Logo

गुरुको महत्व (निबन्ध)



Spread the love

गुरुको महत्व

                                                                                                                                          अरुण शर्मा ( एम् .बि .बि .एस्  – प्रथम बर्ष)

DR Arun

कुनै बिषयमा ज्ञान प्रदान गर्ने व्यक्तिलाई नै गुरु भनिन्छ| गुरु भन्ने बित्तिकै शिक्षक मात्रै बुझ्ने सामान्य मान्छेको धारणालाई गलत नै भन्न नमिले पनि त्यो उपयुक्त चाहिं होइन| वास्तवमा गुरु एक मार्गदर्शक हुन्| असल बाटोमा हिंड्न अभिप्रेरित गर्न सक्ने व्यक्ति, जुनसुकै उमेर वर्गको लाई पनि हामी गुरुको दर्जा दिन सक्छौ| परापूर्वकालदेखि नै यस्तै दृष्टिकोण बनेका हुनाले हामीले सोच्छौं की असल गुरु बन्न दारी र कपाल फुलेकै हुनुपर्छ|

 

मान्छेको गुरु मान्छे नै हुनुपर्छ भन्ने जरुरी छैन| साच्चै भन्नुपर्दा यस धर्तीका सबै सजिब प्राणीको गुरु प्रकृति हो| भर्खरै जन्मेको एउटा जंगली जनावरको बच्चालाई हिंड्न सिकाउने गुरु पनि प्रकृति नै हो भने वनस्पतिलाई उब्जन सिकाउने गुरु पनि प्रकृति नै हो| जब एउटा सानो किरोले आब म यो संसारबाट बिदा लिने बेला आयो भनेर सोच्छ तबको अलिबेरमा नै सोहि किरो रंगीबिरंगी पखेटा फिंजाएर पुतली बन्छ| यस्तै गरी निराशामा लुकेको आशा नै गुरु हो| आफूमा भएको सत्विचार र अगि बढ्ने चाहना पनि गुरु हो| यसरी हामीले गुरुका मुर्त एवम् अमुर्त रुपको पहिचान गर्न सक्छौं|

 

गुरुको बारेमा चर्चा गरिरहदाँ हाम्रो मनमा प्रशन उठ्नु स्वाभाविक नै छ| आखिर के छ त महत्व साधारण मान्छेको जीवनमा गुरुको? जन्मेपछि हिंड्न, डुल्न, बोलचाल गर्न अनि जीवनका विभिन्न पाटाहरु चिन्न सघाउँने गुरु हाम्रा आमा र बुवा हुनुहुन्छ| त्यस्तै गरि कक्षाकोठामा पुगेपछि अनुशासनका पाठ सिकाउने पनि हाम्रा गुरु नै हुनुहुन्छ| जीवन जिउने सीप सिकाउने मान्छेको जीवनभर प्रशंसा गर्दा त कम हुन्छ भने शब्दमा त उहाँहरुको महत्व अटाउन सक्छ र? अवश्य पनि सक्दैन|

 

आजको २१औं सताब्दीमा आइपुग्दा मानिसहरुको सोच संग्क्रिड बन्दै गएको हामीलाई अवगत नै छ| लोभी मानिसले जे कुरालाई पनि पैसासँग दाज्ने गर्छ| त्येसैले उसले गुरुदक्षिणा भनेको पैसा मात्रै सोच्छ जुन गलत कुरा हो| गुरुबाट पाएको ज्ञान, प्रेरणा, असल विचार हामीले अरुलाई दिएर अरु कसैको गुरु बन्न सक्यौं भने एउटा गुरुलाई सबैभन्दा ठुलो गुरुदक्षिणा हुनेछ| पौराणिक दृष्टिकोणले हेर्दापनि एउटा शिष्यले आफ्ना गुरुका निम्ति औंला अर्पित गरेको दृश्यपनि हाम्रो मनमा प्रतिविम्बित हुन्छ| त्यसैगरी शिष्यले आफ्ना गुरुको खेतमा बाढी रोक्नका लागि संघर्ष गरेको दृश्यलाई पनि हामी कल्पना गर्न सक्छौं| स्वार्थी स्वभाव सबै मान्छेमा हुन्छ| त्यहिँ हो कसैमा थोरै र कसैमा धेरै हुन्छ| महत्व नै नभएको भए कसैले पनि त्यस्तो गर्ने थिएन होला| यसले पनि गुरुको महत्वमा थप प्रकाश पार्ने काम गर्छ|

 

वास्तवमा भन्नुपर्दा यदि गुरु यो संसारमा नभएको भए न त मैले यी शब्दहरु कोर्न सक्थें न त तपाईले यो लेख पढेर बुझ्न सक्नुहुन्थ्यो| त्यसैले यदि यो संसारमा भगवान् सरहको दर्जा कसैलाई दिन मिल्छ भने त्यो गुरुलाई हो| हामी सम्पूर्णले गुरुको महत्व बुझेर उहाँलाई आदर गर्न सिक्नुपर्छ| गुरुलाई आदर र सत्कार गर्नु नै हाम्रो जीवनलाई सार्थकतातर्फ उन्मुख गराउनु हो|

 

 

प्रतिक्रिया दिनुहोस्