Logo

सरकारी जागिर रहर कि बाध्यता ?



Spread the love

सबैले औँला उठाउछन्- तेरो छोराले के गर्यो आजसम्म ? तेरी छोरीले के गरी आजसम्म ?

म सानो छँदा बाबाले घरमा आउने सबैलाई सुनाउनु हुन्थ्यो,”मैले जति गरे, जे गरे यसमै खुसी छु । अबको मेरो खुसी या सपना, जे भने पनि छोराछोरीलाई पढाएर ठुलो मान्छे बनाउनु हो ।”

म सोच्थें, ठुलो मान्छे भनेको चैं कस्तो होला है ?

आज उमेरले ठुलो भएको छु । कमसेकम बुवा-आमाको लागि । तर उहाँको खुसी र सपना दुबै कुरा अझैसम्म पनि अधुरा नै छन् ।

हामीलाई नि ठूलो रहर अनि सपना हुन्छ । बुवा-आमा सँगै बसेर राम्रो जागिर गरुँ अनि महिनाको तलब बुझेर खुसी हुँदै उहाँहरुको हातमा थमाइदिउँ । सबै रहर अनि सपना सँगै पुरा नहुँदा रैछन् ।

पढाइ सकिएको महिना-दिन सम्म पुगेको हुँदैन, छिमेकीले सोध्न थालिहाल्छन्,“बाबु / नानी अचेल के गर्दै छौ ? अब त जागिर खाई सक्यौ होला नि !”

एकातिर पढे लेखेकाले जागिर नै गर्नुपर्छ भने दबाब । अर्को तिर सरकारी जागिर खान सके भने बुवा-आमाको सपना पुरा हुन्थ्यो भन्ने मेरो सोच । दुबै कुराले कुनै बेला आफुभित्र हौसला पनि दिन्छन्, तर वास्तविकताले हौसला भन्दा बढी ती सपना र कल्पित मनलाई निमोठ्न सुरु गर्छन् ।

खल्तीमा रु.५० को रिचार्ड-कार्ड हाल्ने पैसा हुँदैन र घरमा माग्ने आँट पनि आउँदैन । यस्तै समस्याले महिनाको ५ हजारको जागिर भए पनि शुरु गरुँ जस्तो लाग्छ । फेरी सोच्न बाध्य हुन्छु । किनकि म बसेको घरको भाडा नै तिन हजार छ । त्यो पाँच हजारको आम्दानीबाट घर भाडा त बुझाउँला । तर आफ्नो मन अनि ती बुढा बाउ-आमाको सन्तुष्टि कसरी पुरा गर्न सकुँला । मान्छेको मन बुझाउँन पनि पैसा चाँहिदो रहेछ । आज मेरो मन अनि बाउ-आमाको सन्तुष्टि पैसामा गएर रुमलिरहेको छ ।

बर्ष दिन कुरे पछि न कुनै जागिरको लागी आबेदन खुल्ने ठेगान, न त सम्भाव्यता नै हुन्छ । आफुले पढ्दा सम्म कसो जागिर नपाइएला र जस्तो लाग्थ्यो, जब जागिरको फर्म बुझाउनको लागि लाइन लागिन्छ, तब थाहा हुन्छ जागिरी के हो र यस्को महत्त्व कति छ ?

जसोतसो स्नातक पास गरिन्छ । घरमा स्नातकोत्तर पढ्छु भन्दा- अब किन पढ्नु पर्यो ? सुरुसुरु जागिर खाने, यत्रो पढ्या के काम ?

प्राइभेटमा जागिरको लागी आबेदन खुल्छ । स्नातक पास अनि २-३ बर्ष काम गरेको अनुभव, जहाँ हामी अयोग्य ठहरिन्छौं । त्यही बेला मलाई कसैले सुनाउँछ, हामी सँगै पढेको त्यो रमेशले त फलानो ठाँउमा राम्रो जागिर खाएछ नि ! हुन त नखाओस् पनि कसरी ! उसका सबै आफन्ती अनि घरकै मान्छेहरु ठुलाठुला जागिर र पावरवाला समेत छन् ।

यो पनि पढ्नुहोस्ः

मैले देखेको पुरुष हिंसा

उसका यी कुराले मन झसङ्ग बनाइदिन्छ । अनि सोच्न बाध्य हुन्छु । यत्रो बर्ष पढ्दा कहिले पनि ठुला जागिर खाएका र पावर वाला मान्छेको आवश्यकता परेको थिएन । तर आज पढाइ सकिएर हातमा चारित्रिक प्रमाणपत्र हुँदाहुँदै पनि पावरका साथसाथै ठुला-ठुला आफन्तीको आवश्यकता पर्दो रहेछ । हामीले पढ्दा घुसपैठ र पावर विनाको काम हुँदैन तर जागिर खाँदा चैं किन यस्तो ?

बर्ष दिन कुर्दा-कुर्दा सरकारी जागिरी खुल्छ । फर्म भर्न भनी जाँदा २-३ दिनको त्यो चर्को धुपमा लाइन लाग्दा जसोतसो पालो आउँछ र फाइल बुझ्ने कर्मचारी खाजा खाने समय भो’ भन्दै झ्यालको पर्दा लगाउँछन् । एक दिनमा सकिनु पर्ने काम चार दिन सम्म लम्बिन्छ । जसोतसो सरकारी जागिर खाने आशमा फर्म भरिन्छ । पुगोस्-नपुगोस् जागिर भैहाल्छ कि भन्ने आशाले लोकसेवाको तयारी कक्षा लिएर राम्रै लेखिन्छ तर अपशोच परिक्षाफल अप्रत्याशित र निराशाजनक प्रकाशित हुन्छ । बर्षदिनको त्यो सरकारी जागिर पनि आशाबाट निराशामा परिणत हुन्छ ।

बुवाको फोन आउँछ- “छोरा/छोरी अब त जागिर भयो होला नि है ।”

बुवाको त्यो प्रश्नको उतर न म सँग हुन्छ न तपाईं सँग ।

दुःख गरेर कैयौं पैसा खर्च गरेर पढ्छौं । तर पछि गएर कैयौं समय बेरोजगार नै हुन्छौं । आखिर किन ?

अनि सुरु हुन्छ बुवा-आमाको गुनासोः

फलानाको छोरो / छोरी नपढे पनि, बिग्रेर हिँडे पनि कति राम्रो जागिर गर्छन् । यो बर्ष त जसरी पनि सरकारी जागिर खानु पर्छ तैले ! फलानाले पोहोर पहिलो बर्षमै नाम निकाल्यो । तैले पनि जसरी हुन्छ सरकारीमै नाम निकाल पर्छ बुझिस् ।

निकाल्न सक्दिनस् भने बरु बिहे गर् । अहिले राम्रा-राम्रा केटा माग्न आएका छन् । फेरी तैले नाम निकाल्न सकिनस् भने अहिले माग्न आउने केटा फेरि पछि माग्न नआउन सक्छन् ।

संसारमा सबैभन्दा बढी माया कस्ले गर्छ भनी थाहा पाउने यन्त्र बनेको भए, बाउ-आमाले छोराछोरीलाई गर्ने माया जति अरु कसैको हुने थिएन होला । मेरो खुसीको लागी सरकारी जागिरको सपना तोड्न तयार छन् । मलाई भन्दा बढी उनीहरूलाई चिन्ता छ, सरकारी जागिरको लोभमा जिन्दगीको खुसी नतोडियोस् ।

क्षणभरमै तोड्न मन लाग्छ उहाँको बिहेको प्रस्ताब । तर डर लाग्छ सपना र खुसी सँगै जोडिएको सरकारी जागिरले आज लिएको निर्णय जिन्दगीको गलत निर्णय शाबित नभैदिए हुन्थ्यो ।

बुवा-आमाका अधुरा सपना अनि खुसीमा लुकेको मेरो सरकारी जागिर…

सुबिधा सम्पन्न ठाउँमा सबै सुबिधा हुँदाहुँदै पनि छोराछोरीको राम्रो पढाइ होस् भनी होस्टेल राखिन्छ । जुन बाध्यता हैन तर पनि अहिले आएर रहरमा परिणत भइसकेको छ । तर दुर्गम जिल्लामा कैयौं विद्यार्थीहरु प्रायः सबै सुबिधाबाट बन्चित छ्न् । गाउँमा घरदेखी ३-४ घन्टाको बाटो बिहान दश बजेको स्कुल भेटाउन बिहानै हिड्नु पर्ने अनि राती मात्र घर आइपुग्ने समस्या जहाँकोतहीँ छ । यस्तै समस्याले बुवा आमाले आफ्ना छोरा छोरीलाई होस्टेल या कोठा लिएर सुबिधा सप्पन्न या आफ्नो गृह भन्दा बाहिर बसाउन बाध्य छ्न् । जतिबेला आमा बुवाको साथ अनि चोखो मायाको खाँचो हुन्छ, त्यही बेला छोरा छोरीलाई आफू भन्दा टाढा राखिन्छ ।

आमाबुवा सँगै बसेर मिठो-मसिनो खानु, सँगै बसेर दु:ख-सुख गर्नु सबै उनीहरुको लागी सपना हुन्छ । बिस्तारै उनीहरु बाहिरी दुनियाँमा रमाउन थाल्छन् या यसो भनौं त्यही दुनियाँमा बाच्न बाध्य हुन्छन् । सानै देखी आमा बुवा सँग टाढा हुनुको पिडा त छँदैछ, त्यसमाथी आफ्नो परिवारको जिम्मेवारी बहन गर्न नसक्नु झन् ठुलो पिडा हुन्छ ।

होस्टेलमा बस्ने कैयौं मान्छे बिग्रेका छन् । ती मान्छे बिग्रेका होइनन्, बिग्रन बाध्य पारिएका हुन् । घर, समाजको संस्कार सिक्ने बेला होस्टेलमा राख्दा राम्रो या नराम्रो के सिक्छन् होला ? एक्लो संसारमा जहाँ आफ्नो सामाजिक संस्कार हुँदैन, आमाबाको माया ममता हुँदैन । बन्द कोठामा एक्लै धेरै समय बिताउँदैमा धेरै पढिने भए, जेलमा राखिएका कैदीहरुको पढाइमा सबसे उत्कृष्ट हुने थिए । ती जेलमा जाने मान्छेहरू पनि पढन गएका हुन्, सामाजिक संस्कार सिक्न गएका हुन्, राम्रो र नराम्रो छुट्याउन गएका हुन् ।

सबैले भन्छन्- मिहिनेत गर, मिहिनेत गरे पो नाम निस्किन्छ । पढ्ने बेला नपढ्ने, यस्तै थुप्रै गुनासो गर्ने मान्छे हुन्छ्न् ।

तर हामी भित्रको पीडा-गुनासो सुनिदिने कोही भेटिदैन । अरुलाई अर्ती-उपदेश दिन जति सजिलो आफुले गर्दा नहुँदो रहेछ । यस अर्थमा शिक्षक पेशा केही हदसम्म सहज हुँदो हो ।

रहर त कसलाई हुन्छ र, बुवा आमाको गोजी रित्तो भएको थाहा पाउँदा-पाउँदै पनि आफुले केहि गर्न नगरेर बस्नु ! उहाँहरुले माया-ममता सँगै पैसाले भरिदिएको गोजी, आज पैसाले रित्तो भएको छ । आफ्नो गोजी भरिपुर्ण गर्न बुवा-आमाको माया सँगै कागजको टुक्रा हाल्ने गरेको छु । तर बुवा-आमालाई काजको टुक्रामा नम्बर चाहिन्छ, खाली कागजमा मायाको कुनै अर्थ छैन । जसरी मैले पढदै गर्दा प्रत्येक विषयमा नम्बर चाहिन्थ्यो । आफ्नो खर्च चलाउन पैसा माग्न नि आँट आउँदैन । मन भारी भएर आउँछ ।

मेरो जिन्दगीको सबैभन्दा गाह्रो क्षण त्यही बनेको छ, जुन दिन महिना बितेर घरबेटी ढोका ढकढक्याउदै आउँछन् । अनि तिन-चार दिनदेखी भोली-भोली भनी टार्नु पर्ने बाध्यताका बीच अन्ततः घरमा फोन गर्नै पर्ने बिकल्प । महिना भरी घरमा फोन गरेर नथाकेको म त्यो एक दिन मै सोच्न बाध्य हुन्छु । घरमा फोन गर्न नपरेको भए कति खुसी हुन्थें होला ।

०००

०००

सामाजिक दृष्टिकोण र चेतनाबारे लेख्न रुचाउने के.सी. सल्लेरी खबरमा कला-साहित्य विविधमा कलम चलाउँछिन् ।

प्रतिक्रिया दिनुहोस्