Logo

सडक खन्ने क्रममा देवस्थल फेला



Spread the love
प्रतीकात्मक तस्बीर

२७ बैशाख, काठमाडाैँ – रामप्रसाद राई गाउँपालिका–३ भुल्केमा सडक खन्ने क्रममा देवीदेवताको मूर्ति फेला परेको छ । देवताको मूर्ति फेला परेपछि सो स्थललाई अहिले ‘गुप्तेश्वर महादेव’ नामाकरण गरी स्थानीयले संरक्षण गरिरहेका छन् ।

स्थानीय पुजारी गणेशप्रसाद निरौलाका अनुसार परापूर्व कालमा त्यहाँ देवस्थल रहेको तर पहिरोले पुरिएको हुनसक्ने र अहिले सडक खन्ने क्रममा मूर्ति फेला परेको हो । देवस्थलमा अहिले भक्तजन आउने गरेका छन् । सो ठाउँमा साँझ बिहान पूजापाठ गरिन्छ । उक्त स्थानमा शिवलिङ्गसँगै अन्य विभिन्न देवीदेवताको मूर्तीसमेत देख्न सकिन्छ । “स्थानीय स्तरमा संरक्षण समिति गठन गर्दैछौँ” निरौलाले भने ।

धार्मिक स्थलको संरक्षणसँगै प्रचारप्रसारको काम भइरहेको वडाध्यक्ष डिकमान राईले बताए । गत पुसमा वडा कार्यालयदेखि धोद्खानीको फिलुङगेटारसम्म करीब तीन किलोमिटर सडक विस्तारका क्रममा विभिन्न देवीदेवताको मूर्ति भेटिएको हो । “भुगर्भविद् ल्याएर यथार्थ पत्ता लगाउने तयारीमा जुटेका छौँ”, राईले भने ।

अहिले सो ठाउँमा विभिन्न समयमा मेलासमेत लाग्ने गरेको छ । गाउँपालिकाका अध्यक्ष विजय राई योजनाबद्ध ढङ्गले यसको विकासका लागि आगामी वर्ष बजेट विनियोजन गर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्