Logo

मोर्चाले गर्‍यो सप्तरीका सबै स्थानीय तहमा तालाबन्दी : नेपाल सरकारको स्थानमा ‘मधेस प्रदेश’



Spread the love

download

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीका नेता तथा कार्यकर्ताहरूले आइतबार जिल्लाका १७ वटै स्थानीय तहमा तालाबन्दी गरेका छन् । सरकारले सप्तरीमा आठ नगरपालिका र नौ गाउँपालिका निर्धारण गरेकोमा मोर्चाले ती सबैमा तालाबन्दी गरेको हो । मोर्चाले आइतबार कञ्चनरूप, डाँकनेश्वरी, बोदेबरसाइन, खडक, शम्भुनाथ, सुरुंगा र हनुमाननगर कंकालिनी नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो । त्यस्तै मोर्चाआबद्ध विभिन्न मधेसवादी दलको छुट्टाछुट्टै टिमले कृष्णसवर, छिन्नमस्ता, महदेवा, सप्तकोसी, तिरहुत, तिलाठी–कोइलाडी, रुपनी, बेल्ही चपेना र विष्णुपुर गाउँपालिकामा पनि तालाबन्दी गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डलले बताएको खबर आजको नयाँ पत्रिकामा  छापिएको छ ।

कृष्णसवरसहितका केही गाउँपालिकामा आइतबार मात्रै हाजिर भएका कार्यकारी अधिकृतलाई हाजिर हुन दिएपछि सबै कर्मचारीलाई बाहिर निकाल्दै मोर्चा कार्यकर्ताहरूले नाराबाजीसहित तालाबन्दी गरेका थिए । मोर्चा सप्तरीले परिमार्जनसहित संविधान संशोधन हुनुपर्ने, स्थानीय तहको पुनर्संरचना वैज्ञानिक र व्यावहारिक हुनुपर्ने, सङ्घीय तथा प्रदेशको चुनावपछि मात्रै स्थानीय तहको चुनाव हुनुपर्ने, २३ फागुनमा मलेठ घटनामा ज्यान गुमाएका पाँचैजनालाई सहिद घोषणा गर्नुपर्नेलगायतका माग राखे छ ।

मोर्चाले सदरमुकाम राजविराजस्थित जिल्ला समन्वय समितिको कार्यालय र राजविराज नगरपालिकाको कार्यालयमा भने गत शुक्रवार नै तालाबन्दी गरेको थियो । मोर्चा कार्यकर्ताले समन्वय समितिस्थित स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेल, प्रशासन प्रमुख सुभाष मण्डल र राजविराज नगरपालिकाका कार्यकारी अधिकृत यादवराज सापकोटाको कार्यकक्षमा लगाएको तालाबन्दी यथावतै छ । जिल्ला समन्वय समितिलाई पुनः मेटाउँदै मोर्चा नेता तथा कार्यकर्ताले जिल्ला विकास समिति नै लेखेका छन् भने नेपाल सरकारको स्थानमा मधेस प्रदेश सरकार उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्