Logo

उनीः पहिलो च्याप्टर



अक्सर गर्मीले पसिना बग्ने वैशाखमा आजभोलि पानी बगिरहेको छ । आकाश रोइरहेको छ । अनि धर्ती चाहिँ रुझिरहेको छ । यता म भने भिजेको छु ।

भिज्नु र रुझ्नु त नियति जस्तो लाग्छ जिन्दगीको । जसरी आँखा रुझ्छन र परेली भिज्छन् । गल्लीहरू चिसा छन् । मानौँ यहाँ बषौँदेखी घामको आँखाले देखेको छैन । बस् देखेका छन् त मानवीय कंकाल बोकेका उनीहरूकै जोडी जुत्ताका नयनहरूले । कहिलेकाहीँ त लाग्छ, कतै यी जुत्ताहरूले पनि आँखा चिम्लेर हिँडिरहेका त छैनन् ?

खैर, म हिँडिरहेको छु । म होइन क्यारे मेरा खुट्टाहरू । खुट्टाले पहिरिएका जुत्ताहरू हिडिरहेका छन् । मेरा श्वास र पाइलाहरू एउटै चालमा हिँडिरहेका छन् । म बस्ने डेरा पुग्न अझै एक किलोमिटर पर होला । ३ सय मिटर हिलोमा तैरिएपछि फेरि सात सय मिटर खुट्टा कुदाउनुपर्छ । यतिकै दुरी नाप्ने दुस्साहस गर्छु । हिलो भए पनि मलाइ त्यो बाटो असाध्यै मन पर्छ । मन पर्छ यो कुरामा कि त्यो बाटो छोटो छ ।

मलाइ छोटो र छिटो एकदम मन पर्छ । दुरी सधैँ जसो एउटै हुने गर्छ तर पनि म कहिलेकाहीँ चाँडै पुग्छु त कहिलेकाहीँ ढिला । सायद पाइलाहरु पनि कहिलेकाहीँ लामा छोटा भएर हिँड्छन् ।

हम तेरे सहर में आये हैं, मुसाफिर की तरह 
सिर्फ एक बार मुलाकात का मौका देदे…

कानमा गुलाम अली गुञ्जिरहेका छन् । सिमसिम पानी परिरहेको छ । रिमझिम बतास चलिरहेको छ । समग्रमा भन्दा मौसम बडो रोमान्टिक छ र यो शहर बडो कामुक । कयौंका लाज ढाक्दै बन्द भइरहेका छन् झ्याल ढोकाहरु । भित्री भित्ताले कान थाप्दै सुनिरहेको होला चिच्याहट । म आफ्नो बाटोको दुरी नाप्दै हिडिरहेको छु । श्वासले समय घटाउँदै बढिरहेको छु । लाग्छ, हामी समयलाई श्वासले नाप्छौँ । श्वास चल्दासम्म मात्र हो हाम्रो जीवन । श्वास रोकिएपछि ?

गुलाम अलीको श्वास रोकिन्छ । मेरो गोजी भाइब्रेट हुन्छ । गोजीबाट मोबाइल झिक्छु । एक हप्ता अघि सेभ गरेको नाम देखा पर्छ स्कृनमा । राइट स्वाइप गर्छु ।

“हेलो ।“
“हाई । के गर्दै हुनुहुन्छ ?“

उनको मलिन अनि सुरिलो स्वरले गुलाम अली बिर्साइदियो । उनका प्रश्नहरु पनि सुमधुर कालजयी गीत लाग्न थाले । एक मनले त भन्यो, यही स्वरमा मुग्ध बनिदिऊँ । तर त्यो सम्भव थिएन । किनकि त्यो प्रश्न थियो, कुनै गीत थिएन ।

“हिँडिरहेको छु । “
“कहाँ ?“
“बाटोमा ।“
“कहाँ जाँदै ?“
“कोठा जाँदै ।“
“खाजा खानुभयो ?“
“खाएँ ।“
“के खानुभयो ?“
“मःम ।“
“कुन मःम ?“
“बफ ।“
“छ्याऽऽऽ“

एक हप्तादेखि यस्तै यस्तै प्रश्नहरूले घेरिएको छु म । त्यो घेराबाट उम्कन यस्तै सजिला उत्तरहरू फर्काउने प्रयास गर्छु । तर यी प्रश्नहरू लगत्तै भने केही त्यस्ता प्रश्नहरूले बाँधिएको छु, जसको उत्तर मैले सायदै पत्ता लगाएर फुत्किन सकुँला ।

आजभन्दा त्यस्तै ७ वर्ष पहिले हाम्रो कक्षामा एउटा नयाँ अनुहारले प्रवेश पायो । वैशाखको पारिलो घामले तातिएर रातो अनुहार लिएर उनी कोठाभित्र छिरिन् । स्कुल भर्खरै सुरु भएको थियो । त्यसैले पनि कोठाभरि फैलिएका हामी कसैले ड्रेस लगाएका थिएनौँ । उनी भने ड्रेसमा सजिएर भित्र छिर्दा सबैको ध्यान तान्न सफल भइन् । कोठामा छिर्ने बित्तिकै अगाडि रहेको खाली बेन्चमा बसिन् । एक मन त लाग्यो उनीसँगै गएर बसिदिऊँ । अनि भनिदिऊँ कि यो क्लासको प्रथम हुने विद्यार्थी म नै हुँ । तिमी र म साथी बनौँ । म तिमीलाई सब सिकाउँछु । तर यो मन, सोच्नलाई कुनै कसर बाँकी नराखी सोच्छ अनि गर्दा एक पाइला पनि अघि बढ्दैन ।

पहिलो पिरियड पढाउने सर आउनुहुन्छ । ब्ल्याकबोर्डमा चकका नितम्ब समाउँदै काउकुती लगाएझै कोर्नुहुन्छः

बिषयः नेपाली 

हामी सबै सतर्क हुन्छौँ । पहिलो क्लास भएरै होला, परिचयात्मक कार्यक्रमबाट ४५ मिनेटको सुरुवात हुन्छ ।
“कहाँबाट सुरु गरौँ परिचय ?“
सरले आफ्नो परिचय दिएर हामीहरूलाई सोध्नुहुन्छ ।
“उ त्यहाँबाट ।“
हातको इसाराले उनीतिर देखाउँदै म भन्छु । सबै गलल हाँस्छन् । उनी लाजले रातो अनुहार पार्दै टाउको भुइतिर निहुर्याउछिन् । मलाइ ग्लानिबोधले समात्छ ।
“होइन, आज पछाडिबाट परिचय अगाडी बढाऊँ ।“

सरले मुस्कुराउँदै भन्नुहुन्छ । मलाइ भने सरको मुस्कान थुतेर कुकुरलाई खुवाइदिऊँ जस्तो हुन्छ । किनकि मलाई पहिलो चोटि कसैको मुस्कानसँग घृणा उत्पन्न भइ रहेथ्यो । म छिटो र छोटो मन पराउने मान्छे त्यो मुस्कानले ढिला र लामो बनाइरहेको थियो उनको परिचय । क्लासभरि छरिएका विद्यार्थीहरू कसैलाई देखिनँ । कसैलाई सुनिनँ । बस् सुने त उनीले नभनेको परिचय । देखेँ त उनको घोप्टो परेर छोपिएको अनुहार ।

समय एकदम ढिला बगिरहेको आभास भैरहेथ्यो । सर मात्र होइन अहिले त अरू सबै विद्यार्थीहरू सँग पनि रिस उठिरहेको थियो । मनमनै लाग्थ्यो कोही बोल्न नसक्ने भइदिनु नि । शिवाय उनी ।

घण्टौँ बितेजस्तो लाग्ने समयपछि उनको पालो आयो । उनी जुरुक्क उठ्छिन् र भन्न थाल्छिन् ।
“नमस्ते । माई नेम इज अनन्ता, आएम फ्रम दाङ ।“

पहिलो च्याप्टरः इतिश्री !

किप वेटिङ फर नेक्स्ट च्याप्टर अफ उनी !

कमिङ भेरी सून …

०००

०००

कम्प्युटर इन्जिनियरिङ्ग अध्ययनरत कवि/लेखक खड्का सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्