Logo

जुनार कृषकलाई परिचयपत्र



Spread the love

– नबीनबाबु अधिकारी


२७ वैशाख, सिन्धुली – सिन्धुलीमा व्यावसायिकरूपमा जुनारको खेती गर्ने कृषकलाई परिचयपत्र दिइएको छ । वास्तविक जुनार कृषकको पहिचान गरी जुनारको गुणस्तरीय उत्पादन गर्ने सोचका साथ जुनार कृषक परिचयपत्र दिइएको हो ।

जिल्लाको कमलामाई नगरपालिका–३ जलकन्या, सुनकोशी गाउँपालिका–७ मझुवा, गोलन्जोर गाउँपालिका–१ डुडभञ्ज्याङ, गोलन्जोर गाउँपालिका–२ बितिजोर, गोलन्जोर गाउँपालिका–३ भुवनेश्वरी, गोलन्जोर गाउँपालिका–४ तीनकन्या, गोलन्जोर गाउँपालिका–५ रतनचुरा, गोलन्जोर गाउँपालिका–६ वाशेश्वर र तीनपाटन गाउँपालिका–७ तोश्रामखोलाका झण्डै १०० जुनार कृषकलाई परिचयपत्र प्रदान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (जुनार सुपरजोन) सिन्धुलीका वरिष्ठ कृषि विकास अधिकृत देवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार डुडभञ्ज्याङका ६६, बितिजोरका १८६, भुवनेश्वरीका १०९, तिनकन्याका ५६५, रतनचुराका ३८६, वाशेश्वरका ६०, जलकन्याका ११९, सुनकोसीका २५२ र तोश्रामखोलाका ६२ जुनार कृषकलाई पनि परिचयपत्र प्रदान गरिने छ । अहिले परिचयपत्र तयारी रहेको र प्रमाणित भएका परिचयपत्र वडा कार्यालयमार्फत् धमाधम वितरण हुने उनको भनाइ छ ।

व्यावसायिकरूपमा जुनारखेती गर्ने किसानको पहिचान गरी क्षमता अभिवृद्धि गरी जिल्लाको जुनार उत्पादन वृद्धिसँगै जुनारमा प्रकोपका रूपमा देखापरेको ब्याक्टोसेरा मिन्याक्सलाई मार्न यस परिचयपत्रले सघाउने उनले बताए । “कृषक परिचयपत्रले जुनार कृषकको तथ्याङ्क मात्र सङ्कलन नगरी यसबाट जुनार कृषकका जुनार, निबुवा, कागती, सुन्तलाको बोटको समेत विवरण थाहा हुनेछ, साथै जुनारको बोट सङ्ख्या, फल्ने–नफल्ने बोटको विवरण उल्लेख हुने भएकाले जुनार कृषकले वार्षिक कति नयाँ बोट लगाए र कति बोटबाट आम्दानी लिए भन्ने परिचयपत्रले खुल्ने छ”, उनले भने ।

विगतका दिनमा वास्तविक जुनार कृषक कार्यालयको सम्पर्कमा नआउँदा जुनारको किरा निराकरण गर्न समस्या भएको थियो । उनले भने, “अब जुनार फल्ने बोटको वास्तविक तथ्याङ्क आउने भएपछि जुनारको ब्याक्टोसेरा मिन्याक्स मार्नका लागि प्रोटिन वेट स्प्रे गर्न सहज भएको छ ।”

शुरुमा आफू कार्यालय प्रमुख भएर आउँदा वास्तविक जुनार किसानले जुनार सुपरजोनबाट सेवासुविधा तथा परामर्श नपाएको असन्तुष्टि धेरै रहेको पाएको उनले बताए । वास्तविक जुनार कृषकलाई व्यावसायिक खेतीतर्फ प्रेरित गर्न र जुनारको व्यावसायिक खेती गर्ने नयाँ किसानको सङ्ख्या थप्नसमेत किसान परिचयपत्रले सहयोग गर्ने उनको विश्वास छ ।

कार्यालयले जुनार कृषक परिचयपत्र लिएका जुनार किसानको क्षमता अभिवृद्धि, किरा निराकरण, बगैँचा व्यवस्थापनको बारेमा जानकारी दिई साना मेशिनरी तथा आवश्यक अन्य उपकरण ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।

विगतभन्दा यस वर्षबाट वास्तविक जुनार किसानको हातमा जुनार खेतीका लागि आवश्यक पर्ने कृषि औजार दिने अभियान सञ्चालन गरिनेसमेत उनको भनाइ छ । शुरुमा परिचयपत्र लिन नमान्ने कृषक परिचयपत्र हुँदा ५० प्रतिशत अनुदानमा आवश्यक औजार पाउने भएपछि कार्यालयमा दैनिक १०–१५ ले आएर परिचयपत्र भर्ने गरेको उनले जानकारी दिए । जुनार कृषकले जुनारको बगैँचा व्यवस्थापन गर्न रु २० हजार बराबरको उपकरण खरीद गरेमा कार्यालयले रु १० हजार बेहोर्ने छ । यसबाट जुनारको व्यावसायिक वृद्धिसँगै गुणस्तरीय जुनार उत्पादनमा पनि वृद्धि भई जुनारमा लाग्ने किरा मार्न सहयोग पुग्ने उनले बताए ।

अहिले जिल्लाका मझुवा, जलकन्या, रतनचुरा, तिनकन्या, वाशेश्वर, भुवनेश्वरी, बितिजोर, डुडभञ्ज्याङ र तोश्रामा खोलामा जुनार फल्ने बोटमा प्रोटिन वेट स्प्रे गर्ने कार्य भइरहेको उनको भनाइ छ । अहिले तीन पटकसम्म प्रोटिन वेट जुनारको बोटमा स्प्रे गरिसकिएको र अझै स्प्रे गर्ने कार्य भइरहेको छ । उनका अनुसार स्प्रेकर्ताले हप्तामा एक दिनका दरले असार मसान्तसम्म स्प्रे गर्नेछ । जुनार कृषक परिचयपत्रमा उल्लेख भएका फल्ने जुनारका बोटमध्ये प्रतितीन बोटमा एक बोटमा मात्र प्रोटिन वेट स्प्रे गरिएको छ ।

जुनारको बगैँचा व्यवस्थापनसँगै जुनारको किरा मार्ने मुख्य चुनौतीको सामना गर्न कृषक परिचयपत्र सहयोगी हुने उनको भनाइ छ । परिचयपत्रलाई अनलाइनमार्फत अद्यावधिक गर्ने लक्ष्य कार्यालयले लिएको उनले बताए । यसबाट कार्यालयबाट जुनार कृषकलाई दिइने अनुदान वर्षेनी एउटै किसानले लिने समस्याको अन्त्य भई वास्तविक सबै जुनार कृषकको हातमा अनुदान तथा सहयोग उपलब्ध हुनेछ र कृषकलाई व्यवसायमा निरन्तर लाग्न सहयोग गर्दछ ।

जुनार कृषक परिचयपत्रले जुनार कृषकका जुनारको अवस्थाको बारेमा पनि रेकर्ड राख्ने भएकाले छुटेका जुनार कृषकलाई कार्यालयमा आई कृषक परिचयपत्र लिन उनले आग्रह गरेका छन् । जुनार कृषक परिचयपत्रले खुलाएको विवरणका आधारमा कार्यालयले जुनारको व्यवसाय वृद्धि गर्न सघाउने हुँदा कृषक नै लाभान्वित हुने भएकाले जुनार कृषकले यस मौकालाई सदुपयोग गरी जुनारको किरा मार्ने कार्यालयको अभियानमा सहयोग गरिदिन कार्यालयले जुनार कृषकलाई आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्