Logo

एकै दिन ५०० लाई नागरिकता



Spread the love

३ जेठ, डोटी – बडीकेदार गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा एकै दिन ५०० ले नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालय डोटीको आयोजना तथा गाउँपालिकाको समन्वय र सहयोगमा सञ्चालन भएको उक्त शिविरमा यति ठूलो सङ्ख्यामा नागरिकता वितरण गरिएको हो ।

बुधबारबाट शुरु गरिएको उक्त शिविर तीन दिनसम्म सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले जानकारी दिए । त्यस्तै उक्त शिविरबाट ५०० ले मतदाता परिचयपत्रसमेत लिएका छन् । जिल्ला सदरमुकाम पुगेर नागरिकता लिन नसकेका मानिसलाई गाउँमै गएर नागरिकता वितरण, मतदाता परिचयपत्रलगायतका सेवा प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको डोटीका सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले बताए ।

उनले भने, “जनताले पाउनुपर्ने सार्वजनिक सेवा जनताको घरदैलोमै पुगेर प्रदान गर्ने अभियान र सुशासन ऐनको मर्मअनुसार घुम्ती शिविर सञ्चालन गरी सदरमुकाम आउन नसक्नेलाई नागरिकता वितरण गरेका छौँ ।” डोटीको सन्दर्भमा अत्यावश्यक अवस्थामा नागरिकता बनाउनेबाहेक तत्कालै आवश्यक नभएमा नागरिकता नबनाउनेको सङ्ख्या बढी भएको पाइएको र जिल्लामा सञ्चालन गरेका घुम्ती शिविरमा बढी सङ्ख्यामा नागरिकता वितरण भएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

त्यस्तै उक्त शिविरमा ९६ वर्षीया भागरथीदेवी थापाले पनि नागरिकता पाएकी छन् । नागरिकता पाएपछि भागरथीदेवी निकै खुशी भएकी छन् । जिल्ला सदरमुकाम टाढा भएको र नागरिकता लिन नसकेकाले घरैमा शिविर सञ्चालन हुँदा नगरिकता लिन आएको उनले बताइन् । उनले भनिन्, “जिल्ला प्रशासन टाढा छ, नागरिकता नहुँदा भत्तासमेत पाएकी थिइनँ, गाउँमै नागरिकता पाएँ अब भत्ता पनि पाउने छु ।” नागरिकता नभएका कारण उनले हालसम्म मतदानसमेत गर्न पाएकी थिइनन्।

यसअघि डोटीको बोगटानफुड्सिल गाउँपालिका, सायल गाउँपालिका, जोरायल गाउँपालिका, पूर्वीचौकी गाउँपालिकामा पनि शिविर सञ्चालन भइसकेको र बाँकी अन्य स्थानीय तहसँग पनि समन्वय र सहकार्य गरेर शिविर सञ्चालन गरी सेवा प्रदान गर्न जिल्ला प्रशासन कार्यालय तयार रहेको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । उनले भने, “हामीले केही स्थानीय तहमा शिविर सञ्चालन गरी नागरिकतालगायतका सेवा प्रदान गरिसकेका छौँ, बाँकी रहेका स्थानीय तहमा क्रमिकरूपमा शिविर सञ्चालन हुनेछन् ।”

प्रतिक्रिया दिनुहोस्