Logo

कविताः भविष्यलाई जीवन



सुदर्शन शर्मा ‘शब्दसुदामा’

यस्तो कि
यौटा सिसाकलम बोकेर
प्याट्ट भाँच्नु बीचबाट
रोजेर लिनु एक हिस्सा
छोडेको हिस्सा दिनु
एक बच्चालाई
अनि,
एउटै रुखमुनि बसेर
कोर्न थाल्नु आ-आफ्नो
भविष्यको चित्र ।

बच्चाले गाई बनाऊ भन्दा
झटपट तयार गर्छ
छाति चौडा गरेर ।
जसरी देखाउँछ नि
गाईको चित्र
माकुरै जस्तो किन नहोस्
कतै न कतै गाईको जस्तै देखिन्छ ।

भविष्यको चित्र पनि

त्यसैगरी कोर्छ
उसैगरी देखाउँछ !
यसपटक
तिमीले पनि
त्यस्तैगरी हेरिदिनू
उसको भविष्यको चित्र ।


फेरि एक पटक
ठण्डा दिमागले सोच्नू
उसले भविष्य
जस्तोसुकै किरिङ्गमिरिङ्ग गरे पनि
बनाएको हुन्छ,
उसले चाहेको
उसको सच्चा भविष्य
अनि
आफ्नो चित्र हेर्नू
एकटकले
कति केर्दै मेट्दै गर्दा पनि
बुझाउँन सक्ने छैनौ
तिम्रो भविष्यको चित्र
उसैगरी छाती चौडा पारेर

अब
यो श्रृङ्खलाको
मेरो अन्तिम आग्रह
फरक्क फर्केर हेर्नू
त्यही बच्चालाई
त्यही हो तिम्रो पनि भविष्य
हात दिएर
उसको भविष्य नसच्याउनू
साँच्ची भनौँ ?
सच्याउने नाममा
तिम्रै जस्तो
केर्दै मेट्दैको नियती
भोग्न बाध्य नपार्नू !

अरे यार !
बरु
उसकै बाटो हिडेर पुगिदिनू नि
सपनाको देश
सपनाको जिन्दगी

तिम्रो आफ्नो
जीवन जेहोस्
भविष्यलाई त जिउँन देउ !!!

०००

०००

 

ईलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन ईन्जिनियर शर्मा कविता एवम् वैचारिक लेख-रचना लेख्न मन पराउँछन् ।

प्रतिक्रिया दिनुहोस्