Logo

चीन उड्नुअघि प्रधानमन्त्रीको प्रयास : ओलीले दाहाललाई भने-‘पोहोरको जस्तै यो पुगेन ऊ पुगेन भन्न पाइन्न’



Spread the love

prachanda-oli-close-up

साता लामो चीन भ्रमणमा उड्नुभन्दा साढे तीन घण्टा अघिसम्म प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षी एमाले र मधेसी मोर्चासँग बिहीबार रातिसम्मै सहमतिको प्रयास त गरे, तर विना तयारी वार्ता गरिएको भन्दै एमालेले पहिले सरकार र मधेसी मोर्चाबीच संविधान संशोधनका एजेन्डामा एकरुपता ल्याउन माग गरेपछि वार्ता विषय प्रवेश नै नभई सकियो भन्ने  खबर आजको कान्तिपुरमा  छापिएको छ ।

दाहालले बिहीबार बिहानदेखि रातीसम्मका चरणबद्ध बैठकहरुबाट तत्कालै निष्कर्ष निक्लिहाल्ने सम्भावना आफूले नदेखे पनि चीनबाट फर्कने बित्तिकै सीमांकन हेरफेर थाती राखेर त्यस बाहेकका विषयमा संविधान संशोधन गराएर छाड्ने आश्वासन दिए । बालुवाटारमा एमाले र मोर्चासग सत्ता घटकको संयुक्त बैठकमा दाहालले भने, ‘स्थानीय चुनावपछि सीमांकन पनि टुंगिनेगरी अब मोर्चा सहमतिमा आउनुपर्छ । एमालेसगको कुराकानीले म त्यसबाहेकका विषयमा तत्कालै संविधान संशोधन विधेयक अघि बढ्ने ठाउँ मैले देखेँ ।’

बालुवाटार बैठकमा दाहालसहित काँग्रेस सभापति शेरबहादुर देउवा, मधेसवादी सात दलमध्ये छ अध्यक्ष अनि राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा समेत सहभागी थिए । बेलुकीको वार्तामा नगएका एमाले अध्यक्ष ओली भने सिंहदरबारमा पार्टी उपाध्यक्ष वामदेव गौतसहित दाहालसग छुट्टै कुराकानीमा सामेल थिए ।

स्रोतका अनुसार ओलीले दाहाललाई भने, ‘सीमांकन थाती राखेर संशोधन पारित गर्न एमालेले सहयोग गरे मोर्चा मान्छ, अनि चुनावमा जान्छ भन्ने आधार देखाउनुस् । मोर्चा त्यसो गर्न तयार हुने हो भने एमालेले यसबारे सकारात्मक ढङ्गले सोच्न सक्छ । तर बोलेको कुरा पुर्‍याउनुपर्‍यो । पछि फेरि पोहोरको पहिलो संशोधनको बेलामा जस्तै यो पुगेन, ऊ पुगेन भन्न पाइन्न ।’

दाहालले सङ्घीय प्रदेशको सीमांकनमा तत्काल सहमति नदेखिने भएपछि बाँकी तीन विषयमा संविधान संशोधनका लागि तयार हुन ओलीलाई आग्रह गरे । एमालेकै जस्तो आशंका मोर्चातिर पनि रहेको भन्दै उनले संशोधनमा पहिले प्रतिबद्धता जनाइहेर्न सर्त तेस्र्याएका थिए ।

बालुवाटारमा भने ओली अनुपस्थित रहेपछि एमालेबाट सहभागी उपाध्यक्ष गौतम र संसदीय दल उपनेता सुवास नेम्वाङले सप्तरीमा मोर्चाले शान्तिपूर्ण ढङ्गले सभासम्मेलन गर्ने अधिकार किन कुण्ठित गरेको भनी सुरुमै प्रश्न गरे ।

बनारस र नयाँ दिल्ली भ्रमणबाट बिहीबार दिउसो राजधानी फर्केका सङ्घीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले आफू केही महिनाअघि सुर्खेत जाँदा एमाले कार्यकर्ताले उसैगरी आक्रमण गरेर ‘शान्तिपूर्ण सभासभासम्मेलन गर्ने संवैधानिक हक कुण्ठित गरेको’ कटाक्ष फर्काएपछि बैठक एकैछिन विषयान्तर भएको थियो ।

मोर्चाको तर्फबाट बोलेका तमलोपा अध्यक्ष महन्थ ठाकुरले ठुला दलहरूले आफूहरुलाई उधारो आश्वासनमा सीमित राखेको भन्दै आक्रोश पोखेका थिए । ‘हामी यसपल्ट उधारो आश्वासन मान्नेवाला छैनौँ, तपाईँहरूले के के गर्न खोजेको हो, पहिले गरेर देखाउनुस्,’ ठाकुरले भने, ‘अनि मात्रै सहमति हुने सम्भावनाको कुरा गरौंला ।’

सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोका अनुसार बैठकमा स्पष्ट मुद्दाहरूमा कुनै छलफल भएन । दाहाल चीन गएकै अवधि पनि सहमतिको मिलनविन्दू पहिल्याउने, उनी चीनबाट फर्कने बित्तिकै सहमतिको निर्णायक पहल हुने आश्वासन दिएपछि बैठक विना निष्कर्ष टुंगिएको महतोले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्