Logo

नेम्वाङ सर्वसम्मतले एन्फा वरिष्ठ उपाध्यक्षमा



Spread the love

१ जेठ, काठमाडाैँ – पंकज बिक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन भएका छन् । एन्फा कार्यसमितिको मंगलबार बसेको कार्यसमिति बैठकले नेम्वाङलाई सर्वसम्मत चयन गरेको प्रवक्ता किरण राईले जानकारी दिएका छन् ।

केन्द्रिय कार्यसमितिको निर्वाचन भएको एक वर्षपछि एन्फाले वरिष्ठ उपाध्यक्ष पाएको छ । एन्फा विधान अनुसार ४ उपाध्यक्षमध्येका एक वरिष्ठ तोक्ने प्रावधान अनुसार नेम्बाङ चुनिएका हुन् ।

नेम्वाङसँगै अर्का उपाध्यक्ष वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका थिए । बाँकी दुई उपाध्यक्ष कृष्ण थापा र उपेन्द्रमान सिंहले भने वरिष्ठमा दाबी गरेका थिएनन् । गत वर्ष वैशाख २२ गते भएको निर्वाचनमा नेम्वाङले उपाध्यक्ष मध्ये सर्वाधिक मत प्राप्त गरेका थिए ।

नेम्वाङ १७ वर्षदेखि लगातार एन्फा केन्द्रिय समितिमा रहँदै आएका छन् । चार कार्यकाल उनी केन्द्रिय सदस्य रहेका थिए । एन्फाका पूर्व अध्यक्ष गणेश थापाविरुद्धको आन्दोलनमा वर्तमान एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई नेम्वाङले सुरुवातबाट साथ दिदै आएका थिए ।

नेम्वाङ वरिष्ठ उपाध्यक्ष चयन प्रक्रिया विवादरहित भने रहन सकेन । वरिष्ठ उपाध्यक्षका अर्का आकांक्षी खड्का र दुई केन्द्रिय सदस्य रत्नकुमार श्रेष्ठ र पूर्णकुमार चित्रकारले बैठक बहिष्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्