Logo

विदेश पुगेर पनि नेपाली नम्बरबाटै कल गर्न सकिने



Spread the love

१६ बैशाख, काठमाडौं ।

नेपाल टेलिकमले प्रिपेड मोबाइलमा सोमबारदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ ।

प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सक्ने छन् । नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सक्ने छन् ।

त्यसैगरी त्यही मोबाइलबाट चीन वा भारतका स्थानीय मोबाइल अपरेटरका नम्बरमा समेत कल गर्न सक्ने प्रवक्ता वैद्यले जानकारी दिए। ‘चीनमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट रु ५० लाग्नेछ भने चीनबाट नेपालमा कल गर्दा प्रतिमिनेट रु ९० लाग्ने छ,’ प्रवक्ता वैद्यले भने ।

त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट रु ५३ लाग्नेछ । भारतमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट रु ३० लाग्नेछ भने भारतबाट नेपालमा कल गर्दा प्रतिमिनेट रु ३० लाग्ने छ ।

नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट रु १४ लाग्ने छ । भारत वा चीनबाट नेपालबाहेकका देशमा कल गर्दा प्रतिमिनेट रु ३९७ लाग्ने छ भने एसएमएसको हकमा चीनबाट नेपाल पठाउँदा प्रतिएसएमएस रु ५४ र भारतबाट प्रति एसएमएस रु २४ लाग्ने छ । एसएमएस प्राप्त गर्न कुनै शुल्क लाग्ने छैन ।

कम्पनीको वार्षिकोत्सवको अवसरमा गत माघ २२ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ’ सेवाको शुभारम्भ गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्