Logo

काठमाडौँका स्कुलमा विद्यार्थीको खडेरी : आकर्षण घट्नुको कारण यस्तो



Spread the love

school-2

सबैभन्दा धेरै विद्यालय रहेको काठमाडौँमा सामुदायिक र निजी गरी सयौँ विद्यालयमा विद्यार्थी अभाव हुन थालेको छ । सामुदायिक विद्यालयमा देशभर विद्यार्थी सङ्ख्या घट्दै गए पनि काठमाडौँमा निजी विद्यालयमा समेत समस्या देखिएको खबर आजको नयाँ पत्रिकामा  छापिएको छ ।

जिल्ला शिक्षा अधिकारी जयप्रसाद आचार्यका अनुसार काठमाडौँका २४ सामुदायिक विद्यालयमा २५ भन्दा कम विद्यार्थी छन् । सामुदायिकको भन्दा झन्डै तेब्बर ६२ निजी विद्यालयमा २५ भन्दा कम विद्यार्थी छन् । आचार्यले भने, ‘विद्यार्थी अभावले सामुदायिकभन्दा बढी निजी विद्यालय बन्द हुने अवस्थामा छन् ।’

नियमअनुसार उपत्यका र तराईमा एक शिक्षकबराबर प्राथमिक तहमा ५० विद्यार्थी हुनुपर्छ । तर, कतिपय विद्यालयमा विद्यार्थीभन्दा शिक्षक धेरै छन् । माथिल्लो तहमा भने उपत्यकाका सामुदायिक विद्यालयमा चाप छ ।

सामुदायिकभन्दा निजीमा समस्या
काठमाडौँमा दुई सय ४५ सामुदायिक र आठ सय आठ निजी विद्यालय छन् । ८५ विद्यालयमा सय पनि विद्यार्थी छैनन् । काठमाडौँका आठ विद्यालयमा हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

निजी विद्यालय सामुदायिकभन्दा बढी समस्याग्रस्त छन् । सयभन्दा कम विद्यार्थी हुने विद्यालय सङ्ख्या एक सय ८० छ । काठमाडौँका १९ निजी विद्यालयमा मात्र हजारभन्दा बढी विद्यार्थी रहेका छन् ।

सत्तल र गुठीमा चलेका विद्यालय समस्यामा
काठमाडौँमा पुराना पार्टी, सत्तल, गुठीमा सञ्चालित विद्यालय बढी समस्यामा छन् । जमिनमा विद्यालयको स्वामित्व नरहेका ती विद्यालय भूकम्पपछि झनै समस्यामा परेको जिशिअ जयप्रसाद आचार्यले बताए । विद्यार्थी सङ्ख्या कम भएका विद्यालय प्राथमिक तहका रहेको आचार्यको भनाइ छ । उपत्यकाका सहरी क्षेत्रका प्राथमिक तहका विद्यालयमा विद्यार्थी अभाव छ ।

यसकारण आकर्षण घट्यो प्राविमा
सामुदायिक विद्यालयका प्राथमिक तहमा विद्यार्थी आकर्षण घटेको छ । प्राथमिक तहमा अङ्ग्रेजी माध्यममा मोह बढेको तथा प्रतिष्ठाको विषयसमेत बनेकाले समस्या भएको हो । निजीमा तल्लो तहमा अङ्ग्रेजीको आधार राम्रो बनाएर माथिल्लो तहमा सामुदायिकमा भर्ना हुने प्रवृत्तिसमेत छ । सामुदायिकमा शिक्षकले पठनपाठनमा मिहिनेत कम गर्नु, बालमैत्री वातावरण कम हुनु र भौतिक वातावरणसमेत नहुने भएकाले विद्यार्थी कम भएको काठमाडौँका जिशिअ जयप्रसाद आचार्यले बताए ।

यस्तो छ काठमाडौँका सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या
विद्यार्थी सङ्ख्या विद्यालय सङ्ख्या
१–२५ २४
२६–५० २४
५१–७५ २४
७६–१०० १३
१०१–१५० २४
१५१–२०० २३
२०१–३०० ३६
३०१–५०० ४४
५०१–७५० २०
७५१–१००० ५
१००१–१५०० ४
१५०१–२००० ४

निजी विद्यालयको अवस्था
विद्यार्थी सङ्ख्या विद्यालय सङ्ख्या
१–२५ ६२
२६–५० ४९
५१–७५ ३८
७६–१०० ३१
१०१–१५० १०४
१५१–२०० १०७
२०१–३०० १७८
३०१–५०० १४६
५०१–७५० ५९
७५१–१००० १५
१००१–१५०० १४
१५०१–२००० ८
२००० भन्दा माथि २
स्रोत ः जिल्ला शिक्षा कार्यालय, काठमाडौँ

सके माथि उकास्ने, नसके गाभ्ने
जिल्ला शिक्षा कार्यालयले सकेसम्म विद्यार्थी कम भएका विद्यालयलाई माथि उकास्ने रणनीति लिएको छ । भौतिक सुविधा र शिक्षक दिएर विद्यालयको अवस्था सुधार्ने रणनीति बनाइएको जिशिअ जयप्रसाद आचार्यले बताए । ‘माथि उकास्न नसकिने सामुदायिक विद्यालयलाई आवश्यकता नभएमा राम्रा विद्यालयसँग गाभ्ने रणनीति छ,’ उनले भने, ‘निजी विद्यालय पनि समस्याग्रस्त भएकाले मर्जरमा जान जिल्ला शिक्षा कार्यालयले प्याब्सन तथा एनप्याब्सनसँग छलफल गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्