Logo

राम्रा विद्यालयबाट सिक्न खोटाङका २४ हेडमास्टर काठमाडौंमा



Spread the love

principle

यति बेला खोटाङका २४ प्रधानाध्यापक र २२ स्रोतव्यक्ति काठमाडौँका राम्रा विद्यालयको अभ्यास हेर्न व्यस्त छन् । सार्वजनिक विद्यालयप्रतिको विश्वास कमजोर भएपछि राम्रा अभ्यासको अनुसरण गर्दै सुधार गर्ने उद्देश्य बोकेर उनीहरू काठमाडौँ आएका हुन् भन्ने खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

खोटाङका जिशिअ ज्ञानमणि नेपालको नेतृत्वमा प्रधानाध्यापक, स्रोतव्यक्ति, पेसागत सङ्गठन र सामुदायिक सिकाइ केन्द्रका प्रतिनिधि काठमाडौँ आएर ठुला विद्यालयका अभ्यासको अवलोकन गरिरहेका छन् । टोलीले काठमाडौँ बाफलको ज्ञानोदय मावि, भक्तपुरको बागेश्वरी माविको अवलोकन गरिसकेको छ ।

उनीहरूले एसओएस, रातो बंगलालगायतका निजी स्कुलमा हुने शिक्षण अभ्यासबारे पनि जानकारी लिएका छन् । ‘समग्र शिक्षालाई परिवर्तन गर्न सकिन्छ भनेर राम्रा अभ्यासको अध्ययनमा हिँडेका हौँ,’ जिशिअ नेपालले भने । टोलीले उपत्यकाबाहिरका उत्कृष्ट विद्यालयको समेत अवलोकन गर्दै छ । तनहुँको सत्यवती, कास्कीको अमरसिंह मावि, रुपन्देहीको कालीका माविमा हुने सिकाइ अभ्याससमेत हेर्ने उनीहरूको कार्यक्रम छ ।

सामुदायिक विद्यालय सुधार्ने ऊर्जा मिल्यो : शिक्षक
राजधानीका ठुला र राम्रा विद्यालयको अभ्यास हेरेका शिक्षकहरूले सामुदायिक विद्यालय सुधार्ने ऊर्जा मिलेको बताए । ‘आर्थिक व्यवस्थापन, भौतिक पूर्वाधार, कक्षाकोठा व्यवस्थापन कसरी गर्ने भन्ने सिक्यौँ,’ सरस्वती मावि दिक्तेलका शिक्षक नूर काजीले भने, ‘राम्रा अभ्यासले धेरै ऊर्जा मिलेको छ, अब आफूले सिकेको र हेरेका विषय आफ्नो ठाउँमा पुगेर व्यावहारिक रूपमा उतारेर हेर्ने परीक्षा बाँकी छ ।’ शैक्षिक सामग्रीको प्रयोग गरेर सिकाइ उपलब्धि बढाउन महत्त्वपूर्ण हुने उनले बताए । पहाडमा निःशुल्क पाइने वस्तुलाई शैक्षिक सामग्री बनाउन सकिने हौसला बढेको उनको भनाइ छ । उनले अब सामुदायिक विद्यालयप्रति सबैको मन जित्ने प्रयास गर्ने बताए ।

सिमपानी स्रोतकेन्द्रका स्रोतव्यक्ति कोमलकृष्ण बुढाथोकीले व्यवस्थापन राम्रो गर्ने र स्थानीय सामग्री प्रयोग गरेर सिकाइ उपलब्धि बढाउन सकिन्छ भन्ने हिम्मत बढेको बताए । सामग्री निर्माण र प्रविधिको प्रयोगमा तालिम पाएमा धेरै काम गर्न सकिने उनको भनाइ छ । जिल्लामा कम्प्युटर विषय नजान्ने शिक्षकले पढाउने पर्ने अवस्था भएकाले प्रविधिसँग सम्बन्धित सीप दिएमा सिकाइ उपलब्धिमा धेरै सुधार गर्न सकिने बताए । ‘प्रोजेक्ट बेसनमा पढाउने सीप धेरैलाई खाँचो छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्