Logo

स्थानीय निकायको निर्वाचनको तयारी तीव्र



Spread the love

nirwachan-aayog-salyan

जिल्ला निर्वाचन कार्यालय सल्यानले स्थानीय निकायको निर्वाचनको तयारीलाई तीव्र पारेको छ । सरकारले आगामी वैशाखको ३१ गते स्थानीय निकायको निर्वाचन गर्ने भनेर मिति घोषणा गरे सँगै सल्यानमा पनि निर्वाचनको तयारीलाई तीव्र पारिएको हो ।

निर्वाचन कार्यालयले आवश्यक जनशक्ति विवरण तयार पार्ने, सरोकारवाला सँग समन्वयन गर्ने लगाएतका आन्तरिक तयारीका कामहरुलाई तीव्रता पारेको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिए ।

उहाँले स्थानीय तह पुर्नसंरचना आयोगले तयार पारेको प्रतिवेदन निर्वाचन आयोगलाई समयमा नै नपठाउदा जिल्लामा कति मतदान केन्द्र राख्ने, जनशक्ति कति खटाउने लगाएतका विषयमा भने अन्यौलता रहेको बताए  ।

“स्थानीय तह पुर्नसंरचना आयोगले तयार पारेको प्रतिवेदन निर्वाचन आयोगलाई बुझाए पछि सोही अनुसारको जानकारी आयोगले जिल्ला निर्वाचन कार्यालयलाई दिन्छ” उहाँले भन्नुभयो –“सोही अनुसार सल्यानमा पनि निर्वाचनको लागी मतदान केन्द्र तोक्ने लगाएतका काम गरिने छ ।” तर पनि आयोगले सकेसम्म पुरानै केन्द्रलाई कायम गरी निर्वाचन गर्ने भनेकाले सल्यानमा मतदान केन्द्र तोक्ने विषयमा खासै समस्या नपर्ने बताए  ।

यसैबिच जिल्ला निर्वाचन कार्यालय सल्यानले दिएको जानकारी अनुसार सल्यानमा मतदाताको सङ्ख्या १ लाख, २२ हजार, ४ सय २५ रहेको छ । यो सङ्ख्या गत असोज मसान्त सम्ममा १८ वर्ष पुरा भई फोटो सहितको मतदाता नामावली बनाएकाहरुको रहेको छ । जसमा पुरुषको सङ्ख्या ६१ हजार २ सय १९ र महिलाको सङ्ख्या ६१ हजार २ सय ६ रहेको छ ।

जिल्ला निर्वाचन कार्यालयले कार्तिक देखी फागुण ९ गते सम्मको ४ हजार ३ सय ९३ जनाको फोटो सहितको मतदाता नामावली निर्वाचन आयोगमा पठाएको जानकारी दिएको छ । जुन मतदाता नामावली निर्वाचन कार्यालय र जिल्लाका विभिन्न ठाउँहरूमा घुम्ती सिबिरी मार्फत सङ्कलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्