Logo

महायज्ञमा एकैदिन तीस लाख बराबरको दान सङ्कलन



Spread the love

२९ वैशाख, बेझाड – जनमार्ग माध्यमिक विद्यालय पूर्वखोला गाउँपालिका–१ सिलुवा पाल्पामा सञ्चालन भएको श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञान महायज्ञमा एकैदिन रु ३० लाख बराबरको दान सङ्कलन भएको छ ।

प्राविधिक शिक्षा तथा विद्यालयको भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको महायज्ञको छैठौँ दिन रु तीस लाख बराबरको दान सङ्कलन भएको हो । प्रदेश नं ५ का प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्य र युवराज खनालले महायज्ञका अवसरमा विद्यालयको प्रगतिको कामना गर्दै भवन निर्माणका लागि केन्द्र सरकार, प्रदेश सरकार र व्यक्तिगत तवरबाट रु ७० लाख बराबरको रकम सहयोग गर्ने घोषणा गरेसँगै हालसम्म रु एक करोडभन्दा बढी दान रकम सङ्कलन भएको जानकारी दिए ।

विद्यालयको शैक्षिक विकासका लागि आफ्नै वडामा रहेको विद्यालयमा भएको महायज्ञमा पूर्वखोला– १ सिलुवाले एघार लाख एघार हजार एक सय एघार रुपियाँ प्रदान गरेको छ । यो रकम वडा कार्यालयको निर्णयअनुसार प्रदान गरिएको वडाध्यक्ष भोगबहादुर थापाले जानकारी दिए । यो अहिलेसम्मकै यस महायज्ञमा दान गरिएको ठूलो राशि हो ।

त्यस्तैगरी विद्यार्थीको उज्ज्वल भविष्य र विद्यालयको संस्थागत विकासका लागि भनेर दोस्रो स्थानमा दान गर्ने व्यक्ति पूर्वखोला– १ सिलुवा रोमन्दीका लक्ष्मण ढकाल रहहेका छन् । उनले आफ्नो सपरिवारको तर्फबाट तीन लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ प्रदान गरेका हुन् । तेस्रो स्थानमा पूर्वखोला– १ सिलुवा रोमन्दीकै मीनराज ढकालले रु एक लाख पचपन्न हजार दान गरूेका छन् ।

पाँचौँ दिनसम्म करीब रु २२ लाख रकम सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक श्यामबहादुर दिशाले जानकारी दिए । विद्यालयको लक्ष्य प्राविधिक शिक्षा सञ्चालन गर्ने भए पनि दान गर्नेले विद्यालयको संस्थागत र भौतिक पूर्वाधार विकासमा समेत सहयोग गरेको उनले बताए ।

हालसम्म महायज्ञमा रु एक लाख भन्दामाथि दान गर्ने संस्था र व्यक्ति गरी जम्मा १४ जना पुगेको छ । महायज्ञ अवधिभर रु दुई करोडसम्म दान सङ्कलन गर्ने लक्ष्य रहेको महायज्ञ मूलआयोजक समितिका संयोजक गिरमान आले बताउँछन् ।

प्राविधिक शिक्षा सँगसँगै महायज्ञबाट सङ्कलित रकम भौतिक पूर्वाधारमा खर्च गरिने बताइएको छ । भौतिक पूर्वाधार अभावका कारण झट्टै नै प्राविधिक शिक्षा सञ्चालन गर्न नसकिएको विद्यालयले जनाएको छ । महायज्ञमा दानदाता र भक्तजनको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ ।
पण्डित नारायण न्यौपानेबाट सङ्गीतमय शैलीमा कथावाचन भइरहेको छ । वैशाख २३ गते देखि शुुरु भएको महायज्ञ ३१ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्