Logo

कृषि क्षेत्रको विकास गर्न सर्वेक्षण



Spread the love

१ जेठ, बर्दिया – मधुवन नगरपालिकाले कृषि क्षेत्रको विकास गर्न आजदेखि सर्वेक्षण शुरु गरेको छ । आगामी वर्ष कृषि क्षेत्रको समयसापेक्ष विकास गर्न सूचना सङ्कलन गर्ने उद्देश्यले सर्वेक्षण शुरु गरिएको नगरपालिका कृषि शाखाका प्रमुख एकराज वलीले बताए ।

सर्वेक्षण अवधिभरि फारम भर्न खटाइएका कार्यकर्ताबाट प्रत्येक किसानको घरमा पुगी किसानको वर्तमान अवस्था र भविष्यमा गर्न चाहेको कृषि कार्यको योजना साथै सरकारबाट गरेको अपेक्षासहितको सूचना सङ्कलन गरिने छ । सर्वेक्षण गर्न ४० स्वयंसेवकले आजदेखि १५ गतेसम्म किसानको घरदैलोमा पुगी फारम भर्ने छन् ।

सर्वेक्षणबाट प्राप्त सूचनाका आधारमा नगरपालिकाका नौवटै वडामा किसानले गरिरहेको कृषिको अवस्था र मागअनुसार फरकफरक कृषिखेतीको पकेट क्षेत्र बनाएर योजनाबद्ध तरिकाले किसानलाई प्रोत्साहन हुने गरी काम गर्ने उद्देश्य रहेको पनि कृषि वलीले बताए । कृषि व्यवसायको लागि उपयुक्त र सम्भावना हुँदाहुँदै नपा क्षेत्रका किसान सरकारको सहयोग मागअनुसार अर्थपूर्ण तरिकाले प्राप्त गर्न नसक्दा आफूलाई आवश्यक पर्ने उपज पनि उत्पादन गर्न धौधौ परिरहेको बेला नगरपालिकाले योजना बनाउन सर्वेक्षण शुरु गरेकोमा खुशी भएका छन् । मधुवन नपा–४ कृषि समन्वय समितिका अध्यक्ष टीकाराम थारूले परम्परागतरूपमा कृषि गरेर अब भनेजस्तो उत्पादन गर्न मुस्किल परेको बताए । उनले लगानीअनुसार उत्पादन हुन नसकी घाटा भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्