Logo

प्रधानमन्त्री पुष्पकमल दाहाल : ‘मधेसको समस्या समाधान गर्न सरकार गम्भीर’



Spread the love

prachanda-e1468313799387

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसका समस्या समाधान गरेर अघि बढ्न सरकार तयार रहेको बताएका छन् । दोलखाको घ्याङसुकाठोक्कर गाविस– ५ स्थित काकलिङ गुम्बाको मङ्गलवार उद्घाटन गर्दै प्रधानमन्त्रीले मधेसका जायज मुद्दा सम्बोधन गर्न संविधान संशोधन विधेयक पारित गरी सबैलाई मिलाएर निर्वाचनमा लैजाने सरकारको प्रयास जारी रहेको बताएको खबरआजको नयाँ पत्रिकामा छापिएको छ ।

निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन गर्नु तथा मधेस, पहाड र हिमाललाई मिलाएर विकासको दिशातर्फ अघि बढाउनु सरकारको प्राथमिकता रहेको उनले प्रस्ट पारे । सरकारले उच्च सतर्कता अपनाउ“दा–अपनाउँदै सप्तरीमा सोमबार तीनजनाको ज्यान जाने घटना भएको भन्दै प्रधानमन्त्रीले आगामी दिनमा त्यस्ता घटना हुन नदिन सरकार चनाखो रहेको दाबी गरे ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले सरकार निर्धारित मितिमा स्थानीय तहको निर्वाचन गर्न प्रतिबद्ध रहेको भन्दै कुनै पनि बहानामा निर्वाचन नरोकिने जिकिर गरे । ३१ वैशाखमा स्थानीय तहको निर्वाचन भएरै छाड्ने दृढता व्यक्त गर्दै उनले निर्वाचनको तयारीमा जुट्न राजनीतिक दलका नेता, कार्यकर्ता र सर्वसाधारणलाई आग्रह पनि गरे । ‘हरहालतमा निर्वाचनमा अघि बढाउने सरकारको प्रतिबद्धता हो,’ प्रधानमन्त्रीले भने, ‘आमनेपाली जनतासमेत निर्वाचनको पक्षमा रहेकाले निर्वाचन रोकिँदैन । संविधानले तोकेको समयसीमाभित्रै तीनवटै तहको निर्वाचन सम्पन्न हुन्छ ।’

निर्वाचनको सबै तयारी पूरा गरी निर्वाचन आयोगलाई साढे १० अर्ब बजेट निकासा दिइसकेको र स्थानीय तहको सङ्ख्यासमेत यकिन भइसकेकाले अब निर्वाचन नरोकिने प्रधानमन्त्रीले दाबी गरे । प्रधानमन्त्री प्रचण्डले जग्गा नापी नभएर लालपुर्जाविहीन भएका दोलखाको भेडपु गाविसका बासिन्दाको समस्या चाँडै समाधान गरी लालपुर्जा पाउने वातावरण निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्