Logo

रौतहटको एउटा यस्तो नगरपालिका जहाँ एउटा सिफारिस लिन मात्र महिनौ लाग्छ



Spread the love

 

१६ वैशाख, रौतहट ।
रौतहट जिल्लाको सबैभन्दा अविकसित नगरपालिकाको रुपमा रहेको फतुवा विजयपुर नगरपालिकाका अधिकाशं वडा कार्यालयहरुमा जनप्रतिनिधि तथा कर्मचारी नबस्दा सेवाग्राही मर्कामा परेका छन् । नगरपालिकाको वडा १, २, ३ र ४ कार्यालयमा वडा अध्यक्ष, वडा सचिव लगायत कोही पनि कर्मचारी नबसेको भन्दै स्थानीयले गुनासो पोखेको छ ।

फतुवा विजयपुर नगरपालिका १ न वडाको कार्यालयमा स्थानीय सिफारिस लिन जादा दिउसै बन्द हुने गरेको छ । त्यस्तै वडा न २ को कार्यालय पनि प्राय बन्द हुन्छ भने वडा ३ को कार्यालय सँधैजसो बन्द रहन्छ । स्थानीयले वडा कार्यालय बन्द हुँदा नागरिकताको सिफारिस बनाउन नपाएको एक महिना भन्दा बढी भएको बताउँछन् । सेवाग्राही पुगेर फोन गर्दै बोलाउनुपर्छ । फोन गरेपछि मात्रै वडा कार्यालयमा कार्यालय सहयोगी आउँछन् । यहाँका सेवाग्राहीले समेत एक महिनादेखि वडा कार्यालयबाट सेवा पाएका छैनन् ।

कार्यालय सहयोगीका अनुसार वडा कार्यालयमा उनी बाहेक अरु कोही आउँदै आउँदैनन् । र यी कुनै पनि वडा कार्यालयमा वडा कार्यालयको बोर्ड छैन । सबै कार्यालयमा वडा कार्यालयका बोर्ड कुनामा थन्किएका छन् । बोर्ड राख्ने किल्ला नभएकाले नझुन्डाएको कार्यालय सहयोगीको तर्क रहेको छ ।

वडा कार्यालयको त के कुरा, वडा अध्यक्षहरुलाई हामीले दिनैभर फोन सम्पर्क गर्दा कुनै पनि वडा अध्यक्षको फोन सम्पर्क भएन ।

-> अखिलेस कुमार यादव

प्रतिक्रिया दिनुहोस्