Logo

पसिनाको चिया



Spread the love

“मैदान आयो !”

मालिक ! हेर्नुहोस् त मैदान आयो । काटेर अजङ्गको उकालो । भत्काएर अस्प्ष्टताको ठूलो पर्खाल । नाँघेर अपरिपक्वताको सिङ्गो सीमा- मैदान आयो ।

हजुरलाई काँधमा अनि जिम्मेवारीलाई दिमागमा एकैपल्ट बोकेर उकालो चढ्दै गर्दा लर्खराएका हुन् मेरा खुट्टाहरू । त्यही समयमा देखेका हुन् हिउँदमा पानी नपाएर चिरा परेका बन्जर जमीन जस्तै मेरा गालामा सिंचाई गर्ने दुई थान नयनरूपी हिमतालहरूले- “ओजोन तह हुँदै उडिरहेको विशाल माहुरी !”

आकाशतर्फ सोझिएको हवाईजहाज, एकनासले घुम्दै गरेको घिर्नी; यिनीहरूले थोरै मात्र बाटो बदले भने ?

जिम्मेवारी पूरा नगर्नु असक्षम ठहरिनाको भाव हो । मलाई असक्षम मान्छेको ट्याग भिर्न मन पर्दैन । र तत्क्ष्ण चिम्लिएको हूँ आँखा । परेको हूँ मालिककै शरणमा । रोकेको हूँ स्वयंले स्वयंलाई ।

कहिलेकाहीँ मनमा बनेको सगरमाथा पग्लिएर भरिन्छन् हिमतालहरू र बगाइदिन्छन्  पीडाका हिमोढ र  गरिबीका हिमशिला सँगै म स्वयमलाई पनि । त्यतिबेला भने म आफूले आफैंलाई रोक्न असक्षम हुने गर्छु । तर मालिक ! यो त जलवायु परिवर्तनको असर हो । पृथ्वीको जलवायु परिवर्तनका कारक तत्व सबैलाई थाहा छ । जिन्दगीको जलवायु परिवर्तनका कारक तत्वहरू पनि तीनै हुन् । नाम फरक होला; काम एउटै हुन्छ ।

वि.सं. २००७ सालको घोषणा एवम् परिकल्पना बोकेर संविधान सभाद्वारा नै संविधान जारी गर्ने अभीष्ट शिरमा राखेर दौडिएको देशले अनेक गल्छी, अनेक उकाला-ओराला पार गरेर अस्ति मात्रै हो यही मैदानमा पाइलो टेकेको !

हो मालिक, आज हजुर हुनुहुन्छ, म छु र छ देश पनि यही मैदानमा ।

देश जैविक विविधतामा धनी छ । भौगोलिक विविधतामा श्रेष्ठ छ । देशमा तराई छ, पहाड छ, हिमाल छन्, टाकुरा छन्, फाँट छन्, उकाला-ओराला छन्, मैदान छन् र छन् बुकी पाटनहरू पनि । एकपल्ट उकालो चढ्दैमा अब उप्रान्त उकालाहरू चढ्नुपर्दैन भन्न सकिन्न । उकालो पछिको मैदान, तिर्खाएको बेला पानीले रेगिस्तानमा पीपलको सिर्सिर बताँस भेटेभन्दा पनि उच्चतम आनन्द दिन्छन् । तर एकपल्ट उकालो चढ्दैमा गन्तव्यको अन्त्य हुँदैन । जसरी धावकहरू चुपचाप बस्दैनन्, सकिएपश्चात म्याराथनको दौड । ठीक त्यस्तै पार गरेर कठिन उकालो, आएपश्चात मैदानमा बसेको छैन चुप लागेर यो देश, भूगोल र सरकार ।

जिन्दगी एउटै होला, बेला एउटा मात्रै हुन सक्ला, कदम एउटै कदापि हुँदैन । जसरी हुँदैन सूर्यको पनि एउटै भाग मात्रै । केही भाग अँध्यारो पनि हुन्छ ।

देश प्रयास गर्दैछ चढ्न उकालो । उकालो चढ्नेक्रममा वि.सं. २०७४ श्रावण २७ गते व्यवस्थापिका संसदबाट पारित भएर श्रम सम्बन्धी विषयहरूको छिनोफानो यसै ऐन बमोजिम हुने र यस ऐन सँग बाझिएका अन्य कानून अमान्य हुने व्यवस्था सहितको श्रम ऐन २०७४ अहिले प्रचलनमा छ ।

श्रम ऐन लागू भइसकेपश्चात वि.सं. २०७४ श्रावण ३१ गते राजपत्रमा सूचना प्रकाशन गरी नेपाल सरकारले न्यूनतम पारिश्रमिक समेत निर्धारण गरेको थियो ।

हुन त अर्थशास्त्रमा यसलाई प्राइस फ्लोरको नीतिमार्फत सरकारले बजारमाथी हस्तक्षेप गरेको भन्ने गरिन्छ । श्रमिकको ज्यालादरमा हस्तक्षेप गरिनु हुँदैन । यद्यपि सरकारले श्रमिककै हितका लागि न्यूनतम ज्यालादर निर्धारण गर्ने गर्दछ । यसो गर्नु सरकारको नियत भन्दा पनि बाध्यतामा भर पर्दछ । सरकारले देशमा श्रमको सम्मान हुने समतामूलक समाज निर्माण गर्न यस्तो कदम चाल्नुपर्ने हुन जान्छ । श्रमिकको दक्षता, उत्पादन क्षमता, श्रमिकको उपलब्धता आदिका आधारमा उद्योग तथा प्रतिष्ठानहरूले प्रतिस्पर्धात्मक ज्यालादर निर्धारण गर्न सक्दछन् ।

लिक बनाउनु विकासको सङ्केत हो । प्रगति हो । तर महत्वपूर्ण कुरा त्यो लिकमा रेल गुडाउनु हो । ऐन बनाउनु अलग कुरा, कार्यान्वयन गर्नु महत्वपूर्ण कुरा । शरीर कमजोर भयो भने रोग प्रतिरोधात्मक क्षमता कम हुन जान्छ । कानून कमजोर भएमा देश । कानूनको कार्यान्वयन पक्ष भन्नु रोगको निदान गर्ने औषधि भन्नु जस्तै हो । रोगले ग्रस्त स्थूल शरीरमा औषधि स्वयंले काम गरेन भने ?

मालिक आउनुहोस् – टेकेर भर्‍याङको खुड्किलामा जसरी उक्लिन्छ मान्छे माथितिर, ठीक त्यसैगरी उक्लिने प्रयत्न गरौं सफलताको अग्लो भर्‍याङ्ग । मालिक हामी एउटै मैदानमा छौं । आउनुहोस् गरौं हातेमालो, चढौं विकासको दिशातर्फ लम्किने एउटा अर्को उकालो ।

यो बेला मलाई बोकाइदिनुस् हजुरको विश्वासको भारी । भरिदिनुस् यो भोको पेट अन्नले । लेखाइदिनुस् पेन्सनमा मेरो पनि नाम । अनि चढेर विकासको उकालो, पुगेर टाकुरामा, हेरौंला देशले औद्योगिक विकासमा मारेको फड्को, गरेको प्रगति ।

आफ्नो जीवनकालभर पहाड नदेखेको मान्छेलाई हिमाल चढ्न लगाउनुको नतिजा के आऊला ?  अवश्य नकारात्मक नै देखिन्छ । विन्दु सुरुआत हो । विन्दुबाटै रेखा बन्छ, वृत्त बन्छ, आयात बन्छ र बन्छ सिङ्गो भूगोल पनि ।

विशाल हवाइजहाज एकैपटकमा बनेको त कहाँ हो र ? बनाइन्छ स-साना टुक्रा सुरुमा । जोडिन्छ सबैलाई । र देखिन्छ हवाइजहाजको भीमकाय शरीर ।

शून्यबाट एक नआईकन एक सय बन्दैन । हामी शून्यमा छौं । देश शून्यमा छ । श्रम सम्बन्ध शून्यमा छ । श्रमिक शून्यमा छन् । शून्यबाट सयसम्मको सोपान उक्लिन सुरुमा एक, दुई, तीन….उक्लिन सक्नुपर्छ । यिनीहरूलाई छिचोल्नुपर्छ । भुइँमा नटेकी शिखर सम्म पुग्न कहाँ सकिन्छ र ?

शून्यबाट एकैपटक सयमा पुग्नुपर्छ भन्छन् हाम्रा ऐन तथा कानूनहरूले । बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेर नेपालको भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धि प्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सम्पूर्ण नेपाली जनता वा भनौं राष्ट्रको अभीष्ट समृद्धि र सुखको खोजी नै हो । सुरक्षित भविष्य र आयमूलक रोजगारी नै हो । हाम्रो श्रम ऐनले न्यूनतम पारिश्रमिक कार्यान्वयनको कुरा गर्दछ । योगदानमा आधारित सामाजिक सुरक्षाको कुरा गर्दछ ।

तर समाजको वास्तविक कर्फरले देखाइरहेछ, विना कुनै सम्झौता, विना कुनै नियुक्तिपत्र भोको पेटमा दौडिएका मुसा मार्ने दबाई किन्न रगतलाई पसिनामा रुपान्तरण गरेर न्यूनतम मूल्यमा श्रम बेच्ने लाचार मानिसहरूको चाउरी परेको निर्दोष र निन्याउरो अनुहार ।

जगलाई भूलेर छतमा चम्किलो रङ्ग लगाउँदैमा त्यो घर दीगो टिक्दछ भन्ने मानसिकता गलत हो । त्यसरी घरको आयु लम्बिदैन मालिक ! त्यस्ता घर भत्काउन हावाका झोक्काहरू काफी हुन्छन् ।

त्यसैले

जोडेर सबैका काँधमा काँध

समाएर एकअर्काका हातहरू

बनाऔं मजबुत जगलाई

र गरौं निर्माण

आफ्नै श्रमले भूकम्प प्रतिरोधी एउटा घर

जहाँ ऐन, हजुर, म र सरकारले एउटै टेबलमा बसेर

आँखामा आँखा जुधाएर

हाम्रो आफ्नै पसिनाको सुगन्ध मिश्रित

एक एक कप

मीट्ठो चिया पिउन सकौं ।

०००

०००

 

सरकारी सेवामा आबद्ध कवि/लेखक दाहाल सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्