले जनाएको छ । यस्तै मोर्चाका कार्यकर्ताले राजविराज ६ मा रहेको स्थानीय शान्ति समितिको कार्यालयमा आगो लगाएका छन् । मोर्चा कार्यकर्ताले राजविराजमै रहेको जिल्ला बन कार्यालय र क्वार्टरमा पनि आगो लगाउने प्रयास गरे । उनीहरूले राजविराजस्थित दूरसञ्चार कार्यालय र नगरपालिका कार्यालयमा ढुङ्गा प्रहार गरी सिसा फुटाएका छन् भने राष्ट्रिय वाणिज्य बैङ्कमा पेट्रोल बम प्रहार गरेका छन् । राजविराज ८ मा सशस्त्र प्रहरी सवार स १ प ५८४४ नम्बरको मोटरसाइकलमा आगो लगाइएको छ ।

प्रदर्शनकारीले भारदह १ कोसी ब्यारेजस्थित सशस्त्र प्रहरीको चेक पोस्टमा समेत आगो लगाएका छन् । मोर्चाका एक कार्यकर्ताले अधिवक्ता सुजित पोखरेललाई उनको ल फर्म अगाडि मोसो दलेर भागेका छन् ।

प्रहरीसँगको झडपमा गोली लागेर सप्तरी जिल्ला बार एकाइका कोषाध्यक्ष दिगम्बर यादव गम्भीर घाइते भएपछि आक्रोशित कानुन व्यवसायीले राजविराजमा मौन जुलुस प्रदर्शन गरेका छन् । घटनाको विरोधमा नयाँ शक्ति पार्टीले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै राजविराजमा प्रदर्शन गरेको छ । मोर्चा बैठकले एमालेका समर्थकलाई सप्तरी जिल्लामा सामाजिक बहिष्कार गर्न आह्वान गरेको छ । मोर्चा बैठकले प्रहरीको गोलीबाट मारिएका तीनैजनालाई सहिद घोषणा, परिवारलाई राहत तथा पीडित परिवारका एक सदस्यलाई सरकारी जागिर दिन माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्