Logo

पशुपतिमा बाँदरआतंक रोक्न सर्वोच्चमा रिट



Spread the love

पशुपतिका बाँदरको आतंक रोक्न सर्वोच्च अदालतमा रिट परेको छ । बाँदरको आतंकबाट भक्तजन पीडित बनेको र विभिन्न रोग सर्ने जोखिम बढेको भन्दै मंगलबार अभिवक्ता मधुर पाठकले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

बाँदर आतंकले पशुपति मन्दिर परिसरमा पूजा गर्न आउने भक्तजनहरुमा असुरक्षा बढेको तथा सहज रुपमा पूजाआजा गर्न बञ्चित हुँदै आएको रिट निवेदनमा उल्लेख छ । रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष र कोष सञ्चालक समितिलाई विपक्षी बनाइएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

बाँदरआतंक नरोके धार्मिक पर्यटनमा असर : अधिवक्ता मधुर पाठक पशुपति क्षेत्रका बाँदरको आतंक समाधानको उपाय नखोजे धार्मिक पर्यटनमा असर पुग्ने बताउँछन् । सरकारले पशुपति क्षेत्रमा स्वतन्त्र र निर्भीक रूपमा हिँड्ने वातावरण सिर्जना गरोस् भन्ने उद्देश्यले रिट दायर गरेको उनले बताए । पशुपति क्षेत्रको अध्ययन, अवलोकन, भ्रमण र दर्शन गर्न जाने स्वदेशी तथा विदेशी नागरिकमा भय र त्रासको वातावरण सिर्जना हुन गएको अवस्था छ । ‘यस्ता संवेदनशील विषयमा राज्यले समयमै उचित व्यवस्थापन र सम्बोधन नगरेमा त्यसले धार्मिक र सांस्कृतिक पर्र्यटन र विकासमा नराकात्मक प्रभाव पर्न जाने निश्चित छ,’ रिटमा उल्लेख छ । उनले रिटमा राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको साख गिर्न सक्ने खतरा रहेको जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्