Logo

२०० किलोमिटर रफ्ताकारमा आँधी, नेपालीहरुलाई सचेत रहन आग्रह



Spread the love

 काठमाडौं ।

बङ्गालको खाडीमा बनेको शक्तिशाली समुद्री आँधी फानीले भारतको ओडिशामा शुक्रवार बिहान प्रहार गर्दैछ। झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको समुद्री आँधीले प्रभावित पार्ने ठाँउका झण्डै ८ लाख मानिसलाई सुरक्षित स्थानतर्फ सारिन लागेको अधिकारीहरुले जनाएका छन् ।

आँधीको प्रभावले ओडिशा क्षेत्रमा वर्षा हुन थालेको छ । भारतीय मौसम विभागका अनुसार स्थानीय समयानुसार बिहान आठ बजेदेखि १२ बजेभित्र फानीले ओडिशा हान्नेछ।

त्यहाँ बिहीवार रातिदेखि विमान उडान र रेलसेवा एवं दुईवटा ठूला बन्दरगाह पनि बन्द गरिएको छ। भारतको आन्ध्र प्रदेश र तामिलनाडूमा उच्च सतर्कता अपनाइएको छ।

सन् २०१७ मा त्यस क्षेत्रमा आएको समुद्री आँधीका कारण २०० जनाको ज्यान गएको थियो। भारतीय जलसेनाले उद्धार र राहतकार्यका लागि सो क्षेत्रमा युद्धमा प्रयोग हुने सातवटा पानीजहाज, छवटा विमान र सातवटा हेलिकप्टर तयारी अवस्थामा राखेको छ।

सो आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बाङ्ग्लादेशतिर जाँदै गर्दा नेपालमा समेत प्रभाव पर्ने हुँदा नेपालको मौसम पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको छ । आँधीका कारण शुक्रवार दिउँसोदेखि पूर्वी र मध्य नेपालमा हावाहुरी आउने, चट्याङ पर्ने र वर्षा हुन सक्ने महाशाखाले जनाएको छ भने हिमाली भेगमा हिमपात पनि हुन सक्ने सम्भावना रहेको छ । बीबीसी

 

प्रतिक्रिया दिनुहोस्