Logo

वादी महिलाको दैनिकी फेरियो



Spread the love

२ जेठ, लम्की । ‘‘ए शान्ति छिटो आऊ ल, आज त छलफल समयमै शुरु गर्नुपर्छ भनेर फटाफट हिँड्नुभयो,” टीकापुर सूर्यपुरस्थित वादी समुदायकी अगुवा रेखा वादी । वादी समुदायका महिलाको बचत समूहको छलफलका लागि उहाँलाई यो हतार भएको हो । विगतमा यौन पेशालाई आम्दानीको स्रोत मान्ने वादी समुदायका महिलाको दैनिकी फेरिएको छ ।

कैलाली टीकापुर–८ सूर्यपुरस्थित वादी बस्तीमा बस्ने वादी महिला आजभोलि काममा व्यस्त हुन्छन् । विगतमा यौन पेशाबाट आयआर्जन गर्ने यी महिला आजभोलि छिमेकी गाउँमा दैनिक ज्यालादारी, खेतीपाती जस्ता कार्यमा व्यस्त रहन्छन् । उनीहरुका विभिन्न बचत समूहसमेत छन् । उनीहरु समूहमा बचत गर्छन्, त्यसैबाट आवश्यक परेके बेला महिलालाई ऋण लगानी गर्छन् । ऋण लिएको पैसा घरखर्च, व्यवसाय सञ्चालन, बाख्रापालनजस्ता कार्यमा लगाउन थालेका छन् । उनीहरु समूहमा महिलाका समस्याबारे पनि छलफल गर्छन् ।

“यहाँ ४५ घर वादी परिवार छन् । सबैलाई सरकारले दुई कोठे पक्की घर निर्माण गरिदिएको छ”, समुदायकी अगुवा रेखा भन्नुहुन्छ, “यहाँ अहिले कसैले यौन पेशा गर्दैनन्, यौन पेशाले जीवन धान्ने महिलालाई विभिन्न सङ्घसंस्थाले बाख्रापालन, बङ्गुरपालन, पसल सञ्चालन जस्ता कार्यमा सघाएपछि यो पेशा बन्द भएको छ ।” रेखाका अनुसार समुदायमा यौन व्यवसाय नियन्त्रणका लागि निगरानी समूहसमेत गठन भएको छ । जसले यौन व्यवसाय गरेमा प्रहरीलाई खबर गरिदिन्छ ।

“शुरु शुरुमा यौन प्यास मेटाउन विभिन्न ठाउँका पुरुषहरु आउँथे, निगरानी समूहले ती पुरुषलाई पनि प्रहरी कहाँ थुनाउन थालेपछि आजभोलि त गलत धारणा लिएर आउनेले पनि छोडे,” रेखाले भन्नुभयो, “महिलाहरुमा केही नयाँ काम गरौँ भन्ने सोचको विकास भएको छ । उनीहरु पनि आत्मसम्मानसहितको जीवन बिताउन चाहन्छन् ।”

वादी बस्तीका पुरुषको पनि सोच बदलिएको छ । विगतमा श्रीमती, छोरीलाई यौन व्यवसाय गर्न लगाउने पुरुषहरु पनि त्यो गलत हो भन्ने बुझेर छोरी पढाउन थालेका छन् । वादी समुदायका सबै किशोरी विद्यालय जान्छन् । वादी समुदायको उत्थानका लागि सामुदायिक सहयोग समितिले बालबालिकालाई विद्यालय पढाउन सहयोग गरेपछि सबै बालबालिका विद्यालय जान थालेका हुन् । “पुरुषहरु कोही भारत कमाउन गएका छन् । घरमा भएकाहरु सबै ज्यालादारी काम गर्छन्,” सामुदायिक सहयोग समितिका सामाजिक परिचालक सरिता नेपाली भन्नुहुन्छ, “वादी समुदायमा तीन जना महिलाले १२ कक्षा पास गर्न सफल भएका छन् । दुई जना जागिरसमेत खान्छन् । अब पढ्नुपर्छ भन्ने चेतनाको विकास भएको छ ।”

विगतमा दिनभरि सिङ्गारिएर बस्ने महिलाहरु आजभोलि खेतबारीको काममा र जङ्गलमा घाँस दाउरा गर्न थालेका छन् । अब उनीहरुलाई ग्राहक लोभ्याउने चिन्ता छैन । आफूलाई हेर्ने दृष्टिकोण बदलिनुपर्छ भन्छन्, वादी महिला । ‘‘हामीहरु कहीँ जाँदा यौन व्यवसायी हुन् भन्ने दृष्टिकोणले हेर्नर् ेगरिन्छ, निकै चित्त दुख्छ ।” रश्मी वादीले भन्नुभयो, “हामीलाई सम्मानको दृष्टिले हेर्न आग्रह गर्छौं । हामी कतै काम खोज्न गए पनि गिज्याउने गरिन्छ, हामी अन्य महिलाजस्तै मिहिनेत र काम गर्न चाहन्छौँ ।”

वादी बस्तीमा केही महिला एचआइभी सङ्क्रमित पनि छन् । उनीहरु खुलेर एआरटी सेवा लिन्छन् । एकल तर बालबच्चाको जिम्मेवारीले च्यापेका यस्ता महिलालाई पोषणलगायत अन्य सहयोग भने आवश्यक रहेको सुदूरपश्चिम प्रदेशसभा सदस्य उमादेवी वादी बताउनुहुन्छ । “ती समुदायमा केही अविववाहित आमाहरु पनि छन्् । उनीहरु एक्लैले आमाबाबु दुबैको जिम्मेवारी निर्वाह गर्दा निकै दुःख भोगेका छन्, यस्ता महिलालाई आयआर्जनमा सघाउनु पर्छ,” प्रदेशसभा सदस्य उमावादी भन्छिन्, “अविवाहित आमाबाट जन्मेका बच्चाको नागरिकतामा बाबु पहिचान नभएको उल्लेख गर्दा सन्तानमा नकारात्मक प्रभाव पर्ने गरेको छ ।” सरकारले वादी समुदायलाई धेरै अधिकार दिएको छ तर अझै विभेद् कायमै छ, उहाँको भनाइ छ ।

टीकापुर नगरपालिकाका फ्रवक्ता तथा ८ नं वडाका अध्यक्ष दीर्घबहादुर ठकुल्लाले हरेक कार्यत्रम तथा विकास गर्दा वादी बस्तीलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । “उनीहरुको बस्तीमा सडक कालोपत्र गरिएको छ । सडक, पानी, ढलजस्ता पूर्वाधार विकास भएका छन् । त्योसँगै वादी महिलाको जीविकोपार्जनमा सघाउने खालका कार्यक्रम पनि ल्याएका छौँ,” प्रवक्ता ठकुल्लाले भन्नुभयो, “वादी बालबालिकालाई निःशुल्क शिक्षाका लागि सहयोग गरेका छौँ ।”
––– रासस

प्रतिक्रिया दिनुहोस्