Logo

कृष्ण कुसुमका गजलः श्रृङ्खला दुई



Spread the love

कृष्ण कुसुम

पहिलो गजल

लेख्छु भन्थ्यौ गजल मेरो नाम भेटेपछि
पर्खी बसें आउला गजल खाम भेटेपछि ।

ताराहरूबीच पाउँदा जुन प्यारो भन्थ्यौ
जुनको चाह देखाएनौ घाम भेटेपछि ।

बेकामको समयमा खुबै सम्झी बस्यौ
भुलिदियौ मलाई एउटा काम भेटेपछि ।

प्रेमलाई सम्पतिमा तौलियौ कि कसो ?
वास्ता किन गर्दैनौ त दाम भेटेपछि ।

सम्झ मलाई हुन्छु खुसी जस्तो भइन् सीता
वनबासमा एक्लिएको राम भेटेपछि ।

दोस्रो गजल

अझै वर सर्छ्यौ भने दिल भित्र राख्छु
साँच्चै माया गर्छ्यौ भने दिल भित्र राख्छु ।

जलेको छु भित्र भित्रै तिम्रै सम्झनाले
मेरा पीडा हर्छ्यौ भने दिल भित्र राख्छु ।

सजाउँथे परेलीमा तर आँशु बग्दा
आँशु सँगै झर्छ्यौ भने दिल भित्र राख्छु ।

रित्तो नै छु, एक्लो नै छु अझैसम्म प्रीया
जिन्दगी यो भर्छ्यौ भने दिल भित्र राख्छु ।

०००

०००

'न्यु जर्सी यातायात विभाग' अमेरिकामा सिभिल इन्जिनियरको रुपमा कार्यरत कुसुम गजल, कविता, कथा, लगायतका विधामा कलम चलाउन रुचाउँछन् ।

प्रतिक्रिया दिनुहोस्