Logo

सुनौला हजार दिनका आमालाई कुखुरा वितरण



Spread the love

 

२४ वैशाख, डोटी ।

जिल्लाको जोरायल गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा रहेका सुनौला हजार दिनका आमालाई कुखुरा वितरण गर्न थालेको छ । गाउँपालिकामा सुनौला हजार दिनका १८० आमालाई प्रतिव्यक्ति पाँच कुखुराका दरले अस्तोलोप र हेम्पसार जातका कुखुरा वितरण गरिन थालिएको गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताइन् ।

सुनौला हजार दिनका आमा र बच्चाको स्वास्थ्य तथा पोषणमा सुधार गर्ने उद्देश्यले अस्तोलोप र हेम्पसार जातका कुखुरा वितरण गरिन लागिएको निरौली स्वास्थ्य सेवा केन्द्र प्रमुख गोविन्द विष्टले जानकारी दिए । उनले भने, “गाउँपालिकामा भएका सुनौला हजार दिनका आमालाई कुखुराको अण्डा उत्पादन गरी स्वास्थ्य सुधार र कुपोषणको दर न्यूनीकरण हुने विश्वासमा कुखुरा वितरण कार्यक्रम शुरु गरिएको हो ।”

उक्त गाउँपालिकामा बहुक्षेत्रीय पोषणका साथै कुखुरा वितरण, कुखुराको दाना र खोर सुधारका लागि समेत बजेट छुट्याइएको पशु शाखा प्रमुख मानबहादुर रानाले जानकारी दिए ।

गाउँपालिकाले त्यहाँका विद्यालयमा सेनिटरी प्याड वितरण, हात धुने तरिकाबारे कक्षा सञ्चालन, बाल विकास केन्द्रमा पोषणबारे कक्षा सञ्चालन, स्वास्थ्य, कृषिअन्तर्गत सुनौला हजारका दिनका आमालाई मौसमी तरकारी र फलफूलका बिरुवा वितरण, खानेपानी तथा सरसफाइका क्षेत्रमा सरसफाइसम्बन्धी किट वितरणलगायतका काम सञ्चालन गराइरहेको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।

यसअघि जिल्लाको दिपायल सिलगढी नगरपालिकाले पनि आफ्नो नगरपालिकामा रहेका सुनौला हजार दिनका आमालाई कुखुरा र अण्डा वितरण गरेको थियो । सेवा प्रदायक संस्थाको विस्तार गरी सबैमा पोषण विशेष सेवाको उपभोगमा वृद्धि गराउने र पोषण संवेदनशील सेवाको पहुँच र उपभोग बढाई स्वस्थ बानीव्यवहारमा सुधार ल्याउने कार्यक्रमको उद्देश्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्