Logo

बच्चालाई ज्वरो आयो ? यस्ता छन् तुरुन्त अस्पताल पुर्याइहाल्नुपर्ने अवस्थाहरु !



Spread the love

“जाबो ज्वरो त हो, सिटामोल खाए ठिक भैहाल्छ नि !”

गाउँघर तिर मात्रै हैन, शहरी क्षेत्रमा पनि आफ्ना बालबच्चालाई ज्वरो आउँदा नजिकको औषधि पसलबाट पारासिटामोल अथवा आइबुप्रोफिन प्लस पारासिटामोल ट्याबलेट ल्याएर खुवाउने नै सामान्य प्रचलन छ ।

प्राय: बच्चामा साधारण खाले भाइरसको सङ्क्रमणले गर्दा ज्वरो आउने र यस्ता सङ्क्रमणहरु केही दिन पछि आँफै निको हुने हुँदा हस्पिटल गैहाल्न त्यति आवस्यक पनि छैन । तर कतिपय अवस्थामा ज्वरो कुनै प्राणघातक रोगको लक्षण पनि हुन सक्छ । त्यसैले “नाथे ज्वरो” भनेर बेवास्ता गर्नुहुँदैन ।

अस्पतालको पहुँचमा हुनेहरुको लागि त यसमा कुनै दुबिधा भएन, बच्चालाई ज्वरो आउनेबित्तिकै अस्पताल लगेर जँचाइ हाल्नुहोस् । तर ग्रामिण क्षेत्रमा भने हरेकपटक ज्वरो आउँदा अस्पताल गैरहन सम्भव नहुन सक्छ । यस्तो अवस्थामा के गर्ने त ?

कस्तो कस्तो अवस्थामा बच्चालाई अस्पताल लगिहाल्नुपर्छ त ?

१. नवजात शिशु (जन्मेदेखी एक महिना भित्रको बच्चा) मा घातक किटाणुहरुको सङ्क्रमण हुने सम्भावना धेरै हुने र सानो बिरामीले पनि ठुलो समस्या निम्त्याउन सक्ने भएकोले १ महिना भन्दा कम उमेरका बच्चालाई ज्वरो आएमा तुरुन्त अस्पताल लगिहाल्नुपर्छ ।

२. १ महिना देखी ३ बर्ष सम्मका बच्चाहरुमा ३९ डिग्री सेल्सियस (१०२ फरेन्हाइट) भन्दा बढी ज्वरो आएमा ।

३. जुनसुकै उमेर समुहका बच्चामा पनि ज्वरो सँगै तलका मध्य कुनै समस्या देखिएमा :

– घाँटी दह्रो भएमा / चलाउन अप्ठ्यारो भएमा ।

– बेहोस हुने, काँप्ने, चिग्रने भएमा वा पहिले हुने गरेको भएमा ।

– कुनै कुरा खानेबित्तिकै तत्कालै बान्ता (vomit) भैहाल्छ भने ।

– स्तनपान गरिरहेको बच्चा ज्वरोकै कारण दुध चुस्न सक्दैन वा मन गर्दैन भने ।

– स्वासप्रश्वासको गति स्वस्थ अवस्थाको (६० प्रति मिनेट) भन्दा बढेको छ भने अर्थात् बच्चाले असामान्य रूपमा छिटो-छिटो सास फेरिरहेको छ भने ।

– शरीरमा डाबर, पानीका फोका देखिएमा वा छाला रातो भइ चिलाउने भएमा ।

– कुनै पनि ज्वरो एक हप्तासम्म पनि निको नभएमा ।

 

सन्दर्भ सामग्रीहरु:

Ghai essential pediatrics

K Park text book of preventive and social medicine

Davidson’s principles and practice of medicine

काठमाडौं मेडिकल कलेज सिनामंगलमा एम.बी.बी.एस. अध्ययनरत गोर्खालि सल्लेरीखबरमा सामाजिक कटु-यथार्थ माथिको दृष्टिकोण बारे कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस्