Logo

निस्सानको नाफामा ५७ प्रतिशतले गिरावट



Spread the love

१ जेठ, काठमाडाैँ – आर्थिकरूपले सङ्कटग्रस्त जापानी कार कम्पनी, निस्सान,ले मङ्गलबार आफ्नो यस आर्थिक बर्षको नाफा यो दशक मा नै सबैभन्दा न्यून रहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।

कम्पनीले सन् २०१९ को मार्चसम्ममा आफ्नो नाफा जम्मा दुई अर्ब ९० करोड अमेरिकी डलर (तीन खर्ब १९ अर्ब जापानी यन) रहेको र यो नाफा रकम विश्वले आर्थिक मन्दीको सामना गरिरहेको सन् २००९÷०१० पछिकै सबैभन्दा न्यून रहेको बताएको छ ।

निस्सानका पूर्व प्रमुख कार्लोस गोउनलाई आर्थिक अनियमितताको आरोपमा पक्राउ गरेपछि कम्पनीको कारोबारमा समस्या देखिएको हो । नेतृत्वको अभावको सामना गरिरहेको कार कम्पनीको नाफा अघिल्लो बर्षको तुलनामा गत बर्ष ५७ प्रतिशतले घटेको बताइएको छ ।

चालु आर्थिक बर्षमा निस्सानको घाटा एक खर्ब ७० अर्ब जापानी यन रहने प्रक्षेपण कम्पनीको रहेको छ ।

निस्सानका प्रमुख कार्यकारी अधिकारी शिरोतो साइकावाले भने, “कार्यसम्पादन एकदमै चुनौतिको अवस्थामा रहेको छ तर हामीले यसलाई सुधार गर्ने प्रयासमा लागिरहेका छौँ ।”

“मङ्गलबारको तथ्याङ्कले कम्पनीलाई अपेक्षाभन्दा निकै न्यून नाफा भएको देखाउँछ,” उनले भने । “कृपया हामीलाई पूरानो अवस्थामा फर्कने समय दिनुहोस् ।”

कम्पनीका प्रमुख रहेका समय गोउनको पक्राउले कम्पनीलाई एकातिर नेतृत्वको समस्या भएको देखिन्छ भने अर्कोतिर कम्पनीमा भएको अनियमितताको खबरले कम्पनीको ख्यातिसमेतमा प्रभाव परेको छ । गोउनमाथि आर्थिक अनियमितताका विभिन्न चार आरोप लागेका छन् भने उनले ती आरोपको खण्डन गर्दै आएका छन् ।

साइकावा भन्छन्, “कम्पनीले अहिलेको अवस्थामा पूर्व व्यवस्थापनबाट विरासतका रूपमा केही नकारात्मक कुराहरूको सामना गर्न बाध्य छ ।”

“तपाइँहरूलाई वास्तविकता भन्नुपर्दा कम्पनीले आफ्ना प्रमुखलाई आर्थिक अनियमितताको आरोपमा पक्राउ गरेपछि केही समय आफ्नो व्यवसायिक गतिविधिमा ध्यान दिन केही अलमल भएकै हो र यसको परिणाम कम्पनीको आम्दानी तथा कुल नाफामा देखिनु नौलोजस्तो मलाई लाग्दैन । तर हामीले कम्पनीलाई पूर्ववत अवस्थामा छिट्टै फर्काउने छौँ ।”

तर विश्लेषकहरूले निस्सानजस्तो जापानी कार कम्पनीलाई गोउनको अनुपस्थितिमा अघि बढाउँदा कैयौँ समस्याहरू भएका बताउँछन् । निस्सानको फ्रान्सेली सवारी कम्पनी रेनल्टसँगको सहकार्यमा देखिएको निरन्तरको विग्रँदो सम्बन्धका कारण पनि यसका नयाँ उत्पादनमा समस्या भएको हो ।

साइकावाले भने, “ यस बर्ष जापान र चीनमा निस्सानको विक्री बढ्न थालेको छ तर अमेरिका र यूरोपमा ‘कठिन’ परिस्थिति रहेको छ ।”

प्रतिक्रिया दिनुहोस्