Logo

समाजवादमा पुग्न हतारो नगरौँ: मुख्यमन्त्री गुरुङ



Spread the love

३० बैशाख, कास्की – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का १५७ जिल्ला सदस्यले हिजो सपथ लिएका छन् । सपथ लिनेहरुमा साविक नेकपा एमालेका ८७ र माओवादी केन्द्रका ६३ छन् । उनीहरुलाई गण्डकी प्रदेश इन्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ गराएका थिए ।

सपथ ग्रहण कार्यक्रममा उनले नेकपाको अन्तिम लक्ष्य समाजवादसम्म पुग्ने भएपनि त्यसका लागि अहिल्यै हतारो गर्न नहुने बताए । उनले समाजवादसम्म पुग्न बीचमा धेरै तयारी गर्नुपर्ने भएकाले राजतन्त्रको अन्त्यपछि सामन्तवादका अवशेषलाई नीति, नियम तथा ऐन कानूनको माध्यमबाट अन्त्य गर्नुपर्नेमा जोड दिए । अन्तिम लक्ष्य समाजवाद भए पनि हतारोले मात्र क्रान्ति पूरा नहुने उनले बताए ।

दुई पार्टी एकतापछि लामो समय पार्टी अन्यौलमा रहेको उल्लेख गर्दै उनले अहिले विस्तारै पार्टीले गति लिन थालेकाले पार्टी सदस्यले सपथको मर्मअनुसार माक्सवादी विचारको अनुसरण गर्दै जनताका लागि काम गर्न आग्रह गरे ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्कर्माले दुई ठूला पार्टीको एकतापछि कम्युनिष्ट पार्टी स्थापनाको लक्ष्य पूरा गर्ने ऐतिहासिक अवसर प्राप्त भएकाले समृद्धिको अभियानलाई निर्णायक विन्दुमा पुर्याउने गरी नेता कार्यकर्ता परिचालित हुुनुपर्ने बताए ।

नेकपा स्थायी कमिटीका सदस्य सोमनाथ अधिकारीले जनताको बीचबाट कम्युनिष्ट पार्टीको जन्म भएकाले जनतासँगको सम्बन्धलाई सुमधुर राख्न जनताकै बीचमा गएर पार्टी र सरकारले गरेका काम बुझाउनुपर्नेमा जोड दिए । प्रदेशका अध्यक्ष हितराज पाण्डेले पार्टीका गतिविधि र सक्रियताले समग्र प्रदेश र केन्द्रमा समेत सन्देश दिने भएकाले अनुशासित तथा एकताबद्ध भएर पार्टी कामलाई सञ्चालन गर्न आग्रह गरे ।

कार्यक्रममा प्रदेश कमिटीका सचिव गोविन्द नेपाली, कास्की अध्यक्ष कृष्ण थापा तथा सचिव बखानसिँह गुरुङले पार्टी र सरकारबीच सहकार्य तथा समन्वयका साथ अघि बढ्नुपर्ने धारणा राखेका थिए । पार्टीको हिजो बसेको पहिलो बैठकले गण्डकी प्रदेशको राजधानी पोखरालाई राष्ट्रकै नमूना राजधानी बनाउने कार्यमा योजना बनाउन र एकमतका साथ प्रदेश सरकार र स्थानीय तहलाई सहयोग गर्न जिल्ला कमिटी लाग्ने निर्णय गरेको छ ।

त्यस्तै विभिन्न आन्दोलन र पार्टी निर्माणका दौरानमा शहादात प्राप्त गरेका व्यक्तिलाई राष्ट्रिय शहीद घोषणा गर्न नेपाल सरकारसँग माग गर्ने र केही दिन अगाडिको हावाहुरी र प्राकृतिक प्रकोपबाट जिल्लामा प्रभावितलाई आवश्यक सहयोगका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरिएको सचिव गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्