Logo

मधेश र पहाडको उत्पीडनको कथा रङ्गमञ्चमा



Spread the love

३१ वैशाख, काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पहाडी र मधेशी समुदायबीचको एकता, सद्भाव र भ्रातृत्वलाई केही अराजकहरुले खण्डित गर्ने कोसिस गरे पनि जागरणका माध्यमबाट सचेतना प्रदान गर्नुपर्ने मन्त्री पण्डितले बताएका छन् । अनामनगरस्थित मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘मिता आब कोना चलब’ अर्थात् (मितज्यू अब कता जाने) हेरेपछि उनले नाटकले नेपाली समाजलाई एकताबद्ध बनाउन अभिप्रेरित गर्ने बताए ।

“एउटा समय थियो, हाम्रो समाजका केही विषालुहरुले विष घोलेका थिए”, मन्त्री पण्डितले भने, “अब त्यो विष विस्तारै समाप्त हुँदैछ, तर त्यसका छिटा अहिले पनि कहीँकतै देखिन्छ, अन्तिम सत्य के हो भने सामाजिक सद्भाव तथा राजनीतिक सद्भावको पनि खाँचो छ ।”

युवा कलाकार रामभजन कामतको लेखन तथा निर्देशन रहेको नाटक मण्डला नाटकघरमा वैशाख २० गतेदेखि मञ्चन भइरहेको छ । जेठ ५ गतेसम्म मञ्चन हुने नाटकको प्रस्तुति विराटमैथिल नाट्य कला परिषद्को रहेको छ । नाटकमा निर्देशक कामतसहित सुनिता घिमिरे, कौशिला कामत, मिलन नेपाली, विकास पराजुली, राजेश ठाकुर, भरत कार्की, सञ्जय गुप्ता, आदित्य मिश्रा, अमृता श्रेष्ठ, अमृत स्वाँर र शङ्कर पोखरेलले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्