Logo

थापाथलीका बाँदरमा भेटियो एसआइभी भाइरस : मान्छेमा सर्न सक्ने खतरा



Spread the love

badar

राजधानीको थापाथलीमा रहेका बाँदरमा एसआइभी एड्सको भाइरस देखिएको छ । युनिभर्सिटी अफ क्यालिफोर्निया विश्वविद्यालय र नेपालको सिएमडिएन संस्थाले गरेको अनुसन्धानमा थापाथलीका बाँदरमा पनि सर्न सक्ने क्यान्सर र एड्सको भाइरस पत्ता लागेको हो । गत ३० फागुनमा राजधानीको पशुपति क्षेत्र र स्वयम्भूका बाँदरमा क्यान्सर र एड्सको भाइरस भएको नयाँ पत्रिकाले समाचार लेखेको थियो । सिएमडिएनका कार्यकारी निर्देशक दिवेश कर्माचार्यले आफूहरूले गरेको अनुसन्धानका क्रममा थापाथलीका बाँदरमा पनि एसआइभीको भाइरस फेला परेको बताए ।

अनुसन्धानकर्ताले बाँदरबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेका छन् । पशुपति क्षेत्र र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यान्सर र एड्सको संक्रमण भएको खबर आएपछि अनुसन्धानकर्ताहरूले त्यसलाई थप पुस्ट्याइँ गर्दै बाँदरबाट सचेत रहन आग्रह गरेका हुन् । युनिभर्सिटी अफ क्यालिफोर्निया विश्वविद्यालय र नेपालको सिएमडिएन संस्थाले २०१३ देखि पशुपति, स्वयम्भू र थापाथलीका बाँदरसहित अन्य जनावरमा निरन्तर अध्ययन–अनुसन्धान गरिरहेका छन् भन्ने खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

एचआइभीजस्तै एसआइभी भाइरस : निरन्तरको अनुसन्धानमा पशुपति, थापाथली र स्वयम्भूका बाँदरमा मान्छेमा लाग्ने एचआइभीजस्तै बाँदरमा लाग्ने एसआइभी भाइरसको संक्रमण व्यापक मात्रामा देखाएको छ । कर्माचार्यले अनुसन्धानका क्रममा बाँदरमा व्यापक मात्रामा एसआइभी देखिएको भन्दै यो भाइरस मानिसमा सर्न सक्ने सम्भावना बढी भएकाले पशुपति, स्वयम्भू र थापाथलीका बाँदरबाट टाडै रहन सुझाव दिए ।
उनले भने, ‘थापाथली, पशुपति र स्वयम्भूका बाँदर र मानिसहरू कुनै न कुनै रूपले नजिक भएको पाइन्छ । यसले बाँदरमा लागेको रोग मानिसमा सर्न सक्छ र मानिसमा लागेको रोग बाँदरमा सर्न सक्छ । त्यसैले बाँदरबाट अलग्गै रहनुहोस् ।’

अझै अनुसन्धान जारी : सिएमडिएनले विश्वकै अत्याधुनिक उपकरणहरूका माध्यमबाट जनावरका नमुना नेपालमै परीक्षण गर्दै आएको छ । कर्माचार्यले थपे, ‘पशुपति, स्वयम्भू र थापाथलीका बाँदरमा विभिन्न रोगहरूका बारेमा हामीले २०१३ देखि निरन्तर अनुसन्धान गरिरहेका छौँ । हालसम्मको परीक्षणमा बाँदरमा एड्सको संक्रमण गराउने भाइरस एसआइभी व्यापक मात्रामा रहेको पाएका छौँ । यो नेपालका लागि निकै ठुलो चुनौतीको विषय हो ।’

एचआइभीजस्तै बाँदरमा लाग्ने सिमियन फोमी भाइरस बाँदरमा देखिएको हो । ती क्षेत्रका बाँदरलाई मानिसहरूले खानेकुरा दिने, नजिक जाने र जिस्क्याउने गर्छन् । ‘जनावरबाट मानिसमा सर्न सक्ने गम्भीर रोगको सम्भावना बाँदरमा असाध्यै धेरै भएकाले बाँदरबाट सचेत बन्नुपर्ने अवस्थाको सिर्जना भएको छ,’ कर्माचार्यले भने । पछिल्ला केही वर्षयताका अध्ययनले बाँदरमा भएको विभिन्न रोगको संक्रमण मानिसमा सर्न सक्ने भएकाले सिएमडिएनले नयाँ संक्रमण पत्ता लगाउन बाँदरको डिएनए परीक्षणसमेत भइरहेको कर्माचार्यले जानकारी दिए ।

संस्थाले विभिन्न रोगलाई आधार मानेर थापाथली, पशुपति र स्वयम्भूका ७१ वटा बाँदरबाट नमुना परीक्षण गरेको थियो । त्यसक्रममा ५८ वटा बाँदरमा विभिन्न प्रकारका रोगको संक्रमण देखिएको र १३ वटामा एसआइभी र क्यान्सर गराउन सक्ने भाइरस देखिएको कर्मचार्यले बताए । ‘पशुपतिमा सात, थापाथलीमा चार र स्वयम्भूमा दुईवटा पत्ता लागेको छ, यो अझै अनुसन्धानकै क्रममा रहेको छ । अनुसन्धानका क्रममा बाँदरमा अनेक प्रकारको भाइरसहरू भेटिएका छन्,’ उनले भने । मानिसमा एचआइभी पनि बाँदरबाटै सरेको हो । त्यही प्रकारका भाइरस अनुसन्धानका क्रममा नेपालका बाँदरमा देखिएको छ । कर्माचार्यले थपे, ‘अमेरिकाको वासिङटन विश्वविद्यालयले गरेको अनुसन्धानबाट आएको रिपोर्ट र अहिले हामीले गरेको अनुसन्धानले पनि नेपालका बाँदरमा एसआइभी एड्स र क्यान्सर लाग्न सक्ने भाइरस व्यापक मात्रामा फैलि“दै गएको देखिएको छ । यसकारण मानिसमा सर्ने खतरा धेरै रहेको छ ।’

सिमियन फोमीं भाइरस : सिमियन फोमीं भाइरस भएका बाँदरहरूमा अन्य रोगहरूले आक्रमण सहज रूपमा गर्छ । यो समस्या मानिसमा पनि हुने गरेको छ । एसआइभीको भाइरस लागेपछि विभिन्न रोगहरू थपिँदै जान्छ र एड्सको संक्रमण हुन्छ । यो बाँदर र मान्छेमा एउटै प्रक्रिया हो । शरीर कमजोर भएपछि टिबी, हेपाटाइटिस आदि लाग्छ, जसलाई एड्स भन्ने गरिन्छ । सिमियन फोमिं भाइरस रेट्रोभाइरस फेमलीमा पर्ने भाइरस हो । मान्छेमा लाग्ने एचआइभी पनि त्यही भाइरसको माध्यमबाट लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्