Logo

सफल सोधकार्यका लागि १० प्रभावकारी टिप्स !!!



Spread the love

र्तमान समयमा अनुसन्धानात्मक सिकाई अपरिहार्य भइरहेको छ । तर कतिपय अवस्थामा विद्यार्थीको मन हुँदा हुँदै पनि आफ्नो सोधकार्य अर्थात् रिशर्च सुरु गरिहाल्ने आँट गर्न सक्दैनन् । यस्तै परिस्थितीबाट गुज्रिरहेकाहरुको लागि हामीले विभिन्न श्रोत र विज्ञहरुको सल्लाहको आधारमा १० प्रभावकारी टिप्स तयार गरेका छौं :

१. विषय छनौट

सर्वप्रथम आफु मानसिक, शारीरिक एवम् मनोवैज्ञानिक रुपले तयार हुनुस् । त्यसपछि आफुले कुन विषयमा अनुसन्धान गर्न खोजेको हो, निर्धारण गर्नुस् । यसको लागि निम्न कुरालाई मुख्य आधार मान्न सकिन्छ :

क. तपाईको इच्छा र विज्ञता

सोधकार्यको विषयवस्तु छनोट गर्दा यस्तो विषय छान्नुस् जसमा तपाईसँग पर्याप्त ज्ञान छ र त्यो काम गर्दा तपाईलाई आनन्द आउँछ ।

ख. अनुसन्धानको क्षेत्र

तपाईको विषयवस्तुको गहिराई कति हो र यसले समेट्ने क्षेत्र कति ठुलो हो भन्ने कुरा निर्धारण गर्नुस् र त्यो क्षेत्रसम्म तपाई कसरी पुग्नुहुन्छ भन्ने कुरा सोच्नुस् ।

ग. समय

कुनै पनि सोधकार्यमा समयले महत्वपुर्ण भूमिका खेल्छ । तपाईले छनोट गरेको विषय, तपाईसँग उपलब्ध समयभित्र सकिने खालको हुनुपर्छ ।

घ. स्पष्टता

कुनै पनि सोधकार्य गर्नु भन्दा पहिले मैले यो सोध कार्य किन गर्ने ? यसले कुन नयाँ कुरा स्थापित गर्न सक्छ या पुरानो कुरामाथि धावा बोल्ने सामर्थ्य राख्ने हो भन्ने कुरामा स्पष्ट हुनुस् ।

ङ. सर-सल्लाह

सम्बन्धित विषयका विज्ञ या प्राध्यापकहरुसँग आफुले गर्न लागेको कार्यको बारेमा कुरा राख्नुस् र आवश्यक सल्लाह सुझाव लिनुस् ।

२. कार्यतालिका निर्माण

आफुले गर्ने सोधकार्यबाट निस्कर्षमा पुग्दा सम्म गर्नुपर्ने कामहरु क्रमश: लेख्नुस् र ती सम्पन्न गर्न आवश्यक समय छुट्याउनुस् । साथै यसलाई पूर्णरुपले पालना गर्न्र कोसिस गर्नुस्, यसमा तपाइलाई विषयवस्तु बारे यथेष्ट जानकारी संकलन गर्न केही बढी समय पनि लाग्न सक्छ ।

३. विषयबारे विस्तृत अध्ययन

तपाईले छनोट गर्नु भएको विषयवस्तुसँग सम्बन्धित सबै कुरा पढ्नुस् । यसको लागि सुरुवातमा विकिपिडिया अथवा अरु कुनै भरपर्दो माध्यमको प्रयोग गर्नुस् । त्योसँग सम्बन्धित सोधपत्रहरु, विज्ञसँग गरिएका अन्तवार्ताहरु तपाईका लागि उपयोगी हुन् सक्छन् । यसका अलावा एउटा भरपर्दो पुस्तकालयबाट आवश्यक सामग्री संकलन गरेर राख्नुस् ।

४. श्रोत संकलन

तपाईलाई आवश्यक पर्ने श्रोत जुटाउनुस् । यस्तो श्रोत भन्नाले आर्थिक, भौतिक, मानवीय, प्रयोगशाला लगायत आवश्यक पर्ने किताबहरुसम्म भन्ने बुझ्न सकिन्छ ।

५. खोज प्रश्न निर्माण

तपाईले गरेको सोधकार्यले कुन प्रश्न वा समस्याहरुको समाधान दिन खोजेको हो भन्ने कुरामा स्पष्ट हुनुस् । तपाइँ आफ्नो सोधकार्यको जुनसुकै काम गर्दा पनि तिनै प्रश्नहरुको उत्तर खोज्ने प्रयास गर्नुस् ।

६. क्रमबद्धता कायम गर्नुस्

तपाईले गर्ने हरेक काम निश्चित क्रममा गर्नुस् । ताकी तपाईले अघिल्लो चरणमा प्राप्त गर्नु भएको नतिजाले पछिल्लो चरणका कामहरुलाई सहयोग गरोस् । अथवा यसलाई यसरी पनि भन्न सकिन्छ कि तपाई प्रारम्भिक चरण सर्वप्रथम सम्पन्न गर्नुस् अनि मात्रै विस्तृत खोजको चरणमा जानुस् ।

७. एउटा पद्धति पछ्याउनुस्

हरेक चरणमा प्राप्त तथ्यांक तथा नतिजाहरुलाई व्यवस्थित गर्न कुनै निश्चित सोध-पद्धति अनुसरण गर्नु आवश्यक छ । तपाईले संकलन गर्नु भएका तथ्यांकहरु विश्लेषण गर्न भरपर्दो कम्पुटर सोफ्टवेयरहरु (जस्तैः एक्सल, एसपीएसएस, म्याटल्याब) प्रयोग गर्नुस् र ती तथ्यांकको विश्लेषणका आधारमा नतिजा निकाल्दै जानुस् ।

८. सहयोग माग्नुस्

खोज कार्यका दौरान विभिन्न समस्या आउन सक्छन् । त्यसैले यसका लागि सम्बन्धित प्राध्यापक तथा अरु विज्ञहरुसँग सहयोग माग्न तयार रहनुस् । त्यही अनुरुप उनीहरुसँग समय मागिराख्नुस र समय समयमा उनीहरुसँग छलफल गरिराख्नुस् ।

९. नोट लेख्नुस्

जब तपाई सोध कार्यको गहिराइमा पुग्नुहुन्छ, तपाईको दिमागले कुनै पनि बेला महत्वपूर्ण निस्कर्ष निकाल्न सक्छ वा कुनै ठुलो समस्याको समाधान निकाल्न सक्छ । त्यसैले यस्तो अवस्थामा यी कुराहरु नोट अथवा स्मार्टफोनमा तुरन्तै टिपोट गरिहाल्नु पर्छ । त्यसैले यसको व्यवस्था गर्नुस् ।

१०. सोधपत्र लेख्नुस्

जब तपाईले सोधकार्य सम्पन्न गर्नुहुन्छ, तब तपाई कुनै न कुनै निस्कर्षमा अवश्य पुग्नुहुन्छ । चाहे त्यो तपाईको चाहेको जस्तो होस् या अरु नै होस्, यसको बारेमा तपाईले सबैलाई बताउनु पर्छ । त्यसको लागि तपाईले गर्नु भएका सबै सोधकार्य र तिनको नतिजालाई निश्चित ढाँचामा लेख्नुस् र प्रकाशन गर्नुस् ।

पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसमा सिभिल इन्जिनियरिङ्ग अध्ययनरत भण्डारी सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्